विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाएका छौं : परराष्ट्रमन्त्री साउद

शनिबार, मंसिर ३०, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कतार भ्रमणका क्रममा आफूले इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाएको बताएका छन् । 
दोहा २१औं फोरममा सहभागिता जनाएर शनिबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जोशीको रिहाइ, नेपालको विकासमा कतारको सहयोग र नेपालको जलवायुको विषय उठाएको बताए । त्यसमा कतार सरकारबाट निकै सकारात्मक जवाफ प्राप्त भएको पनि उनको भनाइ थियो । 
उनले भने, ‘नेपालको विकासमा कतारको सहयोगलाई निरन्तरता दिन नेपाली नागरिकहरुलाई सुरक्षित रोजगारीका थप अवसरहरु उपलब्ध गराउन, नेपालको जलवायु लगायतका क्षेत्रमा कतारको लगानी अभिवृद्धि गर्न, हमास समूहको अपहरणमा परि बन्धक बनाइएका विपिन जोशीको कुशल रिहाइमा कतार सरकारको थप सहयोग र समन्वय लगायतका विषयमा छलफल गरेको छु । यी विषयहरुमा कतार सरकारबाट निकै सकारात्मक जवाफ प्राप्त भएको छ ।’ 


यस्तै, उनले दोहा पुगेकै दिन नेपाली दूतावासको स्थलगत अवलोकन गरि सहज तरिकाले सेवा प्रदान गर्न निर्देशन दिएको जानकारी पनि गराए । 
उनले भने, ‘दोहा पुगेको दिन त्यहाँ नेपाली दूतावासको अवलोकन गरेर दूतावासको कार्यप्रगति एवं समस्या र चुनौतीहरुका बारेमा जानकारी लिएको छु ।  दूतावासको कार्यसम्पादन थप प्रभावकारी बनाएर सेवाग्राहीहरुलाई सहज तरिकाले सेवा प्रदान गर्न निर्देशन दिएको छु । त्यहाँ गएर जलवायु परिवर्तनका कारण नेपालले सामना गर्नुपरेका समस्याहरुको न्यूनीकरणका लागि नेपालले आफ्नो तर्फबाट चालेका कदमहरुका बारेमा जानकारी गराएँ ।’
परराष्ट्रमन्त्री साउद दोहा २१औं सम्मेलनमा सहभागी हुन गत शनिबार कतार एयरलाइन्सको विमानबाट दोहा गएका थिए ।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार