गोरखा अस्पतालमा अक्सिजन प्लान्ट जडान

सोमबार, जेठ ३, २०७८
मयुर प्लाई

गोरखा । गोरखा अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम आज सम्पन भएको छ । करीब रु ४९ लाख को लागतमा अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालले जनाएको छ । भूकम्पले क्षति पु¥याएको अस्पतालको नयाँ भवन निर्माणको काम भइरहेकाले तत्कालका लागि कोरोना सङ्क्रमित बिरामीको उपचार गर्न अक्सिजनको अभाव हुन नदिन अस्थायी पाइप लाइन जडान गरी मेसिन सञ्चालन गर्ने गरी प्लान्ट जडान गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।  ‘आइसियु शय्या सञ्चालनका लागि भवन नभए पनि निर्माणाधीन भवनको बन्न लागेको क्यान्टिनमा एचडियु शय्या जडानको काम भइरहेको छ’, उनले भने, ‘त्यहाँसम्मका लागि अस्थायी पाइपमार्फत भएपनि बिरामीलाई अक्सिजन दिन सक्ने गरी प्लान्ट सञ्चालन गर्न मेसिन जडान सम्पन्न गरिएको छ ।’ अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट बिरामी भएको शय्यामा सिधै अक्सिजन दिन सकिने उनले जानकारी दिए । 
सूचना अधिकारी ढकालले मेसिन जडानको काम सकिएको भएपनि शय्यासम्म अस्थायी पाइप लाइन निर्माणका लागि बढीमा दुई दिन अझै लाग्ने बताए । ‘ठेकेदार कम्पनीले नै प्राविधिक झिकाएर अस्थायी पाइप लाइन निर्माण गर्न लागेको छ’, उनले भने, ‘आगामी मङ्गलबारसम्ममा पाइप लाइन जडानको काम पनि सकिन्छ भन्ने छ ।’ अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट प्रतिमिनेट ८० लिटर ग्यास उत्पादन गर्न सक्ने प्राविधिकले जानकारी गराएको सूचना अधिकारी ढकालले बताए । 
यो मेसिनबाट सिधै पाइपलाइन जडान गरी बिरामी भएको स्थानमा पोर्टहरू राखेर बिरामीलाई अक्सिजन दिन सकिने बताइएको छ । जडान गरिएको मेसिनले एकै पटकमा बढीमा १० बिरामीलाई अक्सिजन दिन सकिने छ । अक्सिजन प्लान्ट जडान भएपनि अस्पताललाई धेरै सजिलो हुने ढकालले विश्वास व्यक्त गरे । ‘बिरामीलाई कति अक्सिजन आवश्यक पर्छ भन्नेमा भर पर्छ, उनले भने, ‘थोरै अक्सिजन मात्र आवश्यक पर्ने अवस्थामा अझ धेरैलाई पनि एकैपटक दिन सकिने हुन्छ ।’
गण्डकी प्रदेश सरकारले ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको भएपनि मन्त्रालयको तोकेको मापदण्डभित्र निर्माण गर्ने गरी ठेकेदार कम्पनीले ४९ लाखमा बोलपत्र पारेको थियो । भूकम्पले क्षति पु¥याएको अस्पताल भवन निर्माण समयमा सम्पन्न नहँुदा अक्सिजन प्लान्ट पनि जडानको काम पनि ढिलाइ भएको हो । अझै पनि भवन निर्माण सम्पन्न नभएकाले तत्काल कोरोनाका बिरामीहरूको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन निर्माण गरिएको अस्थायी आइसोलन कक्षमा अस्थायी रूपमै पाइप लाइन जडान गरेर प्लान्ट सञ्चालनमा ल्याउन लागिएको हो । 
‘स्थायी संरचना निर्माण भएपछि स्थायी रूपमा नै जडान गरी सञ्चालन गर्ने भन्ने थियो’, उनले भने, ‘कोभिडको महामारीका बेला जिल्ला अस्पतालमा अक्सिजनको अभाव हुन सक्ने भएकाले अस्थायी रूपमा मात्र भने पनि सञ्चालन गर्नुपर्छ भनेर मेसिन जडान गरिएको हो ।’ 
सूचना अधिकारी ढकालका अनुसार गोरखा अस्पतालमा १२ वटा नयाँ एचडियू शय्या जडान गरिएको छ । ‘तत्कालका लागि अस्पतालभित्र १८ वटा शय्या राख्न सकिने अबस्था छ’, उनले भने, ‘बाँकी काम पनि केही दिनभित्रै सम्पन्न हुन्छ ।’ गोरखा अस्पतालमा केही दिनअघि शय्या अभावमा कोभिडका बिरामीलाई बेञ्चमा राखेर उपचार गर्नु परेको समाचार सार्वजनिक भएपछि एचडियु शय्या जडानको काम थालिएको हो । 

ध्याल्चोकमा चिकित्सकसहितको कोभिड अस्पताल 
गण्डकी गाउँपालिकाले ध्याल्चोकमा चिकित्सकसहितको १० शय्या क्षमताको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली राखेर उपचारको व्यवस्था मिलाएको गाउँपालिकाले जनाएको छ । ध्याल्चोक स्वास्थ्य चौकीमा आइसोलेसनसहितको अस्पताल सञ्चालन गरी बिरामीको उपचार समेत शुरु गरेको गाउँपालिका अध्यक्ष होमबहादुर रानाले जानकारी दिए । 
कोभिड अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयले पठाएको रु पाँच लाखमा गाउँपालिकाले अपुग रकम थप गरेर अस्पताल सञ्चालनमा ल्याएको अध्यक्ष रानाको भनाइ छ । ‘गाउँपालिकाको मकैसिंहमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच शय्याको आइसोलेसन छ’, उनले भने, ‘त्यहाँबाट थप उपचार गर्नु पर्ने कोभिडका बिरामीलाई ध्याल्चोकस्थित कोभिड अस्पतालमा ल्याउने व्यवस्था मिलाएका छौँ ।’ ध्याल्चोक कोभिड अस्पतालमा उपचार सम्भव नभएका बिरामीहरूलाई थप उपचारका लागि अन्य अस्पतालहरूमा पठाउन समेत सजिलो भएको उनले बताए । ‘पृथ्वी राजमार्गसँग जोडिएकाले बिरामीलाई आकस्मिक रूपमा अन्यत्र पठाउनै पर्ने अवस्था आएपनि सजिलो भएको छ’, अध्यक्ष रानाले भने, ‘पालिका भित्रै कोभिड अस्पताल सञ्चालन गर्दा कोभिडका बिरामीले सजिलै उपचार पाएका छन् ।’ दोस्रो चरणको कोरोना लहर शुरु भएपछि कोभिड अस्पतालमा कोरोना सङ्क्रमित दुई बिरामी भर्ना भएकामा एक जना निको भएर घर फर्किसकेको ध्याल्चोक स्वास्थ्य चौकीका इन्चार्ज विमल रेग्मीले जानकारी दिनुभयो । चिकित्सक, स्टार्फ नर्स, स्वास्थ्य सहायकसहितको टोली कोभिड अस्पतालमा खटिएको उनले बताए 
 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  ०४:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार