ललितपुर महानगर २४ नं. वडा धापाखेलमा अवस्थित नागदहको पानी सुद्धिकरण प्रयास 

चिरीबाबु भन्छन्, ‘मास्टर प्लान लिएर आउनुस्, संरक्षणका लागि लगानी महानगरले गर्छ’
बुधबार, मंसिर १३, २०८०

ललितपुर ।  ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले नागदहको संरक्षणका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
ललितपुर महानगर वडा नंं.२४ र द स्मल अर्थ नेपालले आयोजना गरेको तैराएर सिमसारको प्रदुषित पानी शुद्धिकरण गर्ने प्रविधि विषयक छलफल गोष्ठीमा उनले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले भने, ‘तयार भइसकेको नागदहको मास्टरप्लान लिएर आउनुस्, त्यहाँ उल्लेख भएको, सबैभन्दा धेरै लगानी गर्नुपर्ने क्षेत्रमा महानगरले लगानी गर्छ, वडाले दुई पैसा पनि खर्च गर्न पर्दैन।’ महानगर प्रमुख चिरीबाबुले मास्टर प्लान हेरेर नागदहको संरक्षण गर्न आफू आतुर भएको बताए । 

WhatsApp Image 2023-11-29 at 12.48.231701246351.jpeg
महानगर प्रमुख चिरीबाबु महर्जनले नागदह वरिपरि (खुल्ला क्षेत्र रहेको स्थानमा) नर्कट वा बाँस रोप्नका  लागि अध्ययन गर्न समेत कार्यक्रम आयोजक संस्थालाई सुझाव दिए । उनले भने, ‘नर्कट र बाँसले पानी सुद्धिकरण गर्न सहयोग गर्छ , अध्ययन गर्नुहोस् ।’ नागदह ललितपुर महानगरको मात्रै नभएर ललितपुर जिल्लाकै महत्वपूर्ण सम्पदा भएको बताउँदै यसको संरक्षण अपरिहार्य भएको दाबी गरे । 
तैराएर सिमसारको प्रदुषित पानी शुद्धिकरण गर्ने प्रविधि सीमसार, पोखरी तथा तालमा पानीको प्रदुषक तत्व हटाउन प्रयोग हुने एक वातावरणमैत्री प्रविधि हो । 
यो प्रविधि अन्तर्गत फराकिलो डुंगा आकारका राफ्टहरुमा विरुवाहरु रोपी जरालाई स्वतन्त्र रुपमा पानीमा तैराई राखिन्छ । ती जराहरुले पानीमा घुलेर रहेका नाइट्रेट, फस्फेट, एमोनिया जस्ता प्रदुषक तत्व तथा केही मात्रामा धुलोका कणहरु शोषण गरी पानीको प्रदुषण हटाउन मद्दत गर्छ । 

WhatsApp Image 2023-11-29 at 12.49.041701246339.jpeg
एसिया प्यासिफिक नेटवर्क फर ग्लोबल चेन्ज रिसर्च (एपीएन) को लगानीमा स्मल अर्थ नेपालको पहलमा यस प्रविधि अन्तर्गत नागदहमा यो प्रविधि भएको राफ्टहरु राखिएका छन् । 
ललितपुर महानगर वडा नंं.२४ का कार्यबाहक वडाअध्यक्ष निशा मालबुलले नागदह महत्वपूर्ण पर्यटकीय, धार्मिक ठाउँ भएको बताइन् । उनले भनिन्,‘नागदहको संरक्षणका लागि मास्टर प्लान सहित वडाको टिम हामी छिट्टै महानगर जान्छौं ।’

ललितपुर महानगरको वडा नंं. २० मा अवस्थित पिम्बहाल पोखरीलाई साक्षी राखेर आफू हुर्किएको बताउँदै उनले भनिन् , ‘नागदहलाई पनि पिम्बहाल पोखरी जस्तै बनाउन पाए कति राम्रो हुन्थ्यो ।’ 
नागदह संरक्षण समितिका अध्यक्ष महेश गिरीले नागदहको प्रदुषित पानीलाई शुद्ध बनाउने अभियानमा लाग्ने संघसंस्थालाई धन्यवाद दिए । उनले भने, ‘४२ सालसम्म पनि हामी नागदहकै पानी खान्थ्यौ तर अहिले त्यो संभव छैन, तर पनि पानी शुद्ध बनाउन यहाँहरुले गर्नुभएको पहलको सम्मान गर्छौ ।’

उनले नागदहको मास्टर प्लान सहित नगरप्रमुखलाई भेट्ने बताए । नागदह ललितपुर जिल्लाकै धार्मिक पर्यटकीय स्थल भएको बताउँदै यसको संरक्षणका लागि सँगसँगै हिड्ने प्रष्ट पारे । 
शक्ति महिला समूहकी अध्यक्ष कमला मालीले ललितपुरको महत्वपूर्ण पर्यटकीय स्थल नागदहको संरक्षणका लागि नगर प्रमुख र वडा अध्यक्ष दुबैबाट थप पहल र प्रयास हुने विश्वास व्यक्त गरिन् । 
कार्यक्रममा नाष्टका प्राज्ञ तथा वैज्ञानिक योजना समूहका डा.मदनलाल श्रेष्ठले जलवायु परिवर्तन र यसले पारेका प्रभाव तथा विज्ञान नीतिका बारेमा प्रस्तुतिकरण गरेका थिए । त्यसैगरी त्रिभुवन विश्वविद्यालय केन्द्रीय जल तथा मौसम विज्ञान विभागका प्रमुख प्राध्यापक डा. दिपक अर्यालले जलवायु परिवर्तन, सिमसार पोखरी, तलाउको संरक्षण र यहाँको पानीको सुद्धिकरण लगायतका विषयमा अध्ययन अनुसन्धान आवश्यक भएको बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार