डोनल्ड ट्रम्प विरुद्धका ३४ वटा गम्भीर अभियोगमा के भनिएका छन् ?

डोनल्ड ट्रम्प पक्राउ
बुधबार, चैत २२, २०७९

न्युयोर्क । गत साता हामीले डोनल्ड ट्रम्प अपराधमा आरोपित भएको थाहा पायौँ । अहिले हामीले पूर्वराष्ट्रपतिले झुटा व्यावसायिक विवरणहरू सम्बन्धी ३४ वटा अभियोगहरू सामना गरेको थाहा पाएका छौँ ।
विवरणहरू झुटा बनाउने कामलाई प्रायः कम गम्भीर अपराधका रूपमा हेरिने भए तापनि ट्रम्पले फेलनी अर्थात् गम्भीर अपराधहरू गरेको आरोप पनि लगाइएको छ । जसमा हदैसम्मको सजाय दिइँदा कारावास समेत हुनसक्छ ।
'सारमा आजको यस मुद्दाका अभियोगहरू हामीले सामान्यतया सामना गर्दै आएका कैयन् मुद्दाजस्तो हो,' न्यूयोर्क सहरका जिल्ला न्यायाधिवक्ता अल्भिन ब्रागले आफ्नो कार्यालयले पूर्वराष्ट्रपतिविरुद्ध अघि सारेका अभियोगहरूबारे भने । उनले त्यसलाई थप व्याख्या गर्दै भने, 'कसैले आफ्नो स्वार्थको संरक्षणका लागि बारम्बार झुटो बोलेको र हामी सबै उत्तरदायी हुनुपर्ने कानुनहरू छलेको सम्बन्धी अभियोगहरू।' ट्रम्पले ती सबै अभियोगहरूमा आफू निर्दोष रहेको बताएका छन् ।

https://ichef.bbci.co.uk/news/800/cpsprodpb/ad76/live/bc8d0d20-d348-11ed-be2e-754a65c11505.jpg.webp
अदालतबाट बाहिरिएपछि उनले जबाफ दिनुपर्ने कुनै कारण नरहेकोमा जोड दिए ।
'केही कुरा गैरकानुनी रूपले भएको छैन !' उनले आफ्नो सामाजिक सञ्जाल वेबसाइटमा लेखेका छन् । यद्यपि त्यसबारे जुरीले निर्णय गर्नेछ ।
अहिले पूर्वराष्ट्रपतिको पहिलो फौजदारी मुद्दाका विवरणहरू हेरौँ । सबै ३४ वटा अभियोगहरू मुख नखोल्ने सर्तमा दिइएको पैसाबारे छन् । ट्रम्पले झुटा व्यावसायिक विवरणका लागि ३४ वटा 'फस्ट डिग्रीका' फेलनी अर्थात् गम्भीर अपराधका अभियोगहरू सामना गरेका छन् ।
ती सबै अभियोगहरू उनका वकिल माइकल कोहेनले पोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई दिएको १,३०,००० अमेरिकी डलरसँग सम्बन्धित छ ।
त्यस्तो भुक्तानी ट्रम्पसँग सन् २००७ मा सम्बन्ध रहेको भन्नेबारे उनका आरोपबारे मौन रहनका लागि गरिएको भन्ने छ ।
अदालती दस्ताबेजमा कोहेनलाई 'वकिल ए' भनेर सम्बोधन गरिएको छ भने ड्यान्यल्सलाई 'महिला २' भनिएको छ।

ट्रम्प
स्टेटमेन्ट अफ फ्याक्ट्स भनिने अभियोगपत्रसँगै राखिएको दस्तावेजमा सुरुमै लेखिएको छस् प्रतिवादी डोनल्ड जे ट्रम्पले बारम्बार र कपटपूर्वक न्यूयोर्कका व्यावसायिक विवरण झुटा बनाउँदै फौजदारी कार्य लुकाउन खोजे जसले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा मतदातासामु उनका बारेका हानिकारक सूचना लुक्न पुग्यो ।
ट्रम्पविरुद्धको न्यूयोर्कको मुद्दा कसरी ड्यान्यल्सलाई मौन राख्नका लागि कोहेनमार्फत् गरिएका भुक्तानीका लागि कोहेनलाई क्षतिपूर्ति दिइयो भन्ने कुराको वरपर घुम्छ । सन् २०१७ मा राष्ट्रपति बनेपछि ट्रम्पले कोहेनलाई ह्वाइटहाउसमा भेटे । त्यसलगत्तै र १० महिनाबीचमा ट्रम्पले आफ्ना सम्पत्ति व्यवस्थापन गर्ने कोषबाट चेकहरू पठाउन थाले । र पछि उनले कोहेनलाई आफ्नै ब्याङ्क खाताबाट समेत भुक्तानी दिए ।
ती चेकहरू 'कानुनी शुल्क' का रूपमा उल्लेखित छन् ।
तर ती खासमा मुख बन्द गराउनका लागि कोहेनले ड्यान्यल्सलाई दिएको पैसाको बदलामा उनलाई गरिएको भुक्तानीको भरपाइ रहेको कोहेनले बताएका छन् ।
अभियोजनमा लेखिएको छः ट्रम्प अर्गनाइजेसनले राख्ने र व्यवस्थापन गर्ने भुक्तानी विवरणहरू न्यूयोर्कका गलत व्यवसायिक विवरण हुन्। वास्तिवकतामा त्यहाँ कुनै सम्झौता थिएन र 'वकिल ए' लाई सन् २०१७ मा कुनै कामका लागि कानुनी शुल्क तिरिएको थिएन । प्रतिवादीले आफ्ना र अरूका फौजदारी कार्य लुकाउन आफ्ना झुटा व्यावसायिक विवरणहरू बनाएका थिए ।

ट्रम्प

दुष्कर्मदेखि फेलनीसम्म

ब्रागले अपराधमा सघाउन पैसा तिरिएको हुनाले ट्रम्पले भुक्तानीका वास्तविक तथ्य बङ्ग्याएको आरोप लगाए ।
मौन रहन गरिने भुक्तानी आफैँमा गैरकानुनी नभए तापनि राष्ट्रपतीय निर्वाचनको प्रचारमा खर्चिएको पैसाबारे साँचो जानकारी नदिने कुराले प्रचारसम्बन्धी सङ्घीय आर्थिक कानुनको उल्लङ्घन गर्छ ।
कोहेनलाई ड्यान्यल्सलाई उनले गरेको भुक्तानी नखुलाएको कारणमा नै यसअघि दोषी ठहर्‍याइएको थियो ।
ब्रागका अनुसार कोहेनलाई उक्त भुक्तानीका लागि आफ्नो तर्फबाट भरपाइ गरेर ट्रम्प पनि उक्त फौजदारी मुद्दामा जोडिएका छन् । यसले उनको व्यावसायिक विवरणलाई झुटो बनाउने कामलाई थप गम्भीर अपराध बनाएको छ ।
ट्रम्पका वकिलहरूले चाहिँ त्यसलाई ट्रम्पलाई जबरजस्ती मुद्दामा तान्न रचिएको राजनीतिक उद्देश्यले प्रेरित योजना भनेका छन् ।

ट्रम्प

'फौजदारी व्यवहारको एउटा शृङ्खला'
ब्रागले ट्रम्पको प्रचार अभियानमार्फत् मौन रहनका लागि गरिएका अन्य दुई भुक्तानीका उदाहरण पनि उद्धृत गरेका छन् ।
ट्रम्पले कोहेनलाई गरेको भुक्तानी सन् २०१६ को राष्ट्रपतीय निर्वाचनलाई प्रभावित पार्ने गैरकानुनी प्रयास रहेको ट्रम्पलाई थाहा भएको भन्ने अभियोजन पक्षको जिकिरलाई ती भुक्तानीहरूले प्रस्ट पार्ने ब्रागले बताए ।
'प्रतिवादीले अरूसँग मिलेर सन् २०१६ को राष्ट्रपतीय निर्वाचनलाई प्रभावित पार्ने योजना बनाउँदै आफूबारेका नकारात्मक जानकारी पहिचान गरि त्यसको प्रकाशनलाई दबाउने र प्रतिवादीको चुनावी सम्भावनाहरूलाई लाभ पुर्‍याउने काम गरे', तथ्यहरू केलाइएको अदालती दस्तावेजमा उल्लेख छ ।
'गैरकानुनी योजना कार्यान्वयनका लागि त्यसका सहभागीहरूले चुनावी कानुनको उल्लंघन गरे र न्यूयोर्कका कैयौँ निकायका व्यावसायिक विवरण झुटा बनाउने र थप्ने काम गरे ।'

ट्रम्प
एक घटनामा वैवाहिक सम्बन्धबाहिर ट्रम्पको एक सन्तान रहेको थाहा भएको बताउने एकजना डोरम्यानले ३०,००० अमेरिकी डलर पाएका थिए ।
अर्को घटनामा एक महिलाले ट्रम्पसँग सम्बन्ध रहेको दाबी गरेपछि १,५०,००० अमेरिकी डलर पाएकी छन् । ट्रम्पले त्यस्तो सम्बन्धलाई अस्वीकार गरेका छन् ।
ती भुक्तानीहरू द ट्याब्लोइड न्याश्नल इनक्वायरर म्यागेजिन र त्यसको तत्कालीन प्रकाशक डेभिड पेकरबाट भएका थिए । ब्रागका अनुसार पेकरले ट्रम्पसँग मिलेर हानिकारक हुनसक्ने सूचना दबाउन लागिपरेका थिए । मुद्दाको विवरणमा जनाइए अनुसार त्यसको कदरस्वरूप ट्रम्पको शपथग्रहण समारोहमा उनले निम्तो पाएका थिए ।-बीबीसी

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार