काठमाडौं महानगरको नि:शुल्क स्वास्थ्य सेवा

वडावासीको डिजिटल स्वास्थ्य प्रोफाइल बनाउँदै महानगर
सोमबार, जेठ १, २०८०

ललितपुर । काठमाडौं महानगरले वडा तहबाट महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरू गरेको छ । महानगरको स्वास्थ्य विभाग प्रमुख रामप्राद पौडेलले अहिले ८ वटा सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र चलाएर महानगरवासीलाई निःशुल्क उपचार गरिरहेको जानकारी दिए ।
‘पहिले ३२ वटै वडामा भएका स्वास्थ्य क्लिनिकमध्ये ६ वटाको स्तरोन्नति गरी प्रबद्र्धन केन्द्रमा रूपान्तरण गरेका छौं,’ उनले भने, ‘दुई साताअघि मात्रै वडा नम्बर ७, ८, १४ र २६ मा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र संचालन गरेका छौं । वडाहरुमा क्रमशः सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र सुरू गर्छौ ।’
महानगरका शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रबाट आधारभूत स्वास्थ्य सुविधा पाइन्छ ।
केन्द्रमा चोट पटक लागेको ठाउँमा ड्रेसिङ, नवजात तथा बालरोगको एकीकृत व्यवस्थापन र खोप सेवा, पोषण कार्यक्रम, सुरक्षित मातृत्व सेवा र सरकारले निशुल्क दिने औषधि दिइन्छ ।
केन्द्रले आफ्ना वडावासीको डिजिटल स्वास्थ्य प्रोफाइल बनाउने, जेष्ठ, , दीर्घ रोगी लगायतलाई घरमै पुगेर स्वास्थ्य सेवा पनि दिने गरेको उनले बताए ।

kathmandu-metro1670314667.jpg
केन्द्रमा परिवार नियोजनका विभिन्न साधनसँगै प्रजनन स्वास्थ्य परामर्श सेवा, दिसा पिसाब र रगत परीक्षण, भिडिओ एक्सरे र इसिजी सेवा प्रदान गर्ने गरेको प्रमुख पौडेलले बताए ।
‘बी स्तरको ल्याब टेस्टबाट हुने सम्पूर्ण जाँच हुन्छ । जसमा मुटु , कलेजो किड्नीका आधारभूत परीक्षण हुन्छ,’ उनले भने, ‘ केन्द्रमा उपचार गर्न सम्भव नहुने बिराम भए ठूला अस्पतालमा रिफर गरिन्छ ।’
महानगरले पहिलेदेखि नै वडा १९ र ३० मा  केन्द्रबाट सेवा सुविधा दिँदै आएको थियो ।  वडा नम्बर १९ को नमूना गुम्बामा रहेको केन्द्र महानगरकै पहिलो शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र हो ।
यो केन्द्र सञ्चालन भएको झन्डै डेढ वर्ष भयो । विसन्चो हुने बित्तिकै वडावासी केन्द्रमा आउँछन् । घर नजिकै लाइनमा नबसी सेवा पाइने हुँदा पनि धेरै मानिसहरूले स्वास्थ्य प्रबद्र्धन केन्द्रबाट सुविधा लिन्छन् ।
सुगर, प्रेसर लगायतका बिरामीहरू औषधि मात्रा बढाउने कि घटाउने हो भनेर सल्लाह लिन पनि आउने गर्छन् । अहिले हेरक महिना पाँच सय हाराहारीमा स्थानीयहरू आएर सेवा लिइरहेका छन् । रोग लागेको शंका लाग्ने बित्तिकै चिकित्सकसँगको परामर्शमा आउँदा रोगले ठूलो रुप लिने संभावना कम हुने चिकित्सकहरु बताउँछन् ।
महानगर १४ का वडाध्यक्ष सुमन श्रेष्ठका अनुसार वडाका मतदाताले मात्र नभई महानगरमा बस्ने जोकोहीले केन्द्रबाट सेवा  लिन सक्छन्।
पहिले नेपाल सरकारबाट निःशुल्क पाउने ९८ किसिमका सबै औषधि नपाउने समस्या भए पनि अब त्यो समस्या नहुने महानगरका स्वास्थ्य विभाग प्रमुख पौडेल बताउँछन् । ल्याब टेष्टको लागि भने न्यूनतम शुल्क लिने उनले बताए ।
‘पहिले ९८ किसिमका औषधि कतिपय ठाउँमा पाइने गरेको थियो भने कतिपयमा पाइँदैन थियो,’ उनले भने, ‘अब भने समयमा नै नागरिकले मागेको समयमा सबै ठाउँमा औषधि पाइने व्यवस्था गरेका छौं।’
महानगरका बाँकी सबै क्लिनिकलाई स्वास्थ प्रबद्र्धन केन्द्रमा रूपान्तरण गरिने प्रमुख पौडेलले बताए । जसका लागि अन्य ९ वटा वडामा केन्द्रका लागि पूर्वाधारको काम भइरहेको छ ।  
‘जेठ महिनाभित्र १५ वटा वडामा प्रबद्र्धन केन्द्र विस्तार गर्ने योजना अनुरूप काम गरिरहेका छौं,’ उनले भने ।
हरेक केन्द्रमा एक मेडिकल अफिसर, नर्स,  फिजियोथेरापिष्ट, ल्याब टेक्नोलोजिष्ट, रेडियोग्राफर, हेल्थ असिसस्टेन्स, फार्मासिस्ट लगायत जनशक्ति हुन्छ ।
महानगरले चालु आर्थिक वर्ष नै शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र लागि भने १४ करोड बजेट छुट्याएको थियो । सोही अनुसार अहिले काम भइरहेको पौडेलले बताए ।
यस्तै, महानगरको स्वास्थ्य बिमा कार्यक्रम पनि लागू गर्न काम भइरहेको छ । पाँच जनाको परिवारको लागि ३५०० रुपैयाँ पर्ने र त्यसको ५० प्रतिशत महानगरले नै व्यहोरिदिने गरी बिमा कार्यक्रम ल्याउन लागिएको छ ।
प्रमुख पौडेलका अनुसार एक शहरी प्रबद्र्धन केन्द्र चलाउन महिनाको लगभग ९ लाख रुपैयाँ खर्च हुन्छ ।
गत शनिबारदेखि महानगरले  २४ सै घन्टा निःशुल्क एम्बुलेन्स सेवा समेत सुरू गरेको छ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार