काठमाडौं । राष्ट्रिय ललितकला प्रदर्शनी अवलोकनका लागि उल्लेख्य मात्रामा सहभागी आउने क्रम जारी छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’का अनुसार दिनहुँ दुई हजार जना कला पारखीले अवलोक गर्न आउने गरेका छन् । विद्यार्थी, लेखक, पत्रकारसहितका व्यक्तित्वहरुले दिनहुँ भ्रमण गर्ने क्रम जारी रहँदा आफूहरु उत्साहित भएको सदस्य सचिव थुम्केलीले बताए ।

प्रदर्शनीका सन्दर्भमा शुक्रबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउण्डेसनद्वारा संयुक्त रुपमा Materiality and Mobilities in Contemporary Art विषयक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा अमेरिकी एसोसिएट प्रोफेसर डा। सारा म्यानाटाले विभिन्न कलाकारको कलालाई प्रतिनिधित्व गर्दै तिनको वर्णन गर्दै प्रस्तुति दिएकी थिइन् ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, चित्रकला विभाग प्रमुख संजय वान्तवा, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, प्राज्ञसभा सदस्य महेन्द्र सुनार लगायतको उपस्थिति थियो ।
प्रस्तुतिका क्रममा डा। साराले समकालीन कलामा भौतिकता र गतिशीलताको बारेमा चर्चा गरिन् ।
उनले विभिन्न कलाकारको कार्यहरूमा बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्दै उनीहरूको सिर्जनामा प्रयोग गरिएका सामग्रीलाई कसरी कुशलतापूर्वक व्यक्तिगत र प्रतीकात्मक रुपमा अनुभवहरू व्यक्त गर्न र तिनीहरूको कलाकृतिमार्फत तिनीहरूको अद्वितीय कथाहरू बताउन प्रयोग गर्दछन् भनेर बताइन् । उनले एक कलाकारले प्रतिस्थापन कलाको वर्णन गर्दै त्यस कलाकारले उनकी आमाको साडी समावेश गरेर आफ्नो सांस्कृतिक सम्पदालाई मात्र नभई व्यक्तिगत कथा र सम्झनाले कलाकृतिलाई समाहित गरेको अवधारणालाई उदाहरण दिइन् ।
उनले भनिन्, ‘साडीको कपडाको तरलता र चाल कलाकारको आफ्नै यात्राको रूपक बनेको छ, जसले उनको अनुभव र भावनाको प्रवाहलाई प्रतिबिम्बित गर्दछ ।’
उनले भनिन्, ‘म कलाकृतिको व्याख्यालाई प्रदर्शनी सेटिङको सीमाभन्दा बाहिर विस्तार गर्दै यसमा ऐतिहासिक, सांस्कृतिक वा सामाजिक सन्दर्भहरू समावेश गर्नुका साथै दर्शकलाई अन्तरक्रियात्मक अनुभवहरूमा संलग्न गराउने र कलात्मक अनुभवलाई समृद्ध बनाउने र टुक्राहरूसँग अझ गहिरो संलग्नता बढाउने प्रयास गर्दछु ।’ उनले भन्नुभयो, ‘कलाकारले कलामा प्रयोग गर्ने सामग्रीको छनोटले उनीहरूको व्यक्तिगत कथालाई मूर्तरूप दिन्छ र उनीहरूको रचनात्मक अभिव्यक्तिहरूमा अर्थको तहहरू थप्छ ।’

उनको प्रस्तुति सकिएपछि प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले थुम्केलीले उनलाई मायाको चिनो प्रदान गरेका थिए । प्रदिप शाक्यले सहजीकरण गरेको कार्यक्रममा संगीता थापाले कलामा आएको परिवर्तन र सामाजिक मूल्यलाई कलाकारले संबोधन गर्दै अगाडि बढेको विचार व्यक्त गरिन् ।

गत सोमबारदेखि राजधानीमा राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ सुरु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले उद्घाटन गरेको प्रदर्शनीमा ६०९ कलाकारका ६९५ कलाकृति राखिएको छ ।
यस वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५३ कलाकारका ७५५ कलाकृतिमध्येबाट यी कलाकृतिको छनोट गरिएको हो । जसअन्तर्गत आधुनिक चित्रकला विधामा २३४ जना कलाकारका २६९ कलाकृति, परम्परागत चित्रकला विधामा १३० जना कलाकारका १३६ कलाकृति, आधुनिक मूर्तिकला विधामा ४२ जना कलाकारका ४६ कलाकृति, परम्परागत मूर्तिकला विधामा ३१ जना कलाकारका ३९ कलाकृति, हस्तकला विधामा ६३ जना कलाकारका ८५ कलाकृति, लोककला विधामा ४२ जना कलाकारका ४७ कलाकृति, वास्तु तथा अन्य सिर्जनात्मक कला अन्तर्गत फोटोग्राफी विधामा १६ जना कलाकार २१ कलाकृति, प्रतिस्थापन कला विधामा १२ जना कलाकारका १२ कलाकृति, कार्टुन विधामा १७ जना कलाकारका १७ कलाकृति, भावभङ्गी विधामा १२ जना कलाकारका १२ कलाकृति,क्यारिकेचर विधामा ४ जना कलाकारका ४ कलाकृति र डिजिटल विधामा ६ जना कलाकारका ७ कलाकृति रहेका छन् । यी कलाकृतिहरुमध्ये लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद्,बबरमहल तथा आधुनिक चित्रकला, वास्तु तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका कलाकृतिहरु नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा राखिएको छ । प्रदर्शनीको क्युरेटिङ प्राज्ञसभा सदस्य प्रदिप शाक्यले गरेका हुन् ।
‘म, मेरो देश र मेरो सिर्जना’ थिम अनुसार गरिएको प्रदर्शनीमा ‘म’ भन्नाले मेरो बोली, ज्ञान, आत्मासँग सम्बन्धित ललितकला हुन्छ भने ‘मेरो देश’ भन्नाले राष्ट्रलाई चिनाउने कला भन्ने बुझिन्छ । यसैगरी ‘मेरो सिर्जना’ भन्नाले मभित्र भएको सिर्जनसिलता प्रस्तुत गर्ने कला भन्ने बुझिन्छ ।’
कार्यक्रमको उद्घाटन सत्रमा यसवर्षको अरनिको राष्ट्रिय ललितकला सम्मान क्रमशः मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरिएको थियो । यसको राशी जनही १ लाख र ताम्रपत्र रहेको छ । राष्ट्रिय ललितकला लेखन पुरस्कार तथा राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः नगेन्द्रप्रसाद पौड्याल र नारायण प्रसाद ढुंगानालाई प्रदान गरियो । यसको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला प्रवद्र्धन सम्मान संगीता थापालाई प्रदान गरियो भने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सद्भावनादूतको रुपमा अनिल चित्रकारलाई सम्मान गरियो ।

सासामयिक चित्रकला विधामा यसवर्षको राष्ट्रिय ललितकला पुरस्कार उद्धवराज रिमाललाई प्रदान गरियो । यस पुरस्कारको राशी ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार रिता मानन्धर, टीशा श्रेष्ठ र रोशन प्रधानलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा रमेश कुँवर, टिकाराम राई र संगीता घिमिरे रहनुभएको थियो भने मूल्यांकन समितिमा मदन चित्रकार, रतनकुमार राई र एरिना ताम्राकार रहेकी थिइन् ।
परम्परागत चित्रकला विधामा यसवर्षको राष्ट्रिय ललितकला पुरस्कार राज प्रकाशमान तुलाधरलाई प्रदान गरियो । यस पुरस्कारको राशी ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार रवीन्द्र महर्जन र तारामान भोम्जनलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा बुद्ध योञ्जन लामा, रामप्रकाश श्रेष्ठ र उजय बज्राचार्य रहेका थिए भने मूल्यांकन समितिमा मानबहादुर दोङ, उदयचरण श्रेष्ठ र रत्नगोपाल सिंख्वाल रहेका थिए ।

वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा यसवर्ष राष्ट्रिय ललितकला पुरस्कार प्रतिस्थापन कलाबाट विनय रिमाललाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार क्यारिकेचरबाट सुश्रिना शाक्य, भावभङ्गी कलाबाट सुशान्तश्री राजभण्डारी, कार्टुनबाट राजेश मानन्धर तथा फोटोग्राफीबाट सफल प्रकाश श्रेष्ठलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा अशोकमान सिं, सम्झना राजभण्डारी, सागर मानन्धर, विकास कार्की रहेका थिए भने मूल्यांकन समितिमा हरिवंश किराँत, कुमार आले, मनिषलाल श्रेष्ठ र अविन श्रेष्ठ थिए ।

हस्तकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार ज्ञानीराज बज्राचार्यलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार शेखमान महर्जन र सुमित्रा भुजेललाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा उपेन्द्र बाराही, उसिना महर्जन र दिपेन्द्र शाक्य रहेका थिए भने मूल्यांकन समितिमा रुद्रबहादुर बराइली, निलम ताम्राकार र धर्मराज शाक्य थिए ।

लोककला विधामा यसवर्ष राष्ट्रिय ललितकला पुरस्कार नम्रता सिंहलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार राजु चित्रकार र ज्योति कुमारी सापकोटा कर्णलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा सरितादेवी मण्डल, कृष्णराज सर्वहारी र सुष्मा शाक्य रहेकी थिइन भने मूल्यांकन समितिमा डा. गोपाल ठाकुर, सुबोधचन्द्र दास र मेरिना चित्रकार थिइन् ।
परम्परागत मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार जेरोम महर्जनलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार विष्णुप्रसाद लिवी र अनिल शाक्यलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा राकेश अवाले, उत्तम शाक्य र रामभक्त महर्जन रहेका थिए भने मूल्यांकन समितिमा सिंहराज तुलाधार, चन्द्रश्याम डंगोल र सिद्धिरत्न शाक्य थिए ।

समसामयिक मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार रिसिता खत्रीलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार टिकाराम पौडेल (शशि किरण) र मिना कायस्थलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा भुवन थापा बहुवी, पूर्णकाजी शाक्य र सुनिता राणा रहेकी थिइन भने मूल्यांकन समितिमा गोपाल कलाप्रेमी, पुष्पा शेरचन र राजु पिठाकोटे थिए ।
‘म, मेरो देश र मेरो सिर्जना’ थिममा हुने यस वर्षको कला प्रदर्शनीको लोगो निर्माण गर्नुहुने कलाकार प्रा. राधेश्याम मूल्मीलाई ताम्रपत्रबाट सम्मान गरियो । पुरस्कृतमध्ये राष्ट्रिय ललितकला पुरस्कार पाउनुहुने कलाकारलाई जनही ५० हजार विद्वतवृत्ति प्रदान गरिएको छ ।

यस वर्षको ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट सुमन राई, मधेश प्रदेशबाट श्वेता साह, बागमती प्रदेशबाट वाङ्छु मोक्तान (आरके), गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, लुम्बिनी प्रदेशबाट रम्बा चौधरी, कर्णाली प्रदेशबाट सोनम लामा तथा सुदूरपश्चिम प्रदेशबाट चक्रबहादुर थापालाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । त्यस्तै, कार्यक्रममा प्रतिष्ठानमा उत्कृष्ट कर्मचारीको सम्मान सविना पोखरेल र सुरेन्द्र गौतमलाई प्रदान गरियो ।
प्रदर्शनीको उद्घाटनका दिन नेपाल आर्ट काउन्सिलमा विशाल भट्टराईको धु्रपद गायन र निमेश कपालीको ताल सङ्गत प्रस्तुतिमा ‘धु्रवपदः रागालाप’ सांगीतिक कार्यक्रम समेत राखिएको थियो ।
समापनका दिन प्रदर्शनीको बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने ५ जना पत्रकारलाई रु ५ हजार र सम्मान पत्र प्रदान गरिनेछ । त्यस्तै, बिएफए, एमएफए, एमफिल, पिएचडीमा अध्ययनरत् विद्यार्थीमध्ये प्रदर्शनीको समीक्षा लेख्नेहरुबाट पहिलो, दोस्रो, तेस्रो र विशेष गरी ४ लाई समेत पुरस्कृत गरिनेछ ।