करण र सागरको सानदार प्रदर्शनमा पुलिस च्याम्पियन

शनिबार, पुस १४, २०८०

काठमाडौं । करण केसीको विष्फोटक ब्याटिङ र सागर ढकालले घातक बलिङ गर्दा नेपाल पुलिस क्लबले प्रो क्लब च्याम्पियनसिपको फाइनलमा पर्सा क्लब–११ लाई १ सय रनले हराउँदै उपाधि जितेको छ ।
जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको पर्सा ११ ओभरमा ४५ रनमा अल आउट भयो । पर्साका अनिल शाहले १३, पवन सरार्फ ७ र हासिम अन्सारीले ९ रन बनाए ।
पुलिसका सागर ढकालले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । ललित राजवंशीले २ ओभरमा ५ रन खर्चेर २ विकेट लिए । राशिद खानले १ ओभरमा ४ रन खर्चेर २ विकेट लिए । शेर मल्ल र करण केसीले १–१ विकेट लिए ।
त्यसअघि नारायणी क्रिकेट ग्राउन्ड बिरगंजमा टस जितेर पहिला ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । पुलिसका करण केसीले १७ बलमा ५ छक्कासहित सर्वाधिक ४० रनको विष्फोटक इनिङ खेले । अन्तिम ओभरमा करणले पवन सरार्फलाई चार छक्का हान्दै कुल २७ रन बनाएका थिए ।
दीलिप नाथ १७, सुनिल धमला २, अमित श्रेष्ठ ७, शंखर राना १९, अर्जुन साउद २६ र आरिफ शेख १६ रनमा आउट भए । पर्साका पवन सरार्फ र सैफुल्लाह अन्सारीले समान दुई विकेट लिए । रुपेश सिंह र रन्जित कुमारले १–१ विकेट लिए ।
 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  २०:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार