सेवा लम्साल परराष्ट्र सचिवमा बढुवा 

विद्युत खपत वृद्धि कार्ययोजना स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
बिहीबार, मंसिर २८, २०८०

काठमाडौं । सरकारले सेवा लम्साललाई परराष्ट्र सचिवमा बढुवा गरेको छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल क्यानडाका राजदूत सिफारिस भएपछि लम्सालले निमित्त परराष्ट्र सचिवको रूपमा जिम्मेवारी सम्हालिरहेकी थिइन् ।
लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षताको बढुवा सिफारिस समितिले लम्साललाई पराष्ट्र सेवाको सेवा समूहीकरणतर्फको राजपत्राकिंत विशिष्ट श्रेणीमा बढुवा गर्न सिफारिस गरेको थियो । 
बिहीबारको मन्त्रिपरिषद बैठकले लम्साललाई परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने गरी सचिवमा बढुवाको निर्णय गरेको हो ।
योसँगै लम्साल नेपालको परराष्ट्र मन्त्रालयमा पहिलो महिला सचिव बनेकी छिन् । लम्सालसँगै नेपाल सरकारको सचिवमा ९ जना महिला सचिव पुगेका छन् ।
२०५५ सालमा शाखा अधिकृतबाट सरकारी सेवा थालेकी लम्सालले उपसचिवबाट परराष्ट्र समूहमा प्रवेश गरेकी थिइन् ।
२०७७ सालपछि मन्त्रालयको प्रवक्ता समेत बनेकी उनले पछिल्लोपटक पाकिस्तानमा नेपाली राजदूतका रुपमा काम गरेकी थिइन् । ताजकिस्तान, तुर्केमेनिस्तान, उज्वेकिस्तान इरान, टर्की, कीर्गिस्तानमा समेत उनी राजदूत थिइन् ।

विद्युत खपत वृद्धि कार्ययोजना स्वीकृत 

मन्त्रिपरिषद् बैठकले बिहीबार एउटा कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ भने दुई कर्मचारीलाई बढुवा छ । सरकारले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना २०८० स्वीकृत गर्ने निर्णय गरेको हो । 
सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन । 
उनका अनुसार सरकारले नेपाल परराष्ट्र सेवा समूहीकरण विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव सेवा लम्साललाई र नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने पनि निर्णय गरेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार