रुसी राष्ट्रपति चीनमा 

मंगलबार, असोज ३०, २०८०

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अक्टोबर १७ र १८ तारिखमा हुने तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’ मा सहभागी हुन मंगलबार बिहान बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सि चिनफिङको निमन्त्रणमा उनी आज बेइजिङ पुगेका हुन् । उक्त फोरमा १३० देशका नेताहरूले बिआरआइअन्तर्गतका अन्तर्राष्ट्रिय परियोजनाहरूमा छलफल गर्नेछन् । यद्यपी इजराईल र हमास युद्धका कारण यो बैठक ओझेलमा पर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले विश्लेषण गरेका छन् । 
त्यसैगरी हेगमा रहेको अन्तर्राष्ट्रियो फौजदारी अदालत (आईसीसी) ले रुसी नेतालाई युक्रेनबाट अवैधरूपमा बालबालिकालाई देश निकाला गरेको आरोप लगाउँदै गत मार्चमा पुटिनविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेपछि उनको यो नै पहिलो भ्रमण हो । चीन आईसीसीको सदस्य भएका १२३ देशमध्ये होइन । त्यसैले पुटिनलाई हेगमा ट्रायलका लागि स्थानान्तरण गर्नका लागि चीन बाध्य हुने छैन ।
यस महिनाको सुरुमा पुटिनले किर्गिस्तानको भ्रमण गरे तर यस वर्ष उनले भ्रमण गरेका पूर्व सोभियत गणतन्त्र देशहरू बाहेक चीन नै पहिलो हो । किर्गिस्तान पनि आईसीसीको सदस्य राष्ट्र होइन । 
युक्रेनमा युद्ध जारी रहेको समयमा बेइजिङले मस्कोसँग गरेको साझेदारीप्रति पश्चिमी देशहरूले आलोचना गरिरहेका छन् । तथापी चीनले आफ्नो देश जुनसुकै देशसँग सहकार्य गर्न तयार रहेका स्पष्ट पारेको छ ।
मस्कोले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्णरूपमा आक्रमण सुरु गरेदेखि छिमेकी चीन र रसियाबीचको व्यापार विस्तार भएको छ । बेइजिङले रुसी तेल आयात गरेपछि अन्य देशहरूले रुसी आयातमा प्रतिबन्ध लगाएका थिए । 
यस साताको आफ्नो भ्रमण अघि चीनको सरकारी बोर्डकास्टर सीजीटीएनसँगको अन्तरवार्तामा पुटिनले वहुध्रुवीय संसारले आकार लिइसकेको बताएका थिए । उनले चिनियाँ राष्ट्रपति सि चिनफिङले अगाडि सारेका अवधारणा र पहलहरू अत्यन्त सान्दर्भिक र महत्वपूर्ण भएको बताएका थिए ।
यसैबीच रुसका शीर्ष कूटनीतिज्ञ सेर्गेई लाभरोभ राष्ट्रपति पुटिनभन्दा पहिले नै बेइजिङ पुगेका छन् । उनले चीनका विदेशमन्त्री वाङ यीसँग सोमबार नै भेटवार्ता गरेका छन् । राष्ट्रपति सि र उनका समकक्षी पुटिनबीच पछिल्लो पटक यसै वर्षको मार्चमा रुसमा भेट भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार