प्रदूषण बढेकाले बिना कारण घर बाहिर नहिँड्न चिकित्सकको अनुरोध

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं । वायु प्रदूषणका कारण अस्पतालमा बिरामीको सङ्ख्या बढ्न थालेको छ । छातीको सङ्क्रमण र दमलगायतका समस्या लिएर अस्पताल पुग्नेहरू बढेका हुन् । काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा पछिल्लो दुई सातायता वायु प्रदूषणको मात्रा बढेको छ । त्यही कारण फोक्सोको सङ्क्रमण, दमलगायत छातीको समस्या लिएर अस्पताल पुग्ने बढेका हुन् । काठमाडौं उपत्यकाका अस्पतालहरूमा २ हप्ताअघिको तुलनामा यस्ता बिरामीको सङ्ख्या २० देखि २५ प्रतिशतसम्म बढेको चिकित्सक बताउँछन् ।
काठमाडौंमा आज मात्रै वायु गुणस्तर मापन गर्दा धेरै नै अस्वस्थ्यकर देखिएको छ । वायुको गुणस्तर ५० एक्यूआईभन्दा कम हुनुपर्नेमा ‍२ सय ५० नाघेको छ । पछिल्ला केही दिन यता उपत्यकाको वायुको गुणस्तर लगभग यस्तै छ । यता स्वास्थ्य मन्त्रालयले वायु प्रदूषणको प्रभाव र अवस्था विश्लेषण गर्न जडान गरेको कृत्रिम फोक्सोको रंगसमेत परिवर्तन भएको छ । जडान गरिएको पहिलो दिनको तुलनामा चौधौँ दिनसम्म आइपुग्दा कृत्रिम फोक्सोको रंग परिवर्तन भएर खैरो देखिन थालेको छ । चिकित्सकहरूले प्रदूषण बढेकाले सकेसम्म बिना कारण घर बाहिर नहिँड्न,  हिँड्नै परे मास्कको प्रयोग गर्न आग्रह गरेका छन् ।

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा हावाहुरीको सम्भावना
देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना तथा तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । विभागले चट्याङ, हावाहुरीबाट हुनसक्ने क्षति÷जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव आठ डिग्री तथा अधिकमत तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार