केही संस्थाको बेइमानीका कारण सहकारीमाथि अविश्वास बढ्यो : अध्यक्ष कँडेल

शुक्रबार, मंसिर १५, २०८०

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले केही संस्थाहरुको बेइमानीका कारण सहकारीमाथि अविश्वास बढेको बताएका छन् । आज काठमाडौंमा आयोजित ‘सहकारीको पैसा कहाँ गयो’ विषयक एक दिने सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘सहकारीमा मात्रै नभएर सिङ्गो वित्तीय क्षेत्रमै समस्या छ । केही संस्थाहरुको बेइमानीका कारणले सहकारीमाथि अविश्वास बढेको छ । अचानक बचत फिर्ता लिन आउने क्रम छ । सहरी क्षेत्रमा यसको ठूलो प्रभाव छ । उत्पादन, रोजगारी सबै ठप्प छ । यसले पनि समस्या बढेको छ ।’

विश्वव्यापी रुपमा आर्थिक मन्दी रहेको, अर्थतन्त्रमाथि नै संकटको अवस्था आएको अवस्थामा सूचकांकले सुधार भएको देखाए पनि व्यवहारमा त्यस्तो नभएको उनको भनाइ छ ।

‘सहकारीका सदस्यहरुको व्यवसाय, व्यापार सबै ठप्प छ । राम्रो र असल भनिएका  ऋणीहरुले पनि ऋण तिर्न सकेका छैनन् । अर्कोतर्फ अर्थतन्त्रको समस्याको कारणले पैसा फिर्ता लिएर राख्ने गरेको पाइन्छ’ उनले भने ।

पछिल्लो अवस्थालाई सहकारीसँग मात्रै होइन, सिङ्गो अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने उनले बताए । युवाहरु बाहिर जाने क्रमसँगै ठूलो मात्रामा देशको पैसा बाहिरिएको उनले जनाए ।

उनले भने, ‘हामीले नगरपालिका क्षेत्रभित्र बचत र ऋणको नयाँ संस्था दर्ता रोक्न पर्यो भनेका थियौ । त्यसमा मन्त्रिपरिषद्बाट निर्णय भएर रोक्ने काम भएको छ । अहिलेको अवस्थामा सहकारी क्षेत्रमा देखा परेको तरलता अभावको समस्या एउटा र केही संस्थाहरुको बदमासीले गर्दा अविश्वास पैदा भएको छ । विश्वास फिर्ता गर्न धेरै काम राज्यले गर्नुपर्ने छ ।’

सहकारीको मूल सिद्धान्त अनुसार सहकारी सञ्चालन गर्ने कुरामा ध्यान दिने हो भने पछि गएर तीनखम्बे अर्थनीतिमा एउटा महत्वपूर्ण खम्बाको रुपमा सहकारी अगाडि आउँछ भन्ने विश्वास लिएको उनले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  २१:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार