धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने

शनिबार, माघ ६, २०८०
Global Ime Bank

धनगढी । कैलालीको धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने भएको छ । धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । 
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 
दुबै पक्षबीच उपमहानगरपालिकाका दुई नमूना स्कुलहरुमा ग्रासरुट लेभल क्रिकेट कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको बताइएको छ ।  
नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत छनौटमा परेका धनगढी वडानम्बर १२ स्थित श्री सिद्धनाथ मावि, जुगेडा र धनगढी वडानम्बर १८ स्थित श्री चन्द्रोदय मावि, फुलबारीमा उक्त कार्यक्रम लागु हुने प्रमुख हमालले जानकारी दिए ।  नगरप्रमुख हमालले नमूना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्नका लागि यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 
उनले भने, ‘नयाँ प्रतिभालाई उत्पादन गर्ने उदेश्यका साथ हामीले विगतदेखि नै धनगढीलाई क्रिकेटको शहरका रुपमा स्थापित गर्न अग्रसर भईरहनुभएका सुवाश शाहीको टिमसँग क्रिकेट विकास कार्यक्रमको सम्झौता गरेका छौं । यो नमूना स्कुलमा क्रिकेटको नर्सरी तयार गर्ने समझदारी हो । क्रमिक रुपमा अन्य विद्यालयहरुमा यो कार्यक्रम लागु गर्दै जानेछौं । यस कार्यक्रमले धनगढीलाई क्रिकेटको शहरका रुपमा स्थापित गर्ने अभियानलाई मुर्तरुप दिने विश्वास लिएको छु ।’  गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको बताए ।  शाहीले भने, ‘ग्रासरुट लेभल क्रिकेट विकास कार्यक्रमको प्रस्तावलाई स्वीकार्दै साझेदारीको हात अगाडि बढाउने धनगढी उपमहानगरपालिका र नगरप्रमुख गोपाल हमाल ज्यूलाई विशेष धन्यवाद दिन चाहान्छु । नेपाली क्रिकेटको विकासका लागि स्थानीय तहसँगको सहकार्यमा हुन लागेको यो कार्यक्रम मोडेलका रुपमा स्थापित भएको छ । भविष्यमा नेपालबाट अन्तर्राष्ट्रिय खेल्ने खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको यस कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँन चाहान्छौं । ’  धनगढीलाई क्रिकेटको शहरका रुपमा स्थापित गर्न गो ड्रिमर्सको टिमले विगतदेखि नै धनगढी क्रिकेट लिग हुँदै धनगढी प्रिमियर लिगसम्मका व्यवसायिक क्रिकेट प्रतियोगिताहरु गर्दै आएको छ । 

 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार