रायमाझीसहित आठजना थुनामै रहने, खाणबारे राय 'बाझियो'

नक्कली शरणार्थी प्रकरण
शनिबार, मंसिर १६, २०८०

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीसहित आठ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश शुक्रवार सदर गरेको छ । न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले जिल्ला अदालत काठमाण्डूको आदेशलाई सदर गरेको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले बीबीसीलाई बताए ।

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको हकमा भने दुई न्यायाधीशको राय बाझिएको छ ।

"बालकृष्ण खाणका हकमा धरौटी लिई मुद्दाको पुर्पक्ष गर्ने गरी भएको आदेशसँग सहमत हुन सकिएन । ... खाणलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी काठमाडौ जिल्ला अदालतबाट असार १ गते भएको आदेश मनासिब देखिँदा परिवर्तन गर्नु परेन," फरक राय दिँदै न्यायाधीश खरेलले भनेका छन् ।

यद्यपि तेस्रो न्यायाधीशसमक्ष कहिले पेश गरिने भन्नेबारे प्रवक्ता भट्टराईले केही खुलाएनन् ।

भुटानी शरणार्थी

केहीलाई धरौटीमा छाड्न आदेश

अदालतले नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ, सन्दीय रायमाझी, टेकनाथ रिजाल र रामशरण केसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

प्रवक्ता भट्टराईका अनुसार अदालतले टङ्ककुमार गुरुङ, लक्ष्मी महर्जन, आशिष बूढाथोकी र केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

रिजाल भुटानी शरणार्थी नेता हुन् । नरेन्द्र केसी खाणका स्वकीय सचिव हुन् भने सन्दीप रायमाझी टोपबहादुर रायमाझीका छोरा हुन् ।

प्रतिवादीहरूबाट १० लाखदेखि १५ लाख रुपैयाँसम्म धरौटी लिन आदेश दिइएको छ ।

खाणको हकमा ३० लाख रुपैयाँ धरौटी लिई तारेखमा राखेर मुद्दा चलाउनुपर्ने न्यायाधीश पाण्डेले राय राखेकोमा न्यायाधीश खरेल त्यसमा सहमत भएनन् । जिल्ला अदालत काठमाडौले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म १६ जना अभियुक्तलाई थुनामै राखेर मुद्दाको सुनुवाइ गर्न गत असार १ गते निर्णय गरेपछि त्यसविरुद्ध केही प्रतिवादी साउन १२ गते उच्च अदालत पुगेका थिए आरोपितहरूविरुद्ध ठगी र किर्तेसम्बन्धी कसुर, सङ्गठित अपराध र राज्यविरुद्धको अपराध जस्ता मुद्दाहरू लागेका छन्।

नक्कली शरणार्थी प्रकरण

शरणार्थी प्रकरण कसरी सुरु भयो ?

सन् १९९० ताका भुटानबाट भारतको बाटो हुँदै नेपालमा आइपुगेका शरणार्थीहरूलाई पूर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरमा राखिएको थियो ।

स्वदेशफिर्तीको पर्खाइमा रहेका एक लाखभन्दा धेरै शरणार्थीहरू नेपाल र भुटानबीच सन् २००३ सम्म भएका १५ चरणका वार्ताले कुनै समाधान दिन नसकेपछि तेस्रो देश पुनर्वास रोज्न बाध्य भएका थिए ।

उक्त योजनाअन्तर्गत अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजील्यान्ड, यूके, डेन्मार्क, द नेदरल्यान्ड्स र नर्वेमा अधिकांश शरणार्थीहरूको पुनर्वास भइसकेको छ ।

नेपालमा बाँकी भएका ६,००० भन्दा बढी शरणार्थीहरू पूर्वी नेपालका बेलडाँगी तथा पथरी-शनिश्चरे शिविरमा छन् ।

तिनै बाँकी शरणार्थीको व्यवस्थापनबारे पहल भइरहँदा गृह मन्त्रालयले उनीहरुको अनुसूची गयार गर्न कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले नीतिगत रूपमै भ्रष्टाचार गरेर पैसा उठाउँदै नेपाली नागरिकहरूलाई पनि शरणार्थीको सूचीमा राखेको उजुरीपछि प्रहरीले आरोपितहरूलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध काठमान्डू जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दामा आरोपितहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

शरणार्थी प्रकरणमा अहिलेसम्म के भयो ?

मङ्सिर १५: केहीलाई पुर्पक्षमा राख्न र केहीलाई धरौटी लिई मुद्दा चलाउन उच्च अदालत पाटनको आदेश

साउन १२: थुनामुक्त भएर मुद्धा लड्न पाउनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता

१ असार: १६ जना आरोपितलाई थुनामा पठाउन अदालतको आदेश

१० जेठः ३० जना आरोपितविरुद्ध मुद्दा दायर

८ जेठ: प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझायो

२ जेठ: भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत १३ जनाको बयान सकियो

१ जेठः आफ्नो पनि नाम मुछिएको भन्दै पूर्वसांसद आङ्टावा शेर्पा प्रहरीसमक्ष आफैँ उपस्थित

३१ वैशाख: सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

३१ वैशाख: पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप

२७ वैशाख: पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ

२७ वैशाख: पूर्वउपप्रधानमन्त्री रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनलाई सचिव पदबाट निलम्बन

२० वैशाख: उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

२० वैशाख: रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ

२० वैशाखः पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी

१९ वैशाख: पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

१२ चैत: नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ प्रहरीद्वारा पक्राउ

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ०६:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार