उडिरहेको विमानभित्र जब पाइलटले आफ्नो सीटमुनि गोमन सर्प देखे

बिहीबार, चैत २३, २०७९

केपटाउन । दक्षिण अफ्रिकामा विमानचालक रुडोल्फ एरास्मसका लागि त्यो नियमित उडान थियो । तर आकाशमा ११,००० फिटको उचाइमा उनले विमानभित्र थप एक यात्रु पनि रहेको भेउ पाए ।
तर उक्त यात्रु मानव नभई गोमन सर्प थियो जुन उनको सीटमुनि आफ्नै चालमा हिँडिरहेको थियो ।
एरास्मसले भने, “साँच्चै भन्ने हो भने त्यस बेला के भइरहेको थियो भनेर मेरो मस्तिष्कले ठम्याउनै सकेन ।” “त्यो ज्यादै डरलाग्दो क्षण थियो,” उनले भने ।
उनले त्यसअघि आफ्नो ढाडमा चिसोपन महसुस भएको र पानीको बोतलका कारण त्यसो भएको होला भन्ने लागेर आफूले वास्ता नगरेको बताए । “मैले चिसो महसुस गरेँ, केही चिज मेरो कमिजभित्र सलबलाइरहे जस्तो लाग्यो,” उनले भने । पानीको बोतल राम्रोसँग बन्द भएन होला र त्यसैले पानी चुहिएर कमिजभित्र पस्यो होला भन्ने आफूलाई लागेको उनले बताए ।
“बायाँतिर फर्किएर भुइँमा हेर्दा मैले गोमन साँप देखेँ। सीटमुनि ऊ टाउको पछाडितिर फर्काउँदै थियो।ू उनले भने ।
ब्लूम्फोन्टेनबाट प्रेटोरियाका लागि उडेको उक्त विमानलाई उनले आकस्मिक अवतरण गराउने निर्णय गरे ।
उक्त निजी ुबीचक्राफ्ट ब्यारो ५८ु विमानमा चार यात्रु थिए ।
गोमन सर्पलाई खतरनाक मानिन्छ। त्यसले टोकेको ३० मिनेटभित्रै मानिसको ज्यान जान सक्छ । धेरै मानिस उक्त सर्प सम्झनेबित्तिकै आत्तिन्छन् ।
त्यसैले अरू व्यक्ति नआत्तिऊन् भनेर एरास्मसले विचारपूर्वक यात्रुहरूलाई विमानभित्र 'एक अतिरिक्त यात्रु पनि रहेको' जानकारी दिए।
उक्त सर्प पछाडि गएको र त्यसबाट अरूहरू आतङ्कित भइसकेका छन् कि भन्ने डर उनलाई लागेको थियो ।
त्यही भएर अन्ततः पाइटलले यात्रुहरूलाई विमानभित्र सर्प रहेको जानकारी दिए ।
“मैले यात्रुहरूलाई भनेँ-''सुन्नुहोस्, विमानभित्र एउटा सर्प छ। त्यो मेरो सीटमुनि छ। त्यही भएर सकेसम्म चाँडो अवतरण गरौँ र हामी विमानबाहिर निस्कौँ ।”

सर्प

त्यस बेला यात्रुहरूको प्रतिक्रिया के थियो त ?
एरास्मसका अनुसार केही क्षण सबै जना स्तब्ध भएका थिए । “सियो खसेको पनि सुनिन सक्ने अवस्था थियो । मलाई लाग्छ सबै जना एक वा दुई पलका लागि हलचल नगरी बसेका थिए”, उनले भने ।
विमानचालकहरूलाई कैयौँ सम्भावित परिस्थितिबारे तालिम दिइएको हुन्छ। तर ककपिटमा सर्प देखियो भने के गर्ने भन्नेमा उनीहरूलाई खासै भनिएको नहुने उनले बताए । आफू अत्तालिएको भए अवस्था थप बिग्रिन सक्थ्यो भन्ने उनलाई लाग्छ । उक्त विमानले वेल्कम सहरमा आपत्कालीन अवतरण गरेको थियो ।

पाइलटको प्रशंसा
उक्त विमान वुस्टर फ्लाइङ क्लबबाट उडेको थियो । त्यहाँ काम गर्ने दुई व्यक्तिहरूले आफूले विमानको मुन्तिर एउटा सर्प बसिरहेको देखेको जनाएका छन् । त्यो सर्पलाई ‘समात्ने’ आफ्नो प्रयास विफल भएको उनीहरूले बताए ।
एरास्मसले आफूले यात्रुसहित विमान चढ्नुअघि पनि उक्त सर्प कहाँ गयो भनेर खोज्ने प्रयास गरेको बताए। 'दुभार्ग्यवश त्यो त्यहाँ थिएन र हामीले राति वा बिहानै सर्प त्यहाँबाट अन्यत्र गयो भन्ठान्यौँ'', उनले भने।
अझै पनि उक्त विमानभित्र देखा परेको सर्प फेला परिसकेको छैन ।
एरास्मसलाई नायकसरह सम्मान गरिएको छ र दक्षिण अफ्रिकाका नागरिक उड्डयन आयुक्त पोपी खोसाले उनले ‘उत्कृष्ट उडान कौशल प्रस्तुत गरी सबै यात्रुहरूको जीवनरक्षा गरेको’ टिप्पणी गरेको न्यूज२४ वेबसाइटले जनाएको छ । तर ती विमानचालक आफूले गरेको काम विशेष भएको ठान्दैनन् । “त्यो अतिशयोक्ति हुन्छ। मेरा यात्रुहरू शान्त रहेकाले पनि त्यो सम्भव भएको हो,” उनले भने ।-बीबीसी

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार