संयुक्त राष्ट्रसंघको आपतकालीन बैठकले पारित गर्‍याे इजरायल हमास युद्ध रोक्ने प्रस्ताव 

बुधबार, मंसिर २७, २०८०

काठमाडौं । इजरायल–हमास द्वन्द्वका बीच गाजामा तत्काल युद्धविरामका लागि पेश गरिएको प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभा (युएनजीए)को आपतकालीन बैठकमा पारित भएको छ । १५३ देशले गाजामा युद्धविरामको पक्षमा मतदान गरेका छन् । १० सदस्य राष्ट्रले विरोध गरे भने २३ सदस्य अनुपस्थित रहे । युद्धविराम प्रस्तावको विपक्षमा मतदान गर्ने देशहरूमा अमेरिका, अस्ट्रिया, चेक रिपब्लिक, ग्वाटेमाला, इजरायल, लाइबेरिया, माइक्रोनेसिया, नाउरु, पपुवा न्यू गिनी र पाराग्वे समावेश छन् ।

यसअघि इजिप्टका राजदूत अब्देल खालेक महमुदले गाजामा युद्धविरामको माग गर्दै संयुक्त राष्ट्रसंघको महासभामा प्रस्ताव पेश गरेका थिए । इजिप्टले सुरक्षा परिषदमा युद्धविरामको लागि गत हप्ता गरेको आह्वानमा अमेरिकी भिटोका कारण असफल भएको थियो ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले युद्धविराम प्रस्तावमा अमेरिका सहमत नभएको बताइन् ।
संयुक्त राष्ट्रका लागि इजरायलका राजदूत गिलाड अर्दानले गाजामा युद्धविरामले हमासको आतंकवादी एजेन्डालाई थप बल दिने बताए । युद्ध रोक्नुले हमासलाई मात्र फाइदा हुने भन्दै उनले प्रस्ताव अस्वीकार गरे ।  
महमुदले प्यालेस्टिनीमाथि इजरायली सेनाको बर्बर हमला र सर्वसाधारणको हत्या रोक्नको लागि युद्धविराम एक मात्र उपाय भएको बताएका छन् । संयुक्त राष्ट्र संघका अध्यक्ष डेनिस फ्रान्सिसले गाजामा भइरहेको हिंसा रोकिनुपर्नेबताएका छन् । फ्रान्सिसले गाजामा सर्वसाधारणमाथि आक्रमण भइरहेको बताए ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार