ललितपुर महानगरद्धारा १० वटा सहकारी खारेज, २६ वटा खारेजीको चरणमा

महाननगर प्रमुख भन्छन्, ‘सहकारीको अवस्था नसुध्रिए संघीयता धरापमा पर्छ’
शुक्रबार, चैत १७, २०७९

ललितपुर । वित्तीय तरलता देखिएकै बेला पछिल्लो समय सहकारी क्षेत्रको उपस्थितिमाथि प्रश्न चिह्न लाग्न थालेको छ । बचतकर्ताका रकम जथावाही लगानी गरेका कारण यो क्षेत्र संकटतर्फ धकेलिँदै गएको छ । अझ केही सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको समाचारहरु सार्वजनिक भइरहँदा बचतकर्ताको आक्रोशलाई मलजल थपिदिएको छ । यस्तैमा ललितपुर महानगरले आफ्नो क्षेत्र भित्र सञ्चालनमा रहेका १० वटा सहकारी खारेज गरेको छ । २६ सहकारी खारेजीको सूचीमा छन् ।

‘सहकारीको अवस्था नसुध्रिए संघीयता धरापमा पर्छ : महाननगर प्रमुख
महानगर प्रमुख चिरीबाबु महर्जनले सहकारीको अवस्था नसुध्रिए संघीयता धरापमा पर्न सक्ने औल्याएका छन् । ललितपुर महानगरले शुक्रबार ललितपुरमा  आयोजना गरेको ‘सहकारी क्षेत्रका चुनौती: नियामक निकायको भूमिका’ विषयक अन्तत्र्रिmया कार्यक्रममा नगर प्रमुख महर्जनले उक्त धारणा राखेका हुन् । उनले भने, ‘ सहकारीको यो अवस्थाले संघीयता धरापमा पर्न टेवा पुग्छ , सहकारीबाट पीडित ७३ लाख मानिसको वितृष्णा छ ।’
नगरप्रमुख महर्जनले सहकारीको अवस्था सुधारका लागि तत्काल योजनाबद्ध ढंगबाट काम थाल्नुपर्ने बताए । सहकारीबाट निपेक्ष समेत नपाएका महानगरवासी दिनहुँ आफ्नो कार्यकक्षमा विलाप गर्दै आउने गरेको स्मरण गर्दै उनले भने, ‘महानगरपालिकाले एउटै पनि सहकारी दर्ता गरेको छैन, तर सहकारीबाट पीडित भयौं भन्दै धेरैजना आउनुहुन्छ, उहाँरुको मर्का फुकाउन केही गर्न सक्ने अवस्था छैन ।’ नगरप्रमुख महर्जनले सहकारीका बारेमा धेरै गुनासो आएपछि वस्तविकता थाहा पाउन र यो अवस्थाबाट छुट्कारा पाउन गर्न सकिने उपायका बारेमा थाहा पाउन महानगरले कार्यक्रम आयोजना गरेको बताए ।
यसैगरी कार्यक्रममा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै १० वटा सहकारी खारेजी गरिएको जानकारी दिएका छन् ।
उनको कार्यपत्रमा उल्लेख गरेका छन, ‘२६ वटालाई खारेजीको प्रक्रिया लग्दै छौं, चरणबद्ध रुपमा काम गरिरहेका छौ ।’ नियमनको अधिकार ललितपुर महानगरलाई प्राप्त भएपछि महानगरले एउटै पनि सहकारी दर्ता नगरेको उनले जानकारी दिए । उनले भने, ‘प्रदेश सरकारलाई ललितपुर कार्यक्षेत्र राखेर सहकारी दर्ता नगरिदिनुस् भनेर हामीले चिठ्ठी पठायौं तर हाम्रोमा कार्यक्षेत्र राखेर भटाभट सहकारी दर्ता भयो ।’
बिना मंजुरी सहकारीको कार्य क्षेत्र महानगर राखेर दर्ता गर्दा धेरै समस्या झेल्नु परेको उनको भनाइ छ ।
सेवा केन्द्र खोल्ने अनुमति पनि आफूहरुले नदिएको जानकारी उनले दिएका छन् । ललितपुर महानगर सहकारीको सुशासनमा कतै नचुकेको उनले दाबी गरे ।  
प्रमुख प्रशासकीय अधिकृत अर्यालले ललितपुर महानगरको कार्य क्षेत्रभित्र रहेका सहकारी नडगमगाउने दाबी गरेका छन् ।

‘अनुगमन र नियमन नभएकाले यो अवस्था’
सहकारी संस्थामा अनुगमन र नियमन नभएका कारण अहिलको अवस्था आएको  सहकारी क्षेत्रका विज्ञहरुले बताएका छन् । सहकारीलाई अहिलेको अवस्थाबाट बाहिर ल्याउन अनुगमन र नियमन गर्नुपर्ने बताउँदै तीन तहका सरकारबीच समन्वय हुनुपर्नेमा विज्ञले जोड दिएका छन् । उनीहरुले भने, ‘सहकारीलाई सहकारीको वास्तविक परिभाषाभित्र ल्याउनु आवश्यक छ ।’ परिभाषाभन्दा सहकारीले काम गर्दा अहिलेको अवस्था आएको उनीहरुको भनाई थियो ।
सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले अनुगमन र नियमन नभएका कारण सहकारीले अहिलेको अवस्था झेल्नु परेको बताए । इच्छा शक्ति, कानूनको  स्वार्थपूर्ण प्रयोगका कारण सहकारीबाट लाखौं प्रभावित भएको दाबी गरे । सहकारीको संख्या धेरै हुुनु समस्या नभएको बताउँदै त्यहाँ भएको गलत अभ्यासका कारण समस्या निम्तिएको बताए । उनले कर्जा सूचना केन्द्र, ऋण असुली न्याधिकरण, कर्जा सुरक्षा कोष अत्यावश्यक भएको जिकिर गरे । स्थानीय तह नजिकको सरकार भएको बताउँदै स्थानीय तहसँग समन्वय अनिवार्य भएको उनले बताए ।
बागमती प्रदेश सहकारी रजिष्ट्रार नारायण ज्ञवालीले सहकारीको अनुगमन र नियमन नभएका कारण सहकारीमा संकट देखिएको बताए  । उनले सहकारीहरुले सहकारीको मर्म मारेर अघि बढेकाले यो अवस्था आएको जिकिर गरे ।
उनले सहकारीको अवस्था सुधार्न बोल्ड निर्णय गर्नुपर्ने धारणा राख्दै तीन तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।
राष्ट्रिय सहकारी बैंकका प्रमुख प्रशासकीय अधिकृत बद्री गुराँगाई, राष्ट्रिय सहकारी महासंघका सञ्चालक राजेन्द्र पौडेल, जिल्ला सहकारी संघका अध्यक्ष केदार गोर्खालीले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न संयुक्त प्रयास आवश्यक भएको बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार