यथेष्ट प्रमाण भएकाको हकमा पक्राउ पुर्जी जारी : प्रहरी प्रवक्ता

नक्कली भुटानी शरणार्थी प्रकरण
बिहीबार, वैशाख २१, २०८०

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र दिएर अमेरिका पठाउने गिरोहसँग संलग्न भएको आरोपमा प्रहरीसामु १२३ जनाबाट १७ वटा जाहेरी परेसँगै अनुसन्धान प्रक्रियालाई तीव्रता दिइएको नेपाल प्रहरीका प्रवक्ताले बताएका छन् । प्रहरीको माग बमोजिम काठमाडौं जिल्ला अदालतले सरकारका बहालवाला र भूतपूर्व उच्च अधिकारी एवं तिनका परिवारका कतिपय सदस्यविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जस क्रममा बुधवार एक बहालवाला सचिव गिरफ्तार भएका छन् ।
पक्राउ परेका उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे यसअघि गृह मन्त्रालयका सचिव थिए । मङ्गलवार उक्त प्रकरणमा पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा मामिला सल्लाहकार इन्द्र जित राईलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले थापाका छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायत भन्छन्, "यस प्रकरणमा नाम जोडिएको र यथेष्ट प्रमाण भएकाको हकमा प्रहरीको माग दाबी बमोजिम अदालतबाट पक्राउ पुर्जी जारी भएको हो...सङ्लग्न थियो कि भनेर त्यसो गरिँदैन ।"

के हो प्रकरण ?
अमेरिका जान पाउने प्रलोभन दिएर एक गिरोहले १० देखि ५० लाखसम्म उठाएको विवरणहरू प्रकाशमा आएसँगै प्रहरीले सक्रियता बढाएको छ । नक्कली शरणार्थी बनाउने प्रकरण यसअघि नै मुछिएका गिरोहका सन्दिग्धहरू यसअघि नै प्रहरी हिरासतमा छन् ।
उनीहरूसँग सोधपुछ गरेपछि पूर्व उपप्रधानमन्त्री रहिसकेका नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी र उनका छोराविरूद्ध पनि पक्राउ पुर्जी जारी गरिएको विवरणहरू सार्वजनिक भएका छन् । सांसदलाई पक्राउ गर्नका लागि संसदमा पहिले सूचना पठाउनुपर्ने व्यवस्था रहेको प्रहरी प्रवक्ताले बताएका छन् । तर रायमाझीले भने सार्वजनिक रूपमा उक्त घटनामा आफ्नो सङ्लग्नता अस्विकार गरेका छन् ।
प्रवक्ता कडायत भन्छन्स् "कति जना नक्कली बनेर गए भन्ने स्पष्ट विवरण छैन। ठगी तथा सङ्गठित अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको छ । जाहेरीकर्ता धेरै भएकाले अनुसन्धान अगाडि बढाइँदै गर्दा जो पनि तानिन सक्छ ।" उनले पीडितहरू पूर्वी नेपालका झापा, सुनसरी, मोरङदेखि मध्य तथा पश्चिम नेपालका कास्की, दाङ, रुकुमसम्मका रहेको बताए । यसअघि २०७६ सालमा गृह मन्त्रालयका तत्कालिन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालिन समाधानका उपायहरू पहिल्याउन कार्यदल गठन गरिएको थियो ।
जसलाई दिइएको एक जिम्मेवारीमा भुटानी शरणार्थीहरू नेपाल प्रवेश गरेदेखिका विवरण एकीकृत गर्नु रहेको थियो । तर उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।

१०६ जनाले दिए २३ करोड ठगिएको उजुरी
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ ।
अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।
उक्त मुद्दा जिल्ला प्रहरी परिसरले हेरिरहेको छ । विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन् ।

अदालत
उनीहरुले कूल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । यद्यपि योभन्दा धेरै सङ्ख्यामा पीडित भएको अनुमान गरिए पनि अन्य व्यक्ति सम्पर्कमा आइनसकेको उनको भनाइ छ । हाल उजुरीमा उल्लेख भएका व्यक्तिमाथि अहिले अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
गिरोहले विसं २०७७ देखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको खुलेको छ । यस सम्बन्धमा पहिलो पटक गत जेठमा अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो । घटनामा मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ झण्डै १० महिनापछि गत चैत १२ गते पक्राउ परेका थिए । त्यसको केही दिनपछि सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परेका थिए ।
उनीहरुकै बयानका आधारमा गृहका अधिकारी र उच्च राजनीतिक नेतृत्व संलग्न भएको तथ्य बाहिर आएको अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
घटनाको थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसरलाई पक्राउ परेका आरोपीसहितको अनुसन्धान फाइल हस्तान्तरण गरेको थियो ।
सोही सिलसिलामा प्रहरीले वैशाख १९ गते मङ्गलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार डा इन्द्रजीत राईलाई पक्राउ गरेको थियो । प्रहरीले हिजो तत्कालीन गृहसचिव भइ हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र पूर्वऊर्जामन्त्री एवं नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको हो ।
    
प्रहरीले पक्राउ परेका गिरोहका समूहबाट प्रहरीले सन्दीपका नाममा काटेको चेकसमेत बरामद गरिसकेको छ । प्रहरीले अहिले पनि सचिव रायमाझी र डा राईका छोरा नीरजमाथि पक्राउ पुर्जी जारी गरी खोजी गरिरहेको छ । नीरजले काठमाडौँका विभिन्न होटलमा पुगेर करोडौँ रकम बुझेको प्रहरी स्रोतको भनाइ छ । “अन्य केही व्यक्ति पनि अनुसन्धानको घेरामा छन्, प्रमाण जुटेपछि पक्राउ पर्छन्”, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भन्नुभयो ।

https://ichef.bbci.co.uk/news/800/cpsprodpb/d160/live/7cd90560-e9c5-11ed-a142-ab0e42bfd9c3.jpg.webp
गिरोहले गृह मन्त्रालयका नाममा सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्टसमेत बनाएको भेटिएको छ । गिरोहले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका व्यक्तिलाई प्रयोग गरी उनीहरुका आफन्तलाई समेत शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीका रुपमा नाम दर्ताका लागि फारम भर्न लगाएका थिए । उनीहरुले शरणार्थी फारम भर्नेबाट रु १५ देखि २० लाख असुलेका थिए । गिरोहले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीसँग सेटिङ भइरहेको सुनाएर पीडितलाई विश्वास दिलाउने गरेका थिए । विश्वासमा पारिराख्न गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र देखाउने गरेका थिए ।
गिरोहले पत्रपत्रिका र अनलाइनमा आएका फोटो, समाचार तथा शरणार्थी समस्या हेर्ने विभिन्न निकायका कर्मचारीको सरुवासम्बन्धी समाचार पीडित समक्ष सेयर गरी विश्वास बटुल्ने गरेको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताएका थिए । पीडितलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौँलगायत स्थानमा पटकपटक बोलाउने गरेको जाहेरीमा उल्लेख छ । उनीहरुले काम नभएमा रकम फिर्ता गरिदिन्छु भन्दै आठ करोड रुपैयाँ बराबरको चेक समेत दिएका थिए । उनीहरुले यसरी उठाइएको रकम सङ्कलनका लागि विभिन्न व्यक्तिको बैंक खाता प्रयोग गर्ने गरेका पाइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार