पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन

शनिबार, जेठ १३, २०८०

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा रहेको जलहरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन अनुसन्धान भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उक्त विषयमा सरकारको धारणा राख्दै उनले आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने बताए । छानबिनमा सरकारको सहयोग रहने उनको भनाइ छ ।
“कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सदनमा व्यक्त विचार हुनु उचित होइन, यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन पनि रहेको छ”, प्रधानमन्त्री प्रचण्डले भने ।
जलहरीलगायत क्षेत्रमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोष भएकाले सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद नरहेको उनको भनाइ छ ।
बैठकमा सभामुख देवराज घिमिरेले यही जेठ १० गते नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद लेखनाथ दाहालले प्रयोग गरेको विचारभित्र ‘स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरू’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन दिए ।

जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रस्ट्याउने

यसअघि प्रमुख तीन दलबीच पशुपतिमा राखिएको सुनको जलहरीका सम्बन्धमा सरकारका तर्फबाट सदनलाई प्रस्ट पार्ने सहमति भएको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज शीर्षनेताबीच भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सम्बोधनका क्रममा पशुपतिमा राखिएको सुनको जलहरीका विषयमा प्रस्ट पार्ने सहमति भएको हो ।
जलहरीका सम्बन्धमा संसद्मा प्रकट भएको अभिव्यक्तिलाई संसद्को ‘रेकर्ड’बाट हटाउने सहमति भएको बैठकपछि नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक गिरी सहभागी थिए ।

 

 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २१:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार