सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विभागीय टोली एपीएफले ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । यो उसको तेस्रो जित हो । तेस्रो संस्करणको फाइनल खेलमा विभागीय टोली एपीएफले कोशी प्रदेशलाई ५४ रनले हराएको छ। प्रतियोगितामा १५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १०० रनमात्र बनायो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन् । उनी १३.२ ओभरमा विनु बुढामगरको बलमा बोल्ड हुनुअघि ४१ बल खेलेर ४ चौका प्रहार गरेकी थिइन् ।
कोशीकी अर्की ओपनर काजल श्रेष्ठले ६ रन बनाइन् । अप्सरी बेगमले १० रन जोडिन् । स्मृति कटुवालले ८ र नमिता श्रेष्ठले ७ रन जोडिन् । लतिका राजवंशी २१ रनमा अविजित रहिन् । बलिङमा एपीएफकी बिनु बुढामगरले २ विकेट लिइन् । उनले ४ ओभरमा १८ रन खर्चिइन् । रेखा रावल, सोनु खड्का र नेरी थापाले समान १–१ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफले कप्तान सीता रानामगर र इन्दू बर्माको शतकीय साझेदारीमा मेयर कपकै सर्बाधिक १५४ रनको योगफल खडा गरेको थियो । ओपनर ज्योति पाण्डे २ रन बनाएर आउट भएपछि आएकी इन्दूसँग मिलेर सिताले दोस्रो विकेटका लागि १३६ रनको साझेदारी गरिन् ।
ओपनर सीताले ७९ रनको अविजित अर्धशतकीय पारी खेलिन् । उनले ६८ बलमा ९ चौका र २ छक्का प्रहार गरिन् । सीताले एपीएफको उपाधि यात्रामा दोस्रो अर्धशतक बनाएकी हुन् । यसअघि सुदूरपश्चिमविरुद्ध उनले ५२ रन जोडेकी थिइन् । त्यस्तै तेस्रो क्रममा आएकी इन्दुले ४१ बलमा ५ चौका र १ छक्का सहित ५१ रनको अविजित अर्धशतकीय पारी खेलिन् । एपीएफले २२ अतिरिक्त रन पाएकोको थियो । एपीएफको एकमात्र विकेट कोशीकी एलिसा खडियाले लिएकी हुन् । समूह चरणको खेलमा पनि एपीएफले कोशीमाथि ७ विकेटको जित रचेको थियो । प्रतियोगितामा ५ टिम सम्मिलित थिए ।