न्यूरोडको एयरटेल सहकारीमा ठगी धन्दा

किर्ते र ठगी धन्दामा संलग्न गोयललाई बागमतीका सहकारी मन्त्रीको साथ
शनिबार, पुस २१, २०८०

काठमाडौं । देशकै प्रमुख व्यापारिक केन्द्र न्यूरोडको धर्मपथस्थित ‘एयरटेल वचत तथा ऋण सहकारी संस्था लिमिटेड’का पीडित बचतकर्ता सदस्यहरूको रकम छ महिनाभित्र फिर्ता गर्न जिल्ला र उच्च अदालतले गरेको आदेशपछि पनि उक्त सहकारीका पीडित बचतकर्ताले न्याय पाउनु त परैको कुरा फेरि ठगीने भयले चिन्तामा परेका छन् । पीडित उनीहरुले आफूहरु माथि पुन ठगी हुने प्रपञ्च चलिरहेकाले त्यसकाविरुद्ध कानुनी कारवाहीमा लाग्नु परेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) र वागमति प्रदेश सहकारी मन्त्रालयमा समेत उजुरी गर्न पुगेका छन् ।
विगतमा सहकारीभित्र मनोपलि गरेर सर्वसाधारण शेयर बचतकर्ताले जम्मा गरेको करोडौं रकम हिनामिना गरेको आरोपमा २ वर्ष कैद सजाय पूरा गरी ठगीएका पीडितको रकम छ महिनाभित्र फिर्ता गर्ने जिल्ला र उच्च अदालतको आदेशानुसार कैद मुक्त भएका सहकारीका तत्कालिन प्रवन्ध सञ्चालक अशोक जैन (गोयल)ले स्वयम् आफूलाई समस्याग्रस्त सोही सहकारीको तदर्थ समितिको अध्यक्ष र आफूखुसी सदस्यहरु मनोनयन गरी उक्त सहकारीको सम्पत्तिमा फेरि डुबुल्की मार्ने प्रपञ्च गरेको खुल्न आएको छ ।
छ महिनाभित्र सहकारीका ऋणीहरुको ऋण असुली र फिर्ता गर्नु पर्ने बचतकर्ताको रकम फिर्ता गर्न आदेश दिएको लामो समय बितिसक्दा पनि उक्त आदेशको पालना हुनु त परैको कुरा फेरि ठगी गर्ने नियत पालिएको आशंकामा पीडित बचतकर्ताहरु प्रहरी र सहकारी विभागमा तथाकतिथ अध्यक्ष अशोक जैन गोयलमाथि कारवाहीको माग गर्दै उजुरी गरेका हुन् । पीडित बचतकर्ताका अनुसार उक्त तदर्थ समितिले आउँदो २८ गते शनिबार साधारण सभा डाकेको छ । जवकि सजाय भोगेर पीडितको रकम फिर्ता गर्ने न्यायलयको आदेशानूसार कैद मुक्त भएका व्यक्ति पुनः सोही सहकारीको सञ्चालक समितिमा बस्न कानूनले नै रोकेको अवस्था छ । यद्यपि, तत्कालिन प्रबन्ध सञ्चालक गोयलले आफूलाई नै तदर्थ समितिको अध्यक्ष घोषित गर्दै विगतमा कैद बस्दा कारागारमा चिनजान भएका व्यक्तिलाई सोही तदर्थ समितिमा राखेको आरोप पीडित पक्षको छ । विगतका सहकारीका सदस्यलाई तदर्थ समितिमा नराखेर अहिले बनाइएको तदर्थ समितिमा नयाँ अनुहार मात्र देखिनुलाई पुनः ठगी गर्ने प्रपञ्चका रुपमा सबैले बुझेका छन् ।
पीडित पक्षले यसअघि रोक्का भएको सम्पत्ति फुकुवा गरेर ठगी गर्ने नियतका साथ अशोक जैनले कानूनको पाटो उल्लंघन गर्दै आफैँ तदर्थ समितिको अध्यक्ष बनेकोमा आपत्ति प्रकट गरेका छन् । जुन सहकारीमा ठगी गरेको आरोपमा २ वर्ष कैद सजायँ भोगेर हरहिसाव मिलान गर्न न्यायालयबाट भएको आदेशानूसार कैद मुक्त भएका अशोक गोयल स्वयम् तदर्थ समितिमा बस्न नमिल्ने अवस्थालाई बागमति प्रदेशका कृषी तथा सहकारी मन्त्रीले नै मोटो रकम लिएर सघाई रहेको पीडित पक्षको दावी छ । बागमती प्रदेशका सहकारी मन्त्रीले अशोक गोयलको योजना र डीजाईन अनुसार नै सघाइरहेको र पीडितले सहकारीमा गरेको उजुरी थन्काइदिन कर्मचारीलाई आदेश दिएको बताइन्छ । पीडितले यसै विषयलाई लिएर अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी गर्ने तयारी गरेका छन् ।

airtel-1704543773.jpg
यसै विषयलाई लिएर बागमती प्रदेश सहकारी कार्यालयमा सम्पर्क गर्दा त्यहाँका रजिष्ट्रारले आफ्नो कार्यालयलाई साधारण सभा हुन गइरहेको जानकारी मात्र दिएको दावी गरे । तर, त्यसलाई आफ्नो कार्यालयले अनुमोदन नगरेको उनको भनाइ छ । पीडितले रजिष्ट्रार समक्ष विगतमा सहकारीभित्र बदमासी गरेको अभियोग लागेर कैद समेत भुक्तान गरिसकेको व्यक्ति कसरी सोही सहकारीको तदर्थ समितिको अध्यक्ष हुन सक्छ भन्ने प्रश्नको जवाफ दिन नसकेर मौनता देखाएका थिए ।
झण्डै ५० करोड बराबरको रकम हिनामिना भएको अनुमान गरिएको उक्त सहकारीमा ६६ जनाको मात्रै २५ करोड भन्दा बढी ठगी भएको छ । हजारौं बचतकर्ता सदस्य रहेको उक्त एयरटेल सहकारीका ६६ सदस्य मात्र त्यतीबेला आफ्नो फसेको रकम फिर्ता पाउन भन्दै प्रहरीमा ठगी निवेदन दर्ता गराएका थिए ।

airtail-1-1704543834.jpg
प्रबन्ध सञ्चालक गोयलले आफ्नै पत्नी सुमन केडीया (गोयल)लाई सहकारीको अध्यक्ष तथा छोरीलाई लेखापाल बनाएर सहकारीमा जम्मा भएको निक्षेपलाई आफूखुसी लगानी गर्दै आएका थिए । संस्थाका अध्यक्ष र प्रवन्ध सञ्चालकसहित उनीहरु निकटस्थ रहेका सहकारीमै आवद्ध सीमा बंशल (अग्रवाल), सारीका जैन, सुरेन्द्र कुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, रविन्द्र सिंह र दिपेन्द्र शर्मामाथि सहकारी पीडितले आफूहरु ठगीएको भन्दै किटानी जाहेरी दिएका उनीहरु मध्ये कोही पक्राउ परेर कैद सजाय भुक्तान गरी निस्केका छन् भने कोही अझैसम्म पनि फरार नै छन् ।

airtel-aadesh-1-1704543773.jpg

airtel-aadesh-2-1704543792.jpg
प्रदेश नं. ३ को प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट २०७५ असोज १९ न्यूरोडस्थित एयरटेल बचत तथा ऋण सहकारी संस्थामाथि भएको आर्थिक अनियमितता प्रकरण छानविन गरी कारवाही गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंलाई पत्राचार गरेको थियो ।
त्यसबेला अशोक गोयललगायतलाई जोगाउन सुशिल नहाटाले निकै कसरत गरेका थिए भने अहिले बागमती प्रदेशका सहकारी मन्त्री खुलेआम अशोक गोयलको पक्षमा वकालत गर्दै हिँडेका छन् ।
स्मरणीय छ, सहकारीका तत्कालिन प्रवन्ध सञ्चालक अशोक जैन (गोयल) भारतीय नागरिक भएता पनि गलत विवरण देखाएर नेपाली नागरिकता लिएको प्रकरणमा पनि तानिएका छन् ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार