संघीय शिक्षा ऐनको व्यवस्थाप्रति सामुदायिक विद्यालय व्यवस्थापन महासंघको आपत्ति 

शनिबार, साउन २७, २०८०

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सरकारले ल्याउने तयारी गरेको संघीय शिक्षा ऐनको व्यवस्थाप्रति आपत्ति जनाएको छ । काठमाडौैंमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले सरकारले ल्याउने तयारी गरेको संघीय शिक्षा ऐनमा आफ्ना विभिन्न मागहरू समेटिनुपर्ने बताएको छ । 
महासंघले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सम्बन्धमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विधेयकको मस्यौदाका बारेमा फरक–फरक धारणाहरू सार्वजनिक भइरहेको भन्दै बास्तविकता सरकारले नै बाहिर ल्याउनुपर्ने माग गरेको छ । 
महासंघले सरकारले औपचारिक रूपमा विधेयकको मस्यौदा सार्वजनिक नगरेतापनि सरकारको आधिकारिक छाप र दस्तखत भएको दस्तावेज बाहिर आएको र मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको भनिएको उक्त विधेयक संसदमा दर्ता नगरी मनोमानीपूर्ण फेरबदल गरिराखेको भन्ने समाचारसमेत सार्वजनिक भएको दाबी गरेको छ ।
विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक सरोकारवालासँग छलफल र परामर्शबिना नै तयार गरेको विधेयक मस्यौदालाई अध्ययन गर्दा विद्यालय व्यवस्थापन समितिसम्बन्धी व्यवस्था त्रूटिपूर्ण रहेको, विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावकको कुनैपनि सहभागिता, संलग्नता र भूमिका नरहनेगरि विधेयक मस्यौदा तयार भएको बुझिएको महासंघले दाबी गरेको छ ।
महासंघद्धार जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘विधेयकको व्यवस्थाप्रति देशभरिको २८ हजार सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको राष्ट्रिय छाता संगठन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने विधेयकको उक्त व्यवस्थाबाट सामुदायिक विद्यालयको मर्ममाथि प्रहार भएको, विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावक तथा समुदायको सहभागीताको अधिकारमाथि हस्तक्षेप भएको, सामुदायिक विद्यालय अभिभावक, समुदायको हातबाट खोसिएको र समग्र सार्वजनिक शिक्षा प्रणालीलाई नै कमजोर बनाउने निष्कर्षमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल पुगेको छ ।’
समुदायको श्रम, समुदायको स्रोत र समुदायको अगुवाइमा स्थापना भएका नेपालका सबै सामुदायिक विद्यालयहरुको स्वामित्व अभिभावकमा निहित छ र हुनुपर्ने माग महासंघले गरेको छ। ‘आफ्ना बालबालिका पठनपाठन गर्ने विद्यालय कसरी चल्छ? र कसले चलाउँछ? भन्ने अभिभावकको चासो स्वभाविक हो । आफ्ना भविस्यसँग प्रत्यक्ष र अप्रत्यक्ष सरोकार राख्ने विषयमा अभिभावक सहभागिता र संलग्नताको विषय प्राकृतिक न्यायको विषय हो। त्यसैले विद्यालय सञ्चालन र व्यवस्थापनमा समुदायको स्वामित्व र अभिभावकको नेतृत्व स्थापित गर्ने, स्थानीय सरकारले निगरानी तथा सहयोग गर्ने र प्रदेश एवं संघिय सरकारले नीति तथा बजेट व्यवस्था गर्ने गरी तपशिल अनुसारको व्यवस्थासहित संघीय शिक्षा ऐन तत्काल जारी गर्नका लागि सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल जोडदार माग गर्दछ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महासंघका सचिव काशिनाथ दंगालले ५२ वर्षपछि सरकारले ल्याउने तयारी गरेको संघीय शिक्षा ऐनमा बाहिर आएको हल्ला सत्य हो भने त्यसले सामुदायिक विद्यालयका साथै समग्र शिक्षा क्षेत्रमापनि के कस्तो असर गर्ने हो त्यसको विश्लेषण हुनुपर्ने बताए । 
उनले सामुदायिक विद्यालयको हकमा स्थानीय तहको वडाध्यक्षलाई नै त्यस विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनाउने भन्ने बजारमा हल्ला चलेको र त्यो सत्य हो भने राजनीति नगर्ने नाममा फेरि सरकारले अर्को राजनीति गर्न खोजेको दाबी गरे ।
कार्यक्रममा महासंघ नेपालका अध्यक्ष गुणराज मुक्तान, संस्थापक अध्यक्ष कृष्ण थापा, उपाध्यक्ष भाग्यश्वरी लामा, महासचिव दुर्गानन्द ठाकुर, सचिव काशिनाथ दंगाल, सचिव तेजबहादुर गुरूङ, कोषाध्यक्ष सरस्वती राइ र शिक्षा अभियन्ता राजकुमार थापालगायतको उपस्थिति रहेको थियो ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका मागहरू :
१. समुदायको स्वामित्व र अगुवाइमा सञ्चालन हुने विद्यालय सामुदायिक विद्यालय हो संघीय शिक्षा ऐनमा सामुदायिक विद्यालय लेखियोस् ।
२. विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा अभिभावक हुनुपर्छ र अभिभावक भेलामार्फत विद्यालय व्यवस्थापन समिति गठनको प्रबन्ध राखियोस् ।
३. जनप्रतिनिधि र प्रधानाध्यापकको जस्तै विद्यालय व्यवस्थापन समितिको पदावधी पाँच वर्ष कायम गरियोस् ।
४. खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णायक सहभागिता रहने व्यवस्था गरियोस् ।
५. सामुदायिक विद्यालय सञ्चालन, व्यवस्थापन र सुधारमा स्वयंसेवी रुपमा क्रियाशिल विद्यालय व्यवस्थापन समितिहरुको राष्ट्रिय छाता संगठन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको भूमिकालाई संघिय शिक्षा ऐनमा व्यवस्था गरियोस् ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार