तपाईंले प्रकाशन गर्न लागेको भित्तेपात्रो सरकारी स्वीकृति प्राप्त हो ?

पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति नलिएको भए कारवाही हुन्छ है !
शनिबार, चैत ११, २०७९

काठमाडौँ । तपाईं भित्ते पात्रो वा विद्युतीय पात्रो निकाल्दै हुनुहुन्छ ? हुनुहुन्छ भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट अनिवार्य अनुमति लिनुहोस् है । अनुमति नलिइ प्रकाशित भए कारवाहीको भागिदार बन्नुपर्नेछ ।
पञ्चाङ्ग समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो (क्यालेण्डर) र पात्रो (पञ्चाङ्ग)का सञ्चालकलाई १० हजारदेखि एक लाखसम्म कारबाही हुनेछ । भित्ते पात्रो प्रकाशन गरी मुनाफा कमाउने तर सरकारी निकायमा अनुमति लिए नलिएको बारे अनुगमन गर्न एउटा समिति नै बनेको छ ।
विद्युतीय पात्रो र भित्तेपात्रोको अनुगमन गर्न संस्कृति मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव डा सुरेशसुरस श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय केन्द्रीय अनुगमन समिति गठन गरिएको छ । समितिमा गृह मन्त्रालय, संस्कृति मन्त्रालय, समिति र पञ्चाङ्गकारका तर्फबाट प्रतिनिधिको प्रतिनिधित्व छ ।
अनुगमन समितिले अनधिकृतरूपमा ७७ जिल्लाबाटै प्रकाशन हुने पात्रो र भित्तेपात्रोको अध्ययन गरी सूचना सङ्कलन गर्दैछ । यसका लागि संस्कृति मन्त्रालयले गृह मन्त्रालयमार्फत ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्ने तयारी गरेको छ ।
विद्युतीय पात्रो र भित्तेपात्रो प्रकाशन गर्न समितिको स्वीकृति अनिवार्य मानिन्छ ।  
समितिको स्वीकृति लिएर १५ वटा पात्रो भने गत माघमै प्रकाशन भइसकेका छन् । पात्रो प्रकाशन भएपछि त्यसलाई सारेर भित्तेपात्रो निकाल्ने तर समिति र आधिकारिक पञ्चाङ्गकारसँग समन्वय नगर्ने गरेकाले सरकारले स्वीकृति लिनैपर्ने व्यवस्था गरेको हो ।
सरकार भित्तेपात्रे प्रकाशनमा कडा भएपछि यति बेला नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यालय नारायणहिटी दरबार क्षेत्रमा नयाँ वर्ष २०८० को भित्तेपात्रोको स्वीकृति लिनेको भीड बढ्न थालेको छ ।
भित्तेपात्रो (क्यालेण्डर) र पात्रो (पञ्चाङ्ग)का प्रकाशन पूर्व स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको आन्तरिक दिग्दर्शन, २०७९ स्वीकृत गरेपछि स्वीकृति लिनेको भिड लागेको हो ।
समितिको निर्णयपछि हालसम्म तीन सयभन्दा बढी भित्तेपात्रोले स्वीकृति लिएका छन् ।
मन्त्रिपरिषद्ले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेश स्वीकृत गरी नेपाल भरबाट प्रकाशन हुने पात्रो र भित्तेपात्रोको स्वीकृति दिने अधिकार समितिलाई दिएको थियो ।

 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०५:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार