मूर्ति गुठी संस्थान नलगेसम्म प्रसाद नलैजाने ३२ पानेजुको अडान

मूर्ति व्यवस्थापनका लागि भोलिसम्मको समय
बुधबार, जेठ ३, २०८०

ललितपुर । कीर्तिपुर प्यंगःथामा स्थापित रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति  व्यवस्थापन नगरेसम्म ह्यागृब भैरबनाथ तथा ३२ पानेजु संघ ललितपुरले कीर्तिपुरमा प्रसाद नलैजाने अडान कायमै राखेको छ । ललितपुर महानगरले विवाद मिलाउन आयोजना गरेको सरोकारवालाहरुको बैठकमा पानेजु संघले यस्तो अडान राखेको हो । रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति गुठी संस्थानमा नलेगसम्म मच्छिन्द्रनाथको प्रसाद बोकेर कीर्तिपुर नजाने अडान पानेजु संघले राखेपछि झण्डै ८ घण्टासम्म चलेको छलफल विना निष्कर्ष टुंगिएको छ ।
पानेजु संघले मूर्ति व्यवस्थापनका लागि कीर्तिपुर नगरपालिकालाई जेठ ४ सम्मको समयावधि दिएको छ । सुखी गँछेः समाजले गत १५ मंसिरमा प्यंगःथामा मूर्ति स्थापना गरेको थियो ।
बैठकमा कीर्तिपुर नगरपालिका र त्यहाँका स्थानीयले मूर्ति स्थापना भएको ठाउँबाट हटाइसकेको र बन्द कोठामा रहेको भन्दै प्रसाद ल्याएर परम्परा कायम राख्नुपर्ने बताएका थिए । मूर्ति अहिले कीर्तिपुर नगरपालिकामा राखिएको छ । तर, ३२ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले मूर्ति गुठी संस्थान, पुरातत्व विभाग वा राष्ट्रिय संग्रालयमा राख्न सकिने विकल्प दिएका थिए । तर, कीर्तिपुरले स्थापित भएको ठाउँबाट नगरपालिकाको बन्द कोठामा मूर्ति राखिसकेको भन्दै गूठी संस्थानमा लैजान नसकिने तर्क गरेको थियो । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले पानेजु संघका तर्फबाट यज्ञरत्न शाक्यले अन्तिम निर्णय सुनाएपछि भने,‘अलिकति फ्लेक्जिबल भइदिएको भए,सबैको उइन  हुन्थ्यो, जहाँको बन्द कोठामा राखेपछि तात्विक भिन्नता के हुन्थ्यो र, लाहाछाप लगाएरै राख्छौं भनेकै छौं ।’
कीर्तिपुरका मेयर राजकुमार नकर्मीले बुधबार कीर्तिपुरका अगुवा, विज्ञ लगायत सबैलाई भेला गरेर मूर्ति व्यवस्थापनका बारेमा निर्णय गर्ने बताएका थिए । ‘धार्मिक महत्व र ऐतिहासिकताको निरन्तरताका लागि पुरातत्व विभागको परिपत्र समेतका आधारमा कीर्तिपुरले प्यंगःथामा स्थापित मूर्तिहरु हटाइसकेको छ । महानगरले १६ सय वर्ष पुरानो मच्छिन्द्रनाथको जात्रामा ललितपुरबाट कीर्तिपुर प्रसाद लैजाने परम्परा कायम गर्न विवाद मिल्नुपर्ने भन्दै कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, कीर्तिपुरका स्थानीय एवम् ३२ पानेजुसंघका प्रतिनिधिसहितको संयुक्त बैठक बोलाइएको थियो । प्यंगःथामा सुखी गँछेः समाजले १५ मंसिर २०७९ रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति स्थापना गरेको थियो । यही विषयलाई लिएर ललितपुर र कीर्तिपुर शहरबीच विवाद हुँदै आएको छ ।
प्यंगःथामा स्थापित मूर्ति स्थापना गर्न काठमाडौं महानगरले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो

याकःमिसालाई राष्ट्रिय मान्यता
बैठकले याकःमिसाको धार्मिक महत्वलाई राष्ट्रिय मान्यता कायम गर्न कम्तीमा ५ हजार १ सय १ रुपैयाँको वार्षिक दरबन्दी कायम गर्नेगरी गुठी संस्थानले काम सुरु गर्ने निर्णय पनि भएको छ ।
कीर्तिपुरको लागि छुट्टै डोरी नहुने
रातो मच्छिन्द्रनाथको रथ तान्न कीर्तिपुरका लागि छुट्टै थप डोरी व्यवस्थापन नहुने भएको छ । रथ तान्न सरोकारवालाहरु सहभागी हुने र जावलाखेल जात्रा व्यवस्थापन समितिमा कीर्तिपुरबाट प्रतिनिधि समावेश गर्ने निर्णय भने बैठकले गरेको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार