लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त

बिहीबार, वैशाख १४, २०८०

लुम्बिनी । लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका  छन् । चौधरी नेपाली कांग्रेसबाट यो प्रदेशमा सरकारको नेतृत्व गर्ने पहिलो मुख्यमन्त्री भएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश सरकारमा एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री लीला गिरीले प्रदेशसभामा गत सोमबार राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रदेश प्रमुखले मङ्गलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । प्रदेश प्रमुख शेरचनले आज अपराह्न ४ बजेसम्म उपधारा २ बमोजिम सरकार गठन गर्ने विश्वासिलो आधारसहित आउन दलहरूलाई आह्वान गरेका  थिए । कांग्रेस संसदीय दलका नेता चौधरीको आठ राजनीतिक दल र स्वतन्त्रसहित ५३ सदस्यको समर्थन हस्ताक्षरसहित संविधानको धारा १६८ उपधारा २ बमोजिम सरकार गठन गर्न दाबी पेश गरेका थिए । चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीसहित आठ दल र स्वतन्त्र सदस्यको समर्थन गरेका छन् ।
गत पुस २७ गते माओवादी केन्द्रसहितका दलको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लिला गिरी राष्ट्रपतिको निर्वाचनमा केन्द्रीय समीकरण परिवर्तनसँगै सत्ता साझेदार दलहरूले चैत १२ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका  थिए । सोही दिन सत्ता गठबन्धनका नेताहरूले कांग्रेसको नेतृत्वमा सरकारको दाबीसहित प्रदेश प्रमुखसमक्ष निवेदन दिएका  थिए ।
विश्वासको मत नपाएर सरकार ढलेपछि मुख्यमन्त्री गिरीले प्रदेश प्रमुखसमक्ष धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने दाबी प्रस्तुत गरेका  थिए । प्रदेश प्रमुख शेरचनले संविधानको व्यवस्था, सर्वोच्च अदालत संवैधानिक इजलासको व्याख्यात्मक नजीरसहित महान्यायाधिवक्ता कार्यालयको रायसुझावका आधारमा मङ्गलबार पुनः उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरको थिए ।
लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका चार–चार जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन–तीन जना, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका एक–एक र स्वतन्त्र एक जना सदस्य रहेका छन् । नवनियुक्त मुख्यमन्त्रीको शपथ कार्यक्रम भोलि अपराह्न प्रदेश प्रमुखको कार्यालयमा हुनेछ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार