एसईईको नतिजा सार्वजनिक 

बिहीबार, असार २१, २०८०

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा बिहीवार दिउँसो सार्वजनिक गरेको छ । पौने पाँच लाखभन्दा बढी विद्यार्थी यस पटकको परीक्षामा सहभागी भएका थिए । गत वर्षभन्दा यस पटकको नतिजा धेरै हिसाबले राम्रो रहेको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन् । उनका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या २२ हजार ४७५ रहेको छ । त्यसैगरी ३.२० जीपीएदेखि ३.६० ल्याउने विद्यार्थीको सङ्ख्या ५५ हजारभन्दा बढी छ । बोर्डका अनुसार २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या पनि अघिल्लो वर्षको तुलनामा केही बढेको छ । यो वर्ष ७२ हजारभन्दा बढी विद्यार्थीले उक्त ग्रेड ल्याएका छन् । त्यसैगरी २.४ देखी २.८ ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या ८९ हजारभन्दा केही बढी र २ देख‍ि २।४ ग्रेड ल्याउनेको सङ्ख्या १ लाख २ हजारभन्दा बढी रहेको छ । परीक्षाफल सार्वजनिक भइरहँदा कतिपय विज्ञले केन्द्रीय निकायले कक्षा १० को परीक्षा लिने प्रणाली परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् । अहिलेको संविधानले विद्यालय शिक्षा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिएकाले सोही अनुसार परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने उनीहरूको मत छ ।

यसपालि नतिजा कस्तो ?

  • ३.६ देखि ४ जीपीए ल्याउने २२,४७५ (४.६३ प्रतिशत)
  • ३.२ देखि ३.६ जीपीए ल्याउने ५५,०६९ (११.३६ प्रतिशत)
  • २.८ देखि ३.२ जीपीए ल्याउने ७२,३६२ (१४.९२ प्रतिशत)
  • २.४ देखि २.८ जीपीए ल्याउने ८९,३३१ (१८.४२ प्रतिशत)
  • २ देखि २.४ जीपीए ल्याउने १,०२,२९३ (२१.०९ प्रतिशत)
  • १.६ देखि २ जीपीए ल्याउने ८८,४८७ (१८.२४ प्रतिशत)
  • १.२ देखि १.६ जीपीए ल्याउने ३८,७७० (७.९९ प्रतिशत)
  • ०.८ देखि १.२ जीपीए ल्याउने २,२०० (०.४५ प्रतिशत)

कसरी हेर्ने नतिजा
परीक्षा नियन्त्रण कार्यालयले कक्षा दशको परीक्षा विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन मिल्ने जनाएको छ ।
नेपाल टेलिकमको सर्टकोड १६०० मार्फत् एसएमएस र आईभीआर प्रयोग गरी परिणामबारे जान्न सकिने उसले जनाएको छ ।

परीक्षा बोर्ड 
त्यसबाहेक अन्य विभिन्न चार प्रदायकका नम्बरमा एसएमएस गरेर र एक दर्जन‍भन्दा बढी वेबसाइटबाट पनि परीक्षाफल जान्न सकिनेछ ।

परीक्षाफल प्रकाशन हुने केही वेबसाइटहरू निम्न रहेका छन् ?

  • www.see.gov.np
  • www.neb.gov.np
  • www.see.ntc.net.np
  • www.see.edusanjal.com
  • www.ekantipur.com


सुधारको माग

विद्यालय शिक्षाका जानकारहरूले संविधानको मर्म र अक्षरको पालना गर्दै एसईई परीक्षाको अहिलेको व्यवस्था फेरिनुपर्ने र विद्यालयहरूलाई नै कक्षा १० को परीक्षा लिन लगाउनुपर्ने बताएका छन् ।  शिक्षाविद् विद्यानाथ कोइरालाले नयाँ संविधान आएपछि कानुन बनाउँदा छल गरिएका कारण एसईई परीक्षा दिनुपर्ने अवस्था रहेको बताए । उनले भने, “यसलाई बन्द गर्नुपर्ने हो भनेर मैले भन्दै आएको छु। तर कानुन बनाउँदा १२ कक्षासम्म प्रदेशले हेर्ने व्यवस्था राखिएछ। न प्रदेश सरकारलाई जिम्मा दिए, न स्कुललाई जिम्मा दिए बरु केन्द्रले आफैँ गरिरहेको छ। यसको बाधक म पैसा देख्छु किनभने प्रतिविद्यार्थी परीक्षा शुल्क भनेर ५०० रुपैयाँ पाइने रहेछ।”
अहिलेको जारी व्यवस्थाले संविधान र कानुनको व्यवस्था र निस्शुल्क विद्यालय शिक्षा उपलब्ध गराउने सङ्कल्पलाई पनि बेवास्ता गरेको उनको भनाइ छ । 
शिक्षाकर्मी टीका भट्टराई पनि अब १० कक्षाको परीक्षा गर्ने झन्झट केन्द्र सरकारले गरिरहन नहुने ठान्छन् ।
उनले भने, “हामीले १२ कक्षालाई विद्यालय तह भनिसकेपछि अब यत्रो तामझाम गरिरहनुको अर्थ नै छैन। कक्षा १० को परीक्षा गराउने जिम्मेवारी पनि स्थानीय तहलाई नै दिनुपर्छ ।” उनले प्रशासन संयन्त्रले स्थानीय तहमा गएर परीक्षा सञ्चालन गर्न स्थानीय सरकारलाई सघाउनुपर्ने जिकिर गरे । शिक्षकहरूको आड लिएर अहिलेसम्म प्रशासन संयन्त्रले १० कक्षाको परीक्षा केन्द्रले नै लिनुपर्ने अवस्था बनाएको उनले उल्लेख गरे । एसईईमा किशोर किशोरीसँगै केही सङ्ख्यामा प्रौढहरू समेत सहभागी छन् ।  

अबको बाटो के हुनसक्छ
यस वर्षको परीक्षामा ४ लाख ८५ हजारभन्दा बढी विद्यार्थी सहभागी थिए । यस पटक जापानको राजधानी टोक्योबाट समेत १४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । देशभित्रका २ हजारभन्दा बढी परीक्षा केन्द्रमार्फत् गत चैतमा परीक्षा भएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस पटक पुरानै पद्धति अनुसार ग्रेडिङ गरेर परीक्षाफल प्रकाशित गर्न लागिएको बीबीसीलाई यसै साता बताएका थिए । उनले भने, “अहिलेको पाठ्यक्रमअन्तर्गत यो अन्तिम वर्षको पढाइ हो। अर्को वर्ष हामी नयाँ पाठ्यक्रम ल्याउँदैछौँ। त्यो बेलामा ग्रेडिङ प्रणालीमा पनि परिवर्तन हुनेछ।”
शिक्षाविद् विद्यानाथ कोइराला जस्ता विज्ञहरू पाठ्यक्रम परिवर्तन वा ग्रेडिङ विधिमा फेरबदल गरेर विद्यालय शिक्षामा देखिएका समस्या हल नहुने ठान्छन् । कोइरालाले भने, “पाठ्यक्रम र ग्रेड बदल्ने कुरालाई मैले सकारात्मक रूपमा देखेको छैन। मैले परीक्षालाई स्तरीकृत गरेर त्यो उमेरका स्कुले विद्यार्थीको विज्ञान, गणित वा अन्य विषयको क्षमता कति हो भनेर आधारभूत अध्ययन गरौँ र विद्यार्थी, शिक्षक वा अभिभावकहरू सबैबाट त्यसलाई मापन गराउनुपर्ने सुझाव दिएको छु।” त्यस्तो गर्दा १० कक्षाको परीक्षा भनेर सरकारले लिनुपर्ने अवस्था नआउने उल्लेख गर्दै विद्यार्थी स्वयंले पनि आफ्नो दक्षता बुझ्न सक्ने उनी बताउँछन् । हालको ग्रेडिङ प्रणालीमा तल्लो ग्रेड ल्याउने कैयौँ विद्यार्थीलाई उनीहरूले रोजेर विषयहरू पढ्न बन्देज लगाइएको छ । कोइरालाका विचारमा त्यो पूर्णतः गलत छ र त्यसलाई हटाइनुपर्छ ।
उनले भने, “स्तरीकृत परीक्षा हो भने त्यसले अङ्कलाई आधार मान्न सक्छ जसरी पश्चिमी दुनियाँमा टोफेल, जीआरई परीक्षालाई मानक मानिएको छ। नत्र जुन विषय पढ्न मन लाग्छ पढ, तर त्यसका लागि आवश्यक यो विषयको अध्ययन गर भन्ने बाटो दिनुपर्छ भन्ने मलाई लाग्छ। पढ्न सक्ने रहेनछ भने गरिखाने के सिप छ त्यो दिनुपर्छ ।”

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार