सुर्तीजन्य पदार्थ बेच्ने र सेवन गर्नेलाई जरिवाना गर्दै महानगर

बिहीबार, मंसिर १४, २०८०

विराटनगर । सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउने ऐन कार्यान्वयनका लागि विराटनगर महानगरपालिकाले स्थलगत अनुगमन सुरु गरेको छ ।
सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने) ऐन २०८० पूर्णतः कार्यान्वयनमा ल्याउन महानगरले अनुगमनलाई तीव्र पारेको हो । 
दसैं, तिहार र छठ पर्वको लामो सार्वजनिक विदाका कारण महानगरको अनुगमन रोकिएको थियो । महानगरले जारी गरेको ऐन कार्यान्वयनका लागि सम्बन्धित शाखा र महाशाखालाई अनुगमन तीव्र पार्न निर्देशन दिइसकेको मेयर नागेश कोइरालाले जानकारी दिए ।
महानगरले गत वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थ सेवन र बिक्री वितरणमा रोक लगाएको थियो । त्यस्तै, साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीका लागि दिएको अनुमति खारेज गर्नुका साथ दर्ता गर्न रोक लगाएको थियो । 
महानगरले साउनदेखि नै सुर्तीजन्य पदार्थ बिक्री र सेवनमा रोक लगाउन ऐनसमेत जारी गरिसकेको छ । ऐनमा बिक्री गर्ने मात्रै नभएर सेवन गर्नेलाई समेत जरिवाना तोकिएको छ । ऐनमा १ हजारखि ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।
सुर्तीजन्य पदार्थका बारेमा सूचना संकलनका लागि महानगरले सादा पोशाकमा नगर प्रहरी र कर्मचारीसमेत गोप्य रुपमा परिचालन गरेको जनाएको छ । 
खैनी, चुरोट, गुटका सेवनका कारण क्यान्सरजस्तो प्राणघातक रोग लाग्ने र उपचारमा धेरै रकम लाग्ने भएका कारण बिक्री र सेवनमा रोक लगाइएको मेयर कोइरालाले बताए । 
त्यस्तै, सुर्तीजन्य पदार्थका खोल सरसफाईका लागि समेत ठूलो समस्याका रुपमा रहेको उनको भनाइ छ । ‘सुर्तीजन्य पदार्थबाट राज्यले प्राप्त गर्ने राजस्वभन्दा जनताको स्वास्थ्य उपचारमा राज्यको सयौं गुणा बढी रकम खर्च हुने गरेको छ,’ मेयर कोइरालाले भने, ‘यसबाहेक महानगरको सरसफाईमा समेत सुर्तीजन्य पदार्थको खोल समस्याका रुपमा रहेको छ ।’
ऐन कार्यान्वयनका लागि अनुगमन गर्न महानगरले नगर प्रहरीका प्रमुख राजन पौडेललाई निरीक्षक तोकेको छ । महानगर क्षेत्रभित्र ऐन कार्यान्वयन भए–नभएको निरीक्षण गर्न र प्रचलित ऐन, नियम–कानुनको अधिनमा रही प्रभावकारी रुपमा अनुगमन गर्न नगर प्रहरी प्रमुख पौडेललाई जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।
अनुगमनमा पौडेलसहित सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालका साथै स्वास्थ्य, सरसफाई शाखाका कर्मचारी, जनपद प्रहरी, सञ्चारकर्मी लगायतको सहभागिता थियो । 
टोलीले बिहीबार विराट नर्सिङहोम, नोवेल मेडिकल कलेज र कोशी अस्पताल अगाडिका एक दर्जनभन्दा बढी पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा ठूलो मात्रामा गुट्का, खैनी, रजनीगन्धालगायतका सुर्तीजन्य पदार्थ फेला पारेको छ । 
दोस्रोपटक सुर्तीजन्य पदार्थ भेटिएको पसललाई महानगरले कारबाही प्रक्रियासमेत अगाडि बढाएको छ ।
घरपरिवारबाटै सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउन महानगरलाई आग्रह आउने गरेको उपमेयर शिल्पा निराला कार्कीले बताइन् । बिक्री गर्ने र खाने केही प्रतिशत व्यक्तिबाहेक सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी ऐन कार्यान्वयनमा ल्याउँदा सबै महानगरवासी खुसी भएको उनको भनाइ थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार