संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति खोज्दै प्रधानमन्त्री दाहाल

सोमबार, पुस ९, २०८०

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन बालुवाटारमा शीर्ष तीन दलको नेताहरूबीच बैठक बसेको छ । सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालले डाकेको बैठकमा सत्ता गठबन्धन दलका नेता तथा विपक्षी दलका नेता सहभागी भएका छन् । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री दाहालले छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
बैठकमा कांग्रेस उपसभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री धनराज गुरुङ, माओवादीका उपमहासचिव वर्षमान पुन, एमालेका सचेतक महेश बर्तौलालगायत नेताहरू सहभागी छन् ।


दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पु¥याउन आइतबार पनि शीर्ष दलका नेतासँग बालुवाटारमै छलफल गरेका थिए । तीन दलका शीर्ष नेताहरूबीच संक्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन प्रधानमन्त्री दाहालले पुनः बैठक राखेका हुन् । 
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा विचाराधीन छ । उच्च राजनीतिक तहमा सहमति जुटाएर सरकारले हिउँदे अधिवेशनबाट विधेयकलाई टुंग्याउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार