ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध 

चिरीबाबुले भने, ‘मित लाएपछि दुख सुख साट्छौं’
बुधबार, असार २०, २०८०

ललितपुर ।  ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।  भगिनी सम्बन्ध कायम गर्ने सम्बन्धी समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र मालिका गाउँपलिका गुल्मीका अध्यक्ष देवीराम अर्यालले हस्ताक्षर गरे । 
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बन्ध गाँस्नु भनेको दुखसुख आदानप्रदान गर्नु भएको बताए । उनले भने, ‘हामी मित हौंं, दुःख सुख साट्छौं, सहयोग गर्छौ।’ उनले मितेरी सम्बन्धमा रहेका दुई पालिकामा भएका असल अभ्यास  आदानप्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले भगिनी सम्बन्धमा गाँसिएको मालिका गाउँपालिकालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘ललितपुरको एउटा फल्चा त्यहाँ बनाउँला ।’

358140351_945447780078821_8372605655587792195_n1688561156.jpg
ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले भागिनी सम्बन्ध गाँस्नु राम्रो भएको बताउँदै भगिनी सम्बन्धले पालिकाहरूबीच सौहार्दता कायम हुने  विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘भगिनी सम्बन्ध गाँस्नु ठूलो कुरा होइन ,सम्बन्धको प्रगाढता हुनु महत्वपूर्ण हो ।’ यो सम्बन्धलाई थप प्रगाढ बनाउन सीप, संस्कार र उत्पादन आदानप्रदान गर्नुपर्ने उनले बताइन् । उनले भनिन्, ‘यो काम गर्न सक्यौं भने हाम्रो सम्बन्ध दिगो हुन्छ , प्रगाढ हुन्छ ।’
मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले कला, संस्कृति र सम्पदाको सहर
ललितपुर महानगरसँग दुरदराजको गाउँपालिकाले भगिनी सम्बन्ध गाँस्न पाउनु गौरवको कुरा भएको बताए । यो सम्बन्धले मालिका गाउँपालिका लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले भने, ‘ललितपुर महानगर हाम्रो लागि खुल्ला विश्वविद्यालय हुनेछ, हामी असल अभ्यास सिक्नेछौं ।’ ललितपुर महानगर मालिका गाउँपालिकाको लागि असल अभिभावक भएको बताए । 
ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले अप्ठ्यारोमा परेका अन्य पालिकालाई पनि महानगरले सहयोग गरेको बताए । महानगरले विकट गल्मी जिल्लामा रहेको मालिका गाउँपालिकालाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
पूर्वसचिव भीम उपाध्यायले कला र संस्कृतिको सहरले विकट जिल्ला गुल्मीको मालिका गाउँपालिकासँग भगिनी सम्बन्ध गाँस्नु महत्वपूर्ण भएको धारणा व्यक्त गरे । 
भगिनी सम्बन्ध स्थापित गर्ने समारोहमा ललितपुर महानगरपालिका वडा अध्यक्ष मालिका गाउँपालिकाका वडाअध्यक्षहरुको उपस्थिति थियो । 

358409620_581497204157747_1305314226892534762_n1688561170.jpg

 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार