ललितपुरका शिक्षकलाई रातो बंगला स्कूलको तालिम,  शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयलाई शैक्षिक सामग्री 

सोमबार, साउन २९, २०८०

ललितपुर । रातो  बंगला  स्कूलले ललितपुर महानगरभित्रका सामुदायिक विद्यालयका प्रारम्भिक बाल कक्षा(इसीडी)का शिक्षकहरूलाई तालिम दिएको छ ।  विद्यालयले ललितपुर महानगरसँगको सहकार्यमा महानगरभित्रका ११ वटा सामुदायिक विद्यालयका इसीडी शिक्षकहरूलाई ६ दिने तालिम दिएको हो । यो तालिम रातो बंगला साझेदारी कार्यक्रमअन्तर्गतको तेस्रो चरणको तालिम हो । 
तालिम समापन कार्यक्रममा महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिन् । प्रारम्भिक बाल कक्षा शिक्षाको आधार अर्थात् जग भएको बताउँदै प्रारम्भिक बाल कक्षालाई प्राथमिकता दिनुपर्ने उनले बताइन् । उनले भनिन्, ‘शैक्षिक सामग्री प्रयोग गरेर, तालिमप्राप्त शिक्षकहरु मार्फत विद्यार्थीलाई सिकाउँदा त्यो प्रभावकारी हुन्छ । ’ 
सामुदायिक विद्यालयको प्रारम्भिक कक्षालाई बलियो बनाउन रातो बंगला  स्कूलले गरेको कामको उपप्रमुख बज्राचार्यले प्रशंसा गरिन् । 
रातो  बंगला  साझेदारी कार्यक्रमले हरेक विद्यालयलाई काठको ब्लक्स् सेट, काठको ब्लक्स राख्ने दराज खेल तथा संगीत सामग्रीहरू, स्टेसनरी सामग्री प्रदान गरेको थियो । 

lmc1692022235.jpg
बीस वर्षदेखि निरन्तर चलिरहेको यो कार्यक्रमको मुख्य उद्देश्य शिक्षकलाई तालिम दिनु र कक्षाकोठालाई व्यवस्थित बनाउनु हो । यो कार्यक्रमको पहिलो चरणअन्तर्गत म्याग्दी, धादिङ, ललितपुर, दैलेख, मकवानपुरका ५० सामुदायिक विद्यालयको प्राथमिक तहका शिक्षकहरूलाई तालिम दिइएको थियो । दोस्रो चरणअन्तर्गत दैलेखको पाँच सय १३ विद्यालयका प्राथमिक तह पढाउने शिक्षकलाई तालिम दिइएको थियो । तेस्रो चरणअन्तर्गत ललितपुर महानगरपालिका सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको हो । तेस्रो चरणमा इसीडी शिक्षकलाई तालिम दिइएको रातो बंगला साझेदारी कार्यक्रम संयोजक अर्चना जोशीले जानकारी दिइन् । तेस्रो चरणअन्तर्गतको तालिममा २९ वटा विद्यालयका इसीडी शिक्षकले तालिम लिएका छन् । 
रातो बंगला  स्कुलकी अध्यक्ष डा.शान्ता दीक्षितले तालिमका सहभागी शिक्षकहरूलाई तालिममा सिकेका कुरा आफ्नो विद्यालयमा लागू गर्न अनुरोध गरिन् । 
ललितपुर महानगर शिक्षा महाशाखा प्रमुख महेन्द्र क्षेत्रीले महानगरभित्रका इसीडी कक्षाका शिक्षकहरू यो तालिमबाट लाभान्वित भएको बताए । 
ललितपुर महानगर शिक्षा अधिकृत नवराज रिजालले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न यो तालिम उपयोगी भएको प्रष्ट पारे । 
रातो बंगला साझेदारी कार्यक्रमकी संयोजक अर्चना जोशीले महानगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि महानगरसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरिन् । उनले यो कार्यक्रम अन्तर्गत विभिन्न चरणमा देशका विभिन्न जिल्लाका सामुदायिक विद्यालयसँग काम गर्दाको फरक फरक अनुभव संगालेको प्रष्ट पारिन् । 
कार्यक्रममा ११ विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, रातो  बंगला  साझेदारी कार्यक्रम र रातो बंगला  फाउन्डेसनका सदस्यहरू र प्रारम्भिक बाल शिक्षा विज्ञ कल्पना पराजुलीको पनि उपस्थिति थियो ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार