१० नेपाली विद्यार्थीको शव पठाउन इजरायल सरकारले प्रक्रिया थालेको छ : दूतावास

शुक्रबार, असोज २६, २०८०

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले हिंसामा ज्यान गुमाएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकारले आवश्यक प्रक्रिया सुरु गरेको जानकारी दिएको छ । 
शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले निधन भएका १० नेपाली विद्यार्थीहरूको शवसम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रक्रियाबमोजिम इजरायलका सम्बन्धित निकायबाट भैरहेको जनाएको छ ।
त्यस्तै दूतावासले हमास समूहको आक्रमणबाट घाइते भई उपचारका क्रममा रहेका ४ जनामध्ये २ दिनअघि डिस्चार्ज भएका १ जनालाई उद्धार उडानमार्फत नेपाल पठाइएको र उपचाररत अर्का १ जना अस्पतालबाट डिस्चार्जका क्रममा रहेको बताएको छ  । अन्य २ जनाको भने उपचार भैरहेको समेत विज्ञप्तिमा उल्लेख छ । 
त्यस्तै नेपाल फर्किन बाँकी रहेका नेपाली नागरिकहरूलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको पनि दूतावासले जनाएको छ ।
विज्ञप्तिमा हराइरहेका एक नेपाली विद्यार्थीको खोजी कार्यलाई तीव्रता दिन इजरायलका उच्चस्तरीय निकायका पदाधिकारीहरुसँग पुनः अनुरोध गरिएको जनाइएको छ ।  नेपाल सरकार र दूतावासको सहयोगमा २५४ जना नेपालीको शुक्रबार बिहान उद्धार गरिएको थियो ।
दूतावासले उद्धार कार्यमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई धन्यवाद दिँदै इजरायलवासी सम्पूर्ण नेपालीलाई संयम रहँदै निरन्तर दूतावाससँगको समन्वय  र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालन गर्न सूचित गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार