काठमाडौ महानगरद्धारा ३५ सय कुकुरको बन्ध्याकरण 

शनिबार, मंसिर १६, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले २ महिनामा ३ हजार ४६९ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरेको छ । 
महानगरले ५ हजार ३२० वटा कुकुर तथा बिरालोलाई रेबिज विरुद्धको खोप लगाएको छ । 
मंसिर मसान्तभित्र सामुदायिक कुकुर र बिरालो सबैलाई बन्ध्याकरण र खोप दिइ सक्ने महानगरको योजना रहेको छ । गत असोज २३ गतेदेखि ९ वटा कम्पनी तथा साझेदार संस्थासँगको सहकार्यमा ९ वटै वडाबाट बन्ध्याकरण तथा खोप अभियान सुरु गरिएको थियो । ‘हामीले सोचेजस्तो धेरै कुकुर र बिरालोको संख्या भेटिएन । टोलमा भेटिएका कुकुर विरालाहरुलाई वडाका प्रतिनिधिको रोहवरमा अभिलेखन गरेर पशुकल्याण तथा पशु अधिकारलाई आत्मसात गर्दै समाउने, बन्ध्याकरणका लागि सेल्टरमा लैजाने तथा उपचारपछि पुनस्र्थापना गरिरहेका छौँ’, महानगरप्रमुख बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा  बन्ध्याकरण र रेबिजविरुद्धको खोप अभियानको विवरण सार्वजनिक गर्दै लेखेको छन् ।  बन्ध्याकरण गरिएका कुकुर बिरालोको एअर नोच (कानमा सानो चिह्न) लगाएको महानगरले जनाएको छ । 
‘हाम्रो लक्ष्य भनेको सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर, भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने हो’, महानगर प्रमुख बालेनले भनेका छन्,  ‘हामी कार्यक्रमलाई निरन्तर सञ्चालन गरिरहेका छौँ । पुसको पहिलो हप्ताबाट हामीले अभियानमा तपाईँको सहभागिता अपेक्षा गरेका छौँ । यसका लागि तपाईँले एअर नोच नभएका कुकुर बिराला देख्नुभयो भने हाम्रो कल सेन्टरको निःशुल्क फोन नं. ११८० मा सम्पर्क गरेर जानकारी गराउन सक्नुृहुनेछ । हामी यस्ता कुकुर विरालालाई बन्ध्याकरण तथा रेविज विरुद्धको खोप सेवा उपलब्ध गराउँछौँ ।’ 
काठमाडौँ महानगरपालिकाले २०८० सालमा कुकुर÷बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि जारी गरेको छ । यही कार्यविधिमा उल्लेख भएका व्यवस्थाका आधारमा कार्यक्रम चलाइएको हो । 
घर पालुवा जनावरको हकमा भने घर धनी आफैले बन्ध्याकरण र खोपको व्यवस्था मिलाउन हामी अनुरोध गर्न चाहन्छौ उनले महानगरवासी समक्ष अनुरोध गर्दै भनेका छन्, ‘यसका साथै घरपालुवा कुकुर र बिरालोलाई ‘माइक्रो चिप्स’ जडान प्रक्रियामा छौँ । त्यसपछि अनिवार्य रूपमा घरपालुवा जनावर पाल्ने घरधनी सबैले उक्त चिप्स राख्नु पर्नेछ । यसबाट संख्या एकिन भइ संख्या र अवस्था व्यवस्थापन गर्न सहज हुनेछ ।’ 
‘हामी चौपायाहरुलाई ओसारपसार गर्न एम्बुलेन्स खरिद प्रक्रियामा छौँ ।  मृत जनावरको व्यवस्थापनका लागि इन्सिनिरेटर खरिद गर्दैछौँ । यसबाट पशुकल्याण तथा सहज वातावरणमा बाँच्ने पशु अधिकारमा नयाँ आयाम थपिनेछ’, महानगर प्रमुख बालेनले भनेका छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ०६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार