ललितपुर । ललितपुर महानगरपालिका २७ नं. वडा कार्यालय र सुनाकोठी स्वास्थ्य चौकीद्धारा आयोजित बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

गत शनिबार आयोजित उक्त शिविरमा करिब ३०० जना भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको सुनाकोठी स्वास्थ्य चौकीका प्रमुख डिल्लीराम श्रेष्ठले शब्दपाटीलाई जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल अस्पतालका चिकित्सक मुटुरोग विशेषज्ञ चिकित्सक डा. विनय अधिकारी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनरलन फिजिसियन डा. निरञ्जन तथा बीएण्डबी अस्पतालका सुगर, थाइरोइड विशेषज्ञ डा.दिपेन्द्र कार्कीको सहभागितामा वडा कार्यालय सुनाकोठी तथा स्वास्थ्य चौकी सुनाकोठीले गत शनिबार नसर्ने रोगहरूसम्बन्धी विशेषज्ञहरूको उपस्थितिमा बृहत् स्वास्थ्य शिविर आयोजना गरेको हो ।

सुनाकोठीस्थित नवनिर्मित वडा कार्यालय भवनमा आयोजित बृहत स्वास्थ्यशिविर बिहान १० बजेदेखि ४ बजेसम्म जारी रहेको थियो ।
उक्त शिविरमा विशेषज्ञ चिकित्सकद्धारा स्वास्थ्य परीक्षण, निःशुल्क ईसिजी सेवा, निःशुल्क औषधि वितरण, निःशुल्क सुगर परीक्षण, निःशुल्क परामर्श सेवा दिइएको थियो ।

‘तिहारको बिदा सुरु भए पनि हामी निरन्तर जनताको स्वास्थ्य सेवामा छाैँ । बृहत् स्वास्थ्य शिविर सफल बनाउन सहयोग गर्नु हुने ललितपुर वडा नं २७ का अध्यक्ष, सदस्यहरू, सुनाकोठी स्वास्थ्य चौकीका कर्माचारी, बिज्ञ चिकित्सक, स्कुल हेल्थ नर्स, स्वास्थ्य स्वयम सेविका, वडा स्वास्थ्य कार्यन्वयन समितिसहित निःशुल्क औषधि उपलव्ध गराउने क्वेस्ट फार्मास्च्युटिकल कम्पनीलगायत प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने स्वयम सेवक सबैलाई हार्दिक धन्यबाद ब्यक्त गर्न चाहन्छु’, सुनाकोठी स्वास्थ्य चौकीका प्रमुख श्रेष्ठले भन्नुभयो ।

स्वास्थ्य परीक्षणमा सहभागी विशेषज्ञ चिकित्सकहरूले महानगरपालिकाको वडा भए पनि वडावासीकहरूमा स्वास्थ्य सचेतना कमि रहेको आफूहरूले पाएको बताउनुभयो ।
‘लामो समयदेखि औषधि खाइरहेको देख्यौं, औषधि तथा स्वास्थ्यमा परिवर्तन भइसकेका छन्, तर पनि उहाँहरूले त्यही औषधि निरन्तर लिइरहनु भएको छ । यो स्वास्थ्य चेतनाको कमि हो’, विषेषज्ञ चिकित्सकले भन्नुभयो ।

सुनाकोठी स्वास्थ्य चौकीका प्रमुख डिल्लीराम श्रेष्ठले नसर्ने रोगहरूको समस्या जटिल बन्दै गएको परिप्रेक्ष्यमा यो शिविर आयोजना गरी वडावासीलाई सेवा दिने प्रयास गरिएको बताउनु भयो ।

स्वास्थ्य शिविरका बारेमा वडासदस्य रामदेवी महर्जनले पनि वडावासीलाई निरोगी राख्न नसर्ने रोगसम्बन्धी बृहत स्वास्थ्य शिविर आयोजना गरिएको बताउनु भयो ।

