सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । ओपनर अर्जुन कुमालले न्युजिल्यान्डविरुद्ध जारी आइसीसी यू–१९ विश्वकपको पहिलो खेलमा अर्धशतक प्रहार गरेका छन् । अर्जुनले ७३ बलमा ६ चौकाको मदतले आफ्नो अर्धशतक पूरा गरेका हुन् । अर्को एण्डमा लगातार विकेट गएपनि अर्जुनले आफ्नो इनिङलाई लगातार अघि बढाइरहेका छन् । न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २९ ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन जोडेर खेलिरहेको छ । अर्जुनले ८० बलमा ७ चौकासहित ५९ रन जोडेका छन् । दीपेश कँडेल क्रिजमा खाता खोल्न बाँकी छ ।
नेपालले ओपनर दीपक बोहोरालाई तेस्रो बलमै गुमाएको थियो । उनी खाता नखोली मेसन क्लार्कको बलमा क्याच आउट भएका थिए । आकाश त्रिपाठी छैटौं ओभरमा म्याट रोको बलमा क्याच आउट भए । उनले १४ बलमा २ रन जोडे । १६ औं ओभरको अन्तिम बलमा कप्तान देव खनाल आउट भए । अर्जुन र देवबीच ५९ रनको साझेदारी बनेको अवस्थामा देव ३६ रन जोड्दै क्याच आउट भएका थिए । उनले ३४ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को ओभरमा उत्तम मगर खाता नखोली कट बिहाइन्ड भए । गुलशन झा २ रन जोड्दै लामो सट प्रहार गर्ने धुनमा क्याच आउट भए । दिपक बोहोरा पनि १५ रन जोड्दै विकेटकिपरकै हातबाट समातिए । न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन जोडेको थियो । स्नेहिथ रेड्डीले १ सय ४७ रनको इनिङ खेलेपछि नेपाल दबाबमा परेको हो ।