विद्युत महशुल नबुझाउने दुई कार्यालयको लाइन काटियो

बुधबार, कात्तिक २२, २०८०

रौतहट । विद्युत महशुल नतिरेका कारण कटहरियामा रहेका दुईवटा कार्यालयको लाइन काटिएको छ । बिजुली नहुँदा सेवा प्रवाह प्रभावित बनेको छ ।

लामो समयदेखि विद्युत महशुल नबुझाएपछि कटहरिया नगरपालिकाको कार्यालय र खानेपानी उपभोक्ता समितिको विद्युत लाइन काटिएको हो । नगरपालिकाले करिब ४ लाख र खानेपानी उपभोक्ता समितिले १६ लाख रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण मौलापुरले जनाएको छ । 

कार्यालयका प्रमुख दिनेश यादवका अनुसार विद्युतको बक्यौता रकम नतिरेका ग्राहकहरुको विद्युत लाइन काटिएको छ । पटकपटक महशुल बुझाउन आग्रह गर्दा समेत बेवास्ता गरेपछि लाइन काट्न थालेको उनले जानकारी दिए । 

बक्यौता रकम नबुझाएकाले दुई कार्यालयका मिटर खोलेर प्राधिकरणको कार्यालयमा ल्याइएको उनले बताए । विद्युत आपूर्ति नहुँदा नगरको कार्यालयको सम्पूर्ण काम ठप्प भएको कटहरिया नगरपालिका वडा नं। ५ का अध्यक्ष सर्फलाल गुप्ताले बताए ।

तीन दिनदेखि विद्युत आपूर्ति नहुँदा नगरपालिकाको सम्पूर्ण काम प्रभावित भएको उनले बताए । कार्यालयमा विद्युत आपूर्ति नहुँदा काम विशेषले पुगेका सेवाग्राहीहरु पmर्किन वाध्य भएका छन् । 
कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर कुमार सिंहले विद्युत प्राधिकरण मौलापुरको नाममा तीनलाखको चेक काटिसकेकाले अब विद्युत आपूर्ति हुने जानकारी दिए ।

विद्युत महशुल नबुझाएका कारण समस्या आएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले बताए । खानेपानीको बिद्युत महशुलमा नगरपालिकाले चासो दिनुपर्ने उनको भनाई छ । खानेपानीको विद्युत आपूर्ति नहुँदा अहिले कटहरिया नगरपालिका ४ र ५ वडाका १६ सय सेवाग्राही खानेपानीबाट वञ्चित भएका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार