भर्खरै शिलान्यस गरिएका स्थानीय तह अस्पतालको सेवा कस्तो होला ? 

भइरहेकै अधिकांश अस्पतालको अवस्था ‘बेहाल’
शनिबार, मंसिर २७, २०७७

सरकारले हालै ३०० भन्दा बढी स्थानीय तहमा १५ शय्यासम्मका आधारभूत अस्पताल स्थापना शिलान्यास गरेको छ ।  तर स्थानीय तहले विगतदेखि सञ्चालन गरिरहेका अस्पतालहरूले राम्ररी सेवा दिन नसकिरहेकोको तितो यथार्थ नेपालीले भोग्दै आएका छन् । पैसा अभाव, पर्याप्त जनशक्तिको व्यवस्था नहुनु तथा उपकरणको अभाव रहेकाले ती अस्पतालहरूको सेवा गुणस्तरीय हुन नसकिरहेको अधिकारीहरूले बताएका छन् । अभावै अभावले जेलिएका ती अस्पताल व्यवस्थापन गरिरहेका कतिपय स्थानीय तहले प्रदेश सरकारलाई अस्पतालको व्यवस्थापन गरिदिन गुहार्ने गरेका स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् । भइरहेका अस्पताल सञ्चालन गर्न नसकिरहेको अवस्थामा स्थानीय तहले शिलान्यास गरिसकेका सयौँ अस्पतालमध्ये भौतिक संरचना खडा हुन सक्ने तर प्रभावकारी सञ्चालनबारे गम्भीर प्रश्नचिन्ह रहेको जनस्वास्थ्यविद बताउँछन् ।

स्थानीय तहका अधिकांश अस्पतालको हालत खराब
देशभर हाल १९ वटा अस्पताल स्थानीय तहले सञ्चालन गरिरहेका प्रदेश सरकारका स्वास्थ्य सेवा महाशाखाका प्रमुखहरूले जनाएका छन् । स्थानीय तहले सञ्चालन गरेका प्रदेश २ का अस्पताल बाहेक सबै अस्पतालको व्यवस्थापन खराब स्थितिमा रहेको प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय अधिकारीहरूले बताएका छन् । कतिपय स्थानीय तहले अब अस्पताल सञ्चालन गर्न नसक्ने भन्दै प्रदेश सरकारलाई गुहार्न थालेका छन् ।
कर्णाली प्रदेशको दुल्लु अस्पताल सञ्चालन गरिरहेको दुल्लु नगरपालिकाले पनि अब अस्पताल चलाउन नसक्ने भन्दै प्रदेश सरकारलाई गुहारेको त्यहाँको स्वास्थ्य सेवा महाशाखाका प्रमुख बृषबहादुर शाहीले बताए ।  दुल्लु नगरपालिकाकी उपप्रमुख विष्णु थापाले केन्द्र र प्रदेशबाट सहयोग नभए अस्पताल सञ्चालन गर्न नसक्ने बताइन् । उनले भनिन्, ‘हामीले प्रदेश सरकारलाई अस्पताल सञ्चालन गरिदिन अनुरोध गरेका हौँ । स्रोत छैन कसरी सञ्चालन गर्ने ?’
प्रदेश १ का स्थानीय तहले सञ्चालन गरेका दमक अस्पताल, कटारी अस्पताल, रंगेली अस्पताल तथा इटहरी अस्पताल पनि सञ्चालनका लागि प्रदेश सरकारमा अनुरोध आएको त्यहाँको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पैसा तथा जनशक्ति अभाव
स्थानीय तहलाई अस्पताल सञ्चालन गर्नका लागि पर्याप्त पैसा नहुने भएकाले उनीहरूले सञ्चालन गरेका अस्पतालहरूको हालत खराब भएको स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन् । तर प्रदेश २ का चन्द्रनिगाहपुर अस्पताल, बर्दिबास अस्पताल तथा पोखरिया अस्पताल भने अन्य अस्पताल भन्दा केही सहज रूपले सञ्चालन भइरहेको प्रदेश २ स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. नवलकिशोर झाले बताए । पैसा अभावकै कारण झापाको दमक नगरपालिकाले अस्पतालको भौतिक संरचना निर्माण गर्न नसकेकाले उक्त अस्पताल बर्षेनी डुबानमा पर्ने गरेको छ ।
दुल्लु नगरपालिकाकी उपप्रमुख थापाले अस्पताल सञ्चालन गर्न मुख्य स्रोत पैसा नभएकै कारण गाह्रो भएको बताइन् ।
उनले भनिन्, ‘हामीसँग बजेट नै हुँदैन अस्पताल चलाउन ।’
गण्डकी प्रदेशका स्वास्थ्य महाशाखाका प्रमुख डा. रामबहादुर केसीले प्रदेशका स्थानीय तहले सञ्चालन गरिरहेका अस्पतालमा ४८ प्रतिशत जनशक्ति अभाव भएको बताए । उनले भने, ‘भौतिक संरचना निर्माणका लागि त हामी सकेसम्म सहयोग गर्छौं । तर जनशक्ति अभावले प्रदेशका स्थानीय तहले सञ्चालन गरेका अस्पतालले राम्रो सेवा दिन सकिरहेका छैनन् ।’
प्रदेश तथा संघीय सरकारले सञ्चालन गरिरहेका अस्पतालमा पनि जनशक्ति अभाव हुने गरेको छ ।  सरकारले केही दिन अघि देशभर ३ सय भन्दा बढी स्थानीय तहमा १५ शय्यासम्मको आधारभूत अस्पताल निर्माण गर्ने भनेर शिलान्यास गरिसकेको छ । तर जनस्वास्थ्यविद्हरूका अनुसार अस्पतालको भौतिक संरचना निर्माणले मात्र स्वास्थ्य सेवा सुलभ हुँदैन ।
जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले अस्पतालको भवनले मात्र स्वास्थ्य सेवा प्रदान गर्न नसक्ने बताउँछन् । यो बेला अस्पताल शिलान्यास गर्नु भन्दा पनि भएका अस्पताललाई स्तरोन्नति गरेर सुलभ सेवा दिनुपर्ने उनको सुझाव छ । उनले भने, ‘यो बेला महामारी कसरी नियन्त्रण गर्न सकिन्छ भनेर ध्यान दिनुपर्छ । स्थानीय स्तरमा जनशक्ति निर्माण मुख्य कुरा हो । अस्पतालको भवनले स्वास्थ्य सेवा दिँदैन । यो बेला नयाँ भवन बनाउन शिलान्यास गर्नु भन्दा भएका संरचनालाई व्यवस्थित गर्ने हो ।’ उनले प्रदेश सरकारसँग स्वास्थ्य सेवाका लागि पर्याप्त बजेट भए पनि उपयोग गर्न नसकेको बताए ।
 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७  १७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार