नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिलेसम्म होला मुद्दा दर्ता

टोपबहादुर रायमाझीलाई हिरासतमा राख्न अनुमति
सोमबार, जेठ १, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको सिलसिलामा पक्राउ परेका भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थप तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले सोमवार नेपाल प्रहरीलाई अनुमति दिएको छ । पक्राउ परेको भोलिपल्ट प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको हो । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरेर उनलाई ूथप तीन दिनू हिरासतमा राखेर अनुसन्धान गर्न अदालतसमक्ष माग गरिएको थियो ।
मागबमोजिम रायमाझीलाई हिरासतमा राख्न अनुमति प्राप्त भएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख तथा सहन्यायाधिवक्ता अच्युतमणि नेउपानले बताएका छन् ।
उक्त प्रकरणमा नाम मुछिएका र अहिलेसम्म पक्राउ परेकामध्ये रायमाझी सबैभन्दा वरिष्ठ पदाधिकारी हुन् । आफूविरुद्ध पक्राउपुर्जी जारी भएपछि रायमाझी ११ दिन सम्म फरार थिए।
यसअघि नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्य १२ जनालाई आइतवार अदालतले अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

टोपबहादुर रायमाझी संसद्‌बाट निलम्बित हुन्छन् कि हुँदैनन् ?
उनलाई आइतवार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटमा एउटा घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर टेकुले रायमाझीलाई पक्राउ परेको जानकारी सोमवार नै संसद् सचिवालयलाई गराएको थियो र त्यसको केहीबेरमा जारी संसद्‍ बैठकलाई सभामुखले त्यसको जानकारी गराएका थिए ।
तर विद्यमान व्यवस्थाका आधारमा अनुसन्धान चलिरहेकाले त्यसले रायमाझीलाई ूस्वतः निलम्बनमा नपर्नेू संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।  
प्रहरी प्रधान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले “आजै रायमाझीलाई अदालतमा लगेर म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाउन लागिएको” जानकारी दिएका थिए।
आफूविरुद्ध पक्राउ पुर्जी जारी भए लगत्तैदेखि रायमाझी सम्पर्कविहीन बनेका थिए । यही मुद्दामा उनका छोरा सन्दीप रायमाझी पनि पक्राउ परिसकेका छन् ।

Balk1684062238.jpg

बहालवाला सांसदकालाई कस्तो छ नियमावलीमा व्यवस्था
प्रतिनिधिसभा नियमावली २०७९ को दफा २४८ (३) मा लेखिएको छ,
प्रचलित कानुन बमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभरि वा अदालतको आदेशबमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुने छ ।

को हुन् टोपबहादुर रायमाझी ?
टोपबहादुर रायमाझी अर्घाखाँचीबाट निर्वाचित पदासीन सांसद हुन् । विसं २०३० सालबाट राजनीति सुरु गरेका रायमाझी २०६४ देखि निरन्तर संसद्‌मा छन् ।
पहिला तीन पटक माओवादीबाट सांसद बनेका रायमाझी गत मङ्सिरमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए ।
नक्कली शरणार्थी प्रकरणमा विवादमा परेपछि नेकपा एमालेले उनलाई पार्टी सचिव पदबाट निलम्बन गरिसकेको छ ।

1648469582.jpg
सुरुमा एमालेले उनको बचाउ गर्न खोजेको भए पनि पार्टी सचिवालयको बैठकले पछि उनलाई प्रहरीसमक्ष उपस्थित भएर अनुसन्धान गर्न निर्देशन पनि दिएको थियो ।
माओवादी पार्टीमा हुँदा उनी नेता बाबुराम भट्टराईसँग निकट मानिन्थे । तर दोस्रो संविधानसभाबाट नेपालको नयाँ संविधान जारी भएपछि भट्टराईले पार्टी परित्याग गर्दा रायमाझी माओवादीमै बसे ।
रायमाझी द्वन्द्वकालमा तत्कालीन शाही सरकारसँग वार्ता गर्न माओवादीले गठन गरेको वार्ता टोलीमा सदस्य पनि थिए । उनले विभिन्न समयमा भौतिक योजना तथा निर्माण, स्थानीय विकास, शान्ति तथा पुनर्निर्माण र ऊर्जा मन्त्रालयको समेत नेतृत्व गरेका थिए ।
अठार ‍वर्ष भूमिगत राजनीति गरेको बताउने रायमाझी माओवादीको युवा सङ्गठन वाईसीएलका संस्थापक अध्यक्ष थिए ।

टोपबहादुर रायमाझीलाई कहाँ राखिएको छ ?
रायमाझीलाई सोह्रखुट्टेस्थित प्रहरी हिरासतमा राखिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले बताए । अहिलेसम्म यो मुद्दामा रायमाझीबाहेक १२ जनाविरुद्ध अनुसन्धान भइरहेको परिसरले जनाएको छ । अहिले अनुसन्धान भइरहेको मुद्दा ठगी र सङ्गठित अपराधसम्बन्धी रहेको परिसरका प्रवक्ता रिजालले बताए । त्यसबाहेक यो प्रकरणमा अरू कुनै मुद्दा पनि आकर्षित हुनसक्नेबारे आफूहरूले हेर्ने उनले बताए ।
यो साताको अन्तिमसम्ममा मुद्दा दर्ताको प्रक्रियाका लागि सरकारी वकिलको कार्यालय पठाउनेगरी काम भइरहेको उनले बताए । नक्कली भुटानी शरणार्थीसम्बन्धी यो बहुचर्चित प्रकरणमा पहिलो पटक गत चैत १२ गते प्रहरीले आरोपित दुई जनालाई पक्राउ गरेको थियो ।

कसरी हुँदै छ अनुसन्धान ?
अहिलेसम्म यो प्रकरणमा छ जनाले आफू पीडित भएको र आफूहरूलाई नक्कली भुटानी शरणार्थीका रूपमा अमेरिका पठाइदिने भन्दै २३ करोड रुपैयाँभन्दा बढी रकम उठाइएको विवरण प्रहरीलाई दिएको रिजालले बताए । सङ्गठित अपराधसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धानका लागि ६० दिनको म्याद पाउँछ ।
प्रहरी प्रधान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक खत्रीका अनुसार मुद्दा सुरु भएको ४९-५० दिन भइसकेकाले अब छिट्टै मुद्दा दर्ता हुने छ ।
“सङ्गठित अपराधको मुद्दामा ६० दिनअगाडि नै सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा मुद्दा पुर्‍याउनुपर्ने भएकाले अब पाँच-सात दिनमा हामीले सबै टुङ्ग्याएर अदालतमा लगिसक्छौँ,” खत्रीले भने ।
आरोपितहरू फरकफरक दिन र समयमा पक्राउ परेका भए पनि यो मुद्दामा अब १० दिनभित्र नै अनुसन्धान सकेर मुद्दा दर्ता हुनुपर्ने प्रवक्ता रिजाल बताउँछन् ।

saranarthi kanda1684066250.jpg

मुद्दामा अहिलेसम्म को-को पक्राउ परे ?
यसअघि यो मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्य ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
पूर्वमन्त्री रायमाझीलाई सोह्रखुट्टेमा राखिएको भए पनि खाणलाई भने टेकुस्थित प्रहरी हिरासतमै राखिएको प्रहरीले जनाएको छ ।
"सुरक्षालगायत कुरा हेरेर कसलाई कहाँ राख्ने हेरेर प्रहरीले राख्छ," प्रवक्ता रिजालले भने ।
पक्राउ पर्नेमा बहालवाला सचिव टेकनारायण पाण्डेसहित पूर्वगृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई, भूतपूर्व उपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ, सागर थुलुङ राई पनि छन् ।
शनिवारबाट लागु हुनेगरी आइतवार जिल्ला अदालत काठमाण्डूले खाणसहित अन्यविरुद्ध अनुसन्धान गर्नका लागि प्रहरीलाई चार दिनको म्याद थपेको छ ।
अहिले यो मुद्दामा अनुसन्धानका लागि नेपाल प्रहरीको अन्य एकाइको पनि सहायता लिइएको रिजालले बताए ।
“यो संवेदनशील विषय भएकोले उपत्यका प्रहरी कार्यालयले गरे पनि आवश्यकताअनुसार नेपाल प्रहरीको विभिन्न एकाइको विज्ञता यसमा जोडिएको छ,” उनले भने ।
अहिले अनुसन्धान जारी रहेका कारण कसरी अनुसन्धान भइरहेको बारे प्रहरीले विस्तृतमा भन्न नमिल्ने प्रहरी परिसर काठमाण्डूले जनाएको छ।

बालकृष्ण खाण को हुन् ?
बालकृष्ण खाण बारम्बार सत्ता र शक्तिमा रहेका नेताका रूपमा परिचित छन् । पञ्चायतकालमा कांग्रेसको विद्यार्थी राजनीति सुरु गरेका पूर्वगृहमन्त्री उनी सभापति देउवाका विश्वासपात्र मानिन्छन् ।
लुम्बिनी प्रदेशको रूपन्देहीका उनी विक्रम संवत् २०३३ सालबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन् ।
विसं २०४८ सालमा प्रतिनिधिसभाको सदस्य निर्वाचित भएका उनी पहिलो र दोस्रो दुवै संविधानसभामा सदस्य थिए ।
विसं २०४४ साल आसपास नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्ष बनेका उनले रक्षा, सिँचाइ तथा गृह मन्त्रायलको नेतृत्व गर्ने अवसर पाए।
गत संसदीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरासँग पराजित भएका उनी संविधान जारी भएपछि निर्वाचित भएको संसद्‌मा कांग्रेसका प्रमुख सचेतक रहेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म के-के भयो ?

    ३१ वैशाखः सम्पर्कविहीन रहेका भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

    ३१ वैशाख: पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप

    २७ वैशाख: पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ

    २७ वैशाख: भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनलाई सचिव पदबाट निलम्बन

    २० वैशाख: उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

    २० वैशाख: टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ

    १९ वैशाख: तात्कालिक उपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

    १२ चैत: यस प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ पक्राउ

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार