नेपाली प्राध्यापकलाई चीन सरकारको अनुसन्धानवृत्ति 

क्यान्सर रोगको उपचारमा आयुर्वेदलगायत उपचारपद्धतिको प्रभावकारिताबारे अनुसन्धान गर्ने 
शनिबार, भदौ २, २०८०

काठमाडौं । चीनको साङ्सी प्रान्तले क्यान्सर रोगको उपचारका लागि नेपालको परम्परागत औषधि पद्दतिको प्रभावकारिताबारे अनुसन्धान गर्न एक नेपाली प्राध्यापकलाई अनुसन्धानवृत्ति उपलब्ध गराएको छ ।
चीनको साङ्सी प्रान्तस्थित सियान मेडिकल विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक डा.राजीवकुमार झालाई क्यान्सर रोगको उपचारमा नेपालको आयुर्वेद, प्राकृतिक चिकित्सा तथा अन्य परम्परागत उपचार पद्दतिको प्रभावकारिताको अनुसन्धान गर्न उक्त अनुसन्धानवृत्ति वृत्त उपलब्ध गराएको हो ।
चीनमा नसर्ने रोगमध्ये सबैभन्दा ठूलो चुनौती क्यान्सर रोगको भएकाले क्यान्सरको उपचार तथा रोकथामका बारेमा अध्ययन अनुसन्धान गर्न साङ्सी प्रान्तले आह्वान गरेको अनुसन्धानवृत्तिमा आफू छानिएको डा.झाले बताए । 
उक्त प्रान्तको शिक्षा विभागले गरेको आह्वानमा चीन र विभिन्न देशका एक सय ३१ व्यक्ति तथा संस्थाबाट डा. झा छानिएका हुन् । नेपालमा पाइने जडिबुटीका साथै यहाँ प्रचलनमा रहेका आयुर्वेद, प्राकृतिक चिकित्सा एवं अन्य परम्परागत चिकित्साबाट क्यान्सर रोगको उपचार के कति प्रभावकारी हुन्छ भन्ने बारेमा अनुसन्धान केन्द्रित हुने उनले शब्दपाटीलाई बताए । 
नेपालको कर्णाली क्षेत्रमा पाइने जडिबुटी र नेपालको भौगोलिक एवं वातावरणीय समानता रहेको तिब्बतमा अनुसन्धान  केन्द्रित हुने जानकारी उनले दिए ।
साङ्सी प्रान्तमा रहेका विभिन्न देशका प्राध्यापक, अनुसन्धानदाता, चिकित्सक, वैज्ञानिक, उद्यमीलगायतका व्यक्तिबाट सो वृत्तिका लागि छनोट गरिएको हो । प्राध्यापक झा करिब साढे दुई दशकदेखि सियान विश्वविद्यालयमा प्राध्यापनरत छन् ।
प्रा. डा झाको नाममा साङ्सी प्रान्तीय सरकारले ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ स्थापना गरेको छ । सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्द्रमा क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै यससम्बन्धी दुई देशबीचको चिकित्सकीय अनुभव आदानप्रदान पनि हुने गरेको छ ।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चीनमा मेडिकल एवं खासगरी क्यान्सर रोगको अनुसन्धान एवं प्राध्यापनमा सहभागी एक नेपाली चीनको प्रान्तीय स्तरको अनुसन्धानवृत्ति प्राप्त गर्नु गौरवको विषय भएको बताए । अनुसन्धानको यो कामबाट दुइ देशका बीचको सम्बन्ध थप प्रगाढ हुने उनले बताए ।
 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार