फ्लाई दुबईको विमानमा चरा ठोक्किएको दाबी नेपालद्वारा "अस्वीकार"

बुधबार, वैशाख १३, २०८०

काठमाडौं । सोमवार साँझ काठमाडौंबाट उडेको फ्लाई दुबईको FDZ576 विमानमा चरा ठोक्किएको भनाइलाई नेपाली नागरिक उड्डयन अधिकारीले अस्वीकार गरेका छन् ।
फ्लाई दुबईको जहाज उडेलगत्तै ठूलो आवाजसहित आगो लागेको जस्तो देखिएको थियो र चरा ठोक्किएका कारण उक्त घटना भएको अनुमान गरिएको थियो । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले चरा ठोक्किएको कुनै तथ्य फेला नपरेको बीबीसीलाई बताएका छन् । सोमवारको घटनापश्चात् विमानस्थलको धावनमार्गमा निरीक्षण गर्ने क्रममा एउटा सानो प्रजातिको चरा भेटिएको भए पनि उक्त चरा पछिल्लो घटनासँग सम्बन्धित नभएको उनले बताए ।
विमानका पाइलटले जहाजको दायाँ भागको इन्जिनमा समस्या देखिएको एअर ट्राफिक कन्ट्रोलर९एटीसी० लाई जानकारी गराएका थिए ।  पछि पाइलटले जहाज आकस्मिक अवतरण नगरी उडाउन मिल्ने आकलन गरेपछि जहाज पूर्वनिर्धारित तालिकाअनुसार नै गन्तव्यमा पुगेको थियो ।
विमानस्थलमा चरा धपाउन आधुनिक उपकरणसहित नेपाली सेनाको सिकारी टोली परिचालन गरिँदै आएको छ ।
फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास रोक्का
नेपाल उड्डयन प्राधिकरणले फ्लाई दुबईको जहाजको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भनी भ्रमपूर्ण सूचना फैलाएको भन्दै नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।
प्राधिकरणले प्रमाणबिना दुबईबाट गलत सूचना फैलाउने दुवै जनाको पास तत्कालका लागि रोक्का गरेको हो । प्राधिकरण सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार नयाँ निर्णय नभएसम्मका लागि उनीहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ ।
प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्राधिकरणको आधिकारिक निष्कर्ष बीना सो वायुसेवाको अफिसियल पेजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘बर्ड स्ट्रिक’को कारणले गर्दा सो घटना भएको विवरण सार्वजनिक भएकोमा फ्लाई दुबई एयरलाइन्सको काठमाडौँस्थित कन्ट्री म्यानेजर विनोेद अब्रहम र एयरपोट म्यानेजर नर नारायण पकवानको विमानस्थल प्रवेश पास रोक्का गरिएको छ ।”
    
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट एक सय ६८ यात्रु बोकेर सोमबार राति फ्लाई दुबईको जहाज कोटेश्वरतर्फबाट उड्दै गर्दा कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इन्जिनमा आगोको लप्का देखिएको थियो ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०४:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार