एमाले सचिव टोपबहादुरका छोरा सन्दीप बुटबलमा पक्राउ, आज काठमाडौं ल्याइँदै

रायमाझिविरुद्ध पनि पक्राउ पुर्जी
बुधबार, वैशाख २०, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुटबलबाट पक्राउ गरिएका एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले बिहीबार काठमाडौं ल्याउँदै छ । उनी हिजो बुटबलमा पक्राउ परेका हुन् । सन्दीपलाई आज काठमाडौं ल्याइन्छ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो । सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको चेक लिएको पाइएको छ । यो प्रकरणमा गत १२ चैतमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा प्रहरीले मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । बुधबार भने पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

एमाले सचिव टोपबहादुर रायमाझिलाई भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी

एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको थियाे ।  जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट उनीहरु विरुद्ध पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइएको भन्ने प्रकरणमा उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

पूर्वगृहमन्त्रीका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न पुर्जी दिएको छ । थापाले बुबा गृहमन्त्री भएका बेला शरणार्थी बनाएर अमेरिका पठाउन असुली गरेको गिरोहबाट आर्थिक लाभ लिएर अनुचित कार्य गरेको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरिदिन अदालतमा भनेको थियो ।
त्यसअनुसार प्रहरीले पेश गरेको प्रमाणका आधारमा पक्राउ पुर्जी जारी भएको अदालतले भनाइ छ ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।
उनीहरुको बयानका क्रममा पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकले पनि आफूहरुसँग सहयोग गरेको बताएका छन् । यो प्रकरणमा पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, पूर्वगृहसचिव एवं राष्ट्रपति कार्यालयका वहालवाला सचिव टेकनारायण पाण्डे समेत पक्राउ परिसकेका छन् ।
नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । उनीहरुको प्रहरीले खोजी थालेको छ ।
उनीहरुको बयान लिने क्रममा रामबहादुर थापा ‘बादल’ र कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला उनीहरुले कर्मचारी प्रशासन र सचिवालयलाई ‘मिलाएर’ नेपाली युवालाई शरणार्थी बनाउने प्रयास गरेको खुलेको थियो ।
शरणार्थी दर्ता प्रक्रियामा छुटेकाहरुबारे अध्ययन र थप प्रमाण जुटाउन भन्दै २९ असार २०७६ मा केपी शर्मा ओली नेतृत्वको सरकारले गृह मन्त्रालयका तत्कालीन सह–सचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदल गठन भएबाटै अनुसूची फारममा नाम थप गरेर शरणार्थी बनाउन एउटा गिरोह लागि परेको थियो ।
त्यही काममा तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पनि संलग्न देखिएका छन् । राईलाई प्रहरीले मंगलबार ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो । हाल उनी जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा छन् ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार