गाजाको अस्पतालभित्र नेपाली बन्धक पनि देखिएको फुटेज सार्वजनिक 

मंगलबार, मंसिर ५, २०८०

काठमाडौं । इजरायली सेनाले गाजास्थित अल–शिफा अस्पतालको एउटा फुटेज सार्वजनिक गर्दै त्यसमा देखिएकामध्ये एक जना नेपाली नागरिक पनि रहेको जनाएको छ। इजरायली सेनाको एक्स (पहिलाको ट्विटर) खातामा भनिएको छ, “‘इजरायली भूमिबाट अपहरण गरिएका एक नेपाली र एक थाई नागरिक सशस्त्र हमास आतङ्कवादीहरूबाट घेरिएका फुटेजमा देखिन्छ।” अक्टोबर ७ तारिखको हमास हमलापछि बन्धक बनाइएका व्यक्तिहरूलाई अल–शिफा अस्पताल पुर्‍याउँदै गरिएको देखिएको आईडीएफले उल्लेख गरेको छ ।
समाचार ब्रीफिङका क्रममा इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले आइतवार सार्वजनिक गरेको सीसीटीभी फुटेजको स्वतन्त्र रूपमा आधिकारिता पुष्टि हुन सकेको छैन ।

परराष्ट्रमन्त्री के भन्छन् ?
आईडीएफले सार्वजनिक गरेको पछिल्लो भिडिओ फुटेजबारे परराष्ट्रमन्त्री एनपी साउदले ताजा भिडिओबारे थाहा नभए पनि हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी “सकुशल” रहेको जानकारी पाएको बताए ।

एनपी साउद

इजरायलस्थित नेपाली दूतावासले पनि आइतबार विज्ञप्ति जारी गर्दै “जोशी हालसम्म सम्पर्कविहीन रहेको र उनको खोजी जारी रहेको” जनाएको छ।
“त्यो भिडिओ फुटेजबारे नै त हामीलाई केही जानकारी आएको छैन । तर हिजो राति अबेर इजरायली अधिकारीबाट हामीले पाएको जानकारीअनुसार विपिन जोशी सकुशल र बन्धक अवस्थामा हुनुहुन्छ, ” साउदले भने ।
जोशीको रिहाइका लागि आवश्यक पहल गरिरहेको अधिकारीहरूले बताउँदै आएका छन् ।
“हामीले कतार सरकार र अन्तर्राष्ट्रिय रेडक्रस आईसीआरसीसँग कुराकानी गरिरहेका छौँ,” साउदले भने ।
हमाससँग पनि केही कुराकानी भएको छ कि भन्ने प्रश्नमा उनले भने, “हमास समूहसँग नै हाम्रो कुरा भएको छैन ।”
अधिकारीहरूका अनुसार जोशीको रिहाइमा सघाइदिन भन्दै कतारलाई औपचारिक पत्र नै पठाइसकिएको छ ।इजरायलस्थित नेपाली दूतावासले “जोशी सम्पर्कविहीन रहेको र उनको खोजी जारी रहेको” जनाएको छ

के कतारले सघाउन सक्छ ?
हमासको नियन्त्रणमा रहेका आफ्ना नागरिकको रिहाइमा सघाउन नेपालका लागि कतार नै “सबैभन्दा अनुकूल विकल्प” भएको त्यहाँका लागि पूर्वराजदूत नारद भारद्वाज बताउँछन् ।
अक्टोबर ७ को हमलालगत्तै नेपालले “आतङ्कवादी हमला” भन्दै निन्दा गरेको थियो ।
नेपालले त्यसो भनिसकेको अवस्थामा र अहिले इजरायली हमलामा गाजामा अधिकांश गैरसनिकको ज्यान गइरहेको पृष्ठभूमिमा हमाससँग सीधै सम्पर्क गर्न सम्भावना पनि भारद्वाज देख्दैनन् ।
“यो स्थितिमा नेपालले सोझै हमाससित कूटनीतिक पहल गर्ने न कुनै सम्पर्क बिन्दु छ न त्यस्तो किसिमको अवस्था नै छ। त्यस कारण नेपालले सीधै गर्न सक्छ जस्तो मलाई लाग्दैन,” उनले भने, “कतारलाई नै प्रयोग गर्नु अहिलेको अवस्थामा सबैभन्दा अनुकूल हुन्छ भन्ने मलाई लाग्छ।”
विगतमा कतारले तालिबान र अमेरिकाबीच गराएको सहमतिलाई हेर्दा मध्यस्थतामा उसको दक्षतामाथि भरोसा गर्न सक्ने आधार रहेको जानकारहरू बताउँछन् ।
त्यसमा सहमति जनाउँदै पूर्वराजदूत भारद्वाज भन्छन्, “मलाई लाग्छ कतारको कूटनीतिक पहल र अन्तर्राष्ट्रिय मध्यस्थतामा उच्च क्षमता छ।”

विपिन जोशी

विपिन जोशी कसरी इजरायल पुगे ?
नेपाली विद्यार्थीलाई सिक्दै अध्ययन पनि गर्न दिने नेपाल र इजरायलबीच भएको एउटा सम्झौताअन्तर्गत रहेको एउटा कार्यक्रममा विपिन जोशी इजरायल पुगेका थिए । उनीसहित सुदूरपश्चिम विश्वविद्यालयमा कृषिविज्ञान अध्ययनरत विद्यार्थीहरू इजरेल र नेपाल सरकारबीचको सम्झौताअनुसार विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गाजाको सीमानजिकै कार्यरत थिए । त्यहाँ एउटा कृषि फर्ममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जना हमासको आक्रमणमा मारिएका थिए भने चार जना घाइते र जोशी बेपत्ता भएका थिए । अन्य दुई जना भने सकुशल थिए ।
जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए ।
तर पछि उनलाई हमास लडाकुले लगेको ती विद्यार्थीहरूले सञ्चारमाध्यमलाई बताएका थिए ।
बीबीसीका निक बीकका अनुसार आइतवार समाचार ब्रीफिङका क्रममा आईडीएफका प्रमुख प्रवक्ता ड्यानिअल हगारीले सीसीटीभी फुटेज देखाएका थिए ।
त्यो फुटेज अक्टोबर ७ तारिखको बिहानको हो जुन दिन हमासले दक्षिणी इजरेलमा अचानक हमला गरेको थियो ।
त्यो हमलामा १,२०० इजरेली मारिए भने २४० जनाभन्दा बढीलाई हमासले बन्धक बनाएर लगेको थियो ।

इजरेली डिफेन्स फोर्सेसले सार्वजनिक गरेको फुटेजमा देखिएको दृश्य
दुई बन्धकलाई गाजाको सबैभन्दा ठूलो र आधुनिक अस्पताल पुर्‍याउँदै गरिएको भिडिओ फुटेजमा देखिन्छ। अक्टोबर ७ तारिख उल्लिखित सीसीटीभी भिडिओमा सशस्त्र व्यक्तिहरू पनि देखिन्छन् । एक बन्धकले प्रतिरोध गरिरहेको र अर्का स्ट्रेचरमा पल्टिरहेको पनि भिडिओमा देखिन्छ ।
इजरायलले सार्वजनिक गरेको भिडिओबारे प्रतिक्रिया जनाउँदै गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले फुटेजको आधिकारिकता पुष्टि गर्न नसकेको जनाएको छ । गाजामा स्वास्थ्यसेवाहरू काम नै नलाग्ने अवस्थामा पुर्‍याएको इजरायलले सबै जिम्मेवारी लिनुपर्ने मन्त्रालयले बताएको छ ।

इजरेली डिफेन्स फोर्सेसले सार्वजनिक गरेको फुटेजमा देखिएको दृश्य
यसअघि आईडीएफले एउटा भिडिओ सार्वजनिक गरेको थियो जसमा १० मिटर गहिराइको ५५ मिटर लामो सुरुङ एउटा बन्द र मजबुत ढोकासम्म पुगेको देखिन्छ ।
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अहिलेसम्म मारिनेको सङ्ख्या १२,३०० पुगेको छ भने २,००० जनाभन्दा बढी भग्नावशेषभित्रै रहेको आशङ्का छ ।–बीबीसी 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार