अयोध्यामा आज सोमबारका लागि सुरक्षा कडा (तस्विर सहित)

आइतबार, माघ ७, २०८०

काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा समारोहका लागि सुरक्षा व्यवस्था मजबुत गरिएको छ ।  वर्षौको विवादपछि अदालती आदेशमा अयोध्यामा राम मन्दिर निर्माण गरिएको छ । त्यहाँ सोमबार राम मूर्तिको प्राणप्रतिष्ठा गरिँदैछ । समारोहस्थल आसपास १० हजार सीसीटीभी क्यामेराले मानिसको आवतजावत निगरानी गरिरहेको छ भने उल्लेख्य संख्यामा सादा पोसाकमा प्रहरी पनि तैनाथ गरिएका छन् । 
अयोध्याको धरमपथ र रामपथबाट भक्तजनको ठूलो भीड हुने गरेको हनुमानगढी क्षेत्र र अशरफी भवन रोडसम्म सडकमा प्रहरी गस्ती गरिरहेको देख्न सकिन्छ ।


उत्तर प्रदेश एन्टी टेररिज्म स्क्वाड (एटीएस) टोलीले पनि अयोध्यामा गस्ती गरेको थियो । सहरका प्रायः हरेक ठूला चोकमा काँडेतार लगाइएको छ । यसको कारण भनेको प्रहरीले विशेषगरि भीआईपीहरूको आवतजावतमा ट्राफिक नियन्त्रण गर्न प्रयोग गर्दछ । उत्तर प्रदेश प्रहरी महानिर्देशक (कानून र व्यवस्था) प्रशान्त कुमारले २२ जनवरीमा हुने प्राण प्रतिष्ठा समारोह एक ऐतिहासिक हुने बताए । यसका लागि उत्तर प्रदेश प्रहरीले सम्पूर्ण क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ भने प्रत्येक सडकमा सुरक्षाको प्रबन्ध मिलाइएको पनि उनले जानकारी दिए ।  कुमारले भने, ‘अयोध्या जिल्लामा १० हजार सीसीटीभी क्यामेराहरू जडान गरिएको छ । यीमध्ये केही सीसीटीभी क्यामेराहरूमा एआई–आधारित प्रविधि प्रयोग गरिरहेका छौं, ताकि हामी यात्रुहरूलाई नजिकबाट निगरानी राख्न सकौं ।’ कार्यक्रमस्थलमा सादा पोसाकमा बहुभाषिक दक्ष प्रहरी तैनाथ गरिने उनले बताए ।


एनडीआरएफ र एसडीआरएफ टोलीको सहयोगमा सरयू नदीको किनारमा सुरक्षा पनि बढाइएको छ । ‘हामीले अन्य निकायसँग समन्वय गरिरहेका छौं । अन्तर्राष्ट्रिय र अन्तरराज्यीय सीमामा अनुसन्धान भइरहेको छ । भीड नियन्त्रण र बढी भीड हटाउन प्रहरीले ड्रोनको प्रयोग गर्नेछ,’ उनले भने । यसअघि अयोध्यामा ड्रोन तैनाथ गर्ने बारे विवरण दिँदै सुरक्षा मुख्यालयका प्रहरी उपरीक्षक (एसपी) गौरव बांसवालले त्यहाँ एन्टी–ड्रोन प्रणाली जडान भइरहेको बताएका थिए । उनले भने ‘यसको मुख्य उद्देश्य कुनै पनि अनधिकृत ड्रोननजिकै उडेको पत्ता लगाउनु हो, जसले तुरुन्तै यसको टेक अफ र गन्तव्य बिन्दु बताउन सक्छ ।’

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार