फास्टट्रयाक हो की चिप्लेकिरा वा कछुवा ट्रयाक ? : रास्वपा अध्यक्ष लामिछाने 

बुधबार, पुस ४, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति  रवि लामिछाने काठमाडौं तराई जोड्न निर्माणधीन फास्टट्रयाकलाई चिप्ले किरा, कछुवा ट्रयाक भन्नुपर्ने अवस्था सृजना भएको टिप्पणी गरेका छन् ।  बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था समितिको बैठकमा उनले, ७४ सालमा सेनाले जिम्मा लिएको फास्ट ट्रयाकको भौतिक र वित्तिय प्रगति एक चौथाइ मात्र भएको भन्दै फास्ट ट्रयाकलाई चिप्लेकिरा , कछुवा ट्रयाक भन्नुपर्ने अवस्था सृजना भएको टिप्पणी गरे । 
‘७४ सालमा जिम्मा लिएको हो फास्ट ट्रयाक सडकको यो अहिलेको गति यो अवस्थालाई हेर्दा र प्रस्तुत तथ्याङ्क हेर्दा भौतिक र वित्तिय प्रगति हेर्दा लगभग एक चौथाइमात्र प्रगति भएको रिपोर्टलाई मान्ने हो भने फास्ट ट्रयाक होइन यो चिप्ले किरा, कछुवाट्रयाक भन्नुपर्ने अवस्था सृजना भएको छ’ उनले भने । 
सभापति लामिछानेले राज्य सञ्चालन र प्राविधिक पक्षसँग जोडिएका विषयमा समेत सेनाले हात हाल्नु उचित नभएकोे तर्क गरे । 
उनले भने,‘राज्य सञ्चालन सुशासन र विशेष गरी प्राविधिक पक्षसँग जोडिएका विषयहरु केही ठेक्कापट्टा लेनदेनका सन्दर्भमा समेत नेपाली सेना मैदानमा उत्रिने विषय ठिक हो कि होइन, भन्ने कुरा बहसमा हुनुपर्छ । ’
उनले सेनाको प्रतिष्ठासँगै जोडिएको राष्ट्रिय गौरवको आयोजनामा ६  वर्ष नाघिसक्दा भएको प्रगतिलाई हेर्दा सन्तुष्ट हुने अवस्था नदेखिएको उनको तर्क छ । 
‘महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन हेर्दा पनि आयोजनासँग प्रत्यक्ष सम्बन्ध नभएका गाडी फर्निचर आदीमा झण्डै २ अर्ब ७६ करोड अर्थात कुल खर्चको ८ प्रतिशतभन्दा बढि खर्च भएको देखिन्छ । परामर्श सेवामा १ अर्ब ५३ करोड कुल खर्चको झण्डै साढे ४ प्रतिशतखर्च भएको देखियो’ उनले भने,‘कुल ११ प्याकेज मध्ये ४ प्याकेजको त खरिद प्रक्रियानै सुरु भएको छैन भन्ने कुरा देखिएको छ । यो सेनाको प्रतिष्ठासँगै जोडिएको राष्ट्रिय गौरवको आयोजना ६  वर्ष नाघिसक्दा भएको प्रगतिलाई कसरी हेर्ने ?।’
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार