सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग–२ मा तेस्रो स्थान प्रप्त गर्दै विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यसँग भेट गरेका छन् । टोलीलाई शुक्रवार शीतलनिवासमा बोलाएर बधाइ दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु नहुने बताए । नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको उनको धारणा थियो । पौडेलले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यक्ता औँल्याए ।
‘राष्ट्रको इज्जत र गौरवलाई बढाएर तपाईंहरु विश्वकपको यात्राका लागि जाँदै हुनुहुन्छ । मैले हिजो इन्ट्रेस दिएर हेरेँ असाध्यै राम्रो खेल थियो । दर्शकहरु पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो’, उनले भने, ‘पूर्वाधार कमी छ । तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, ठूलो कुरा हो । यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षा गर्नु हुँदैन । यसमा त विश्वका देशहरुसँग प्रतिष्पर्धा हुन्छ, देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ, खेलाडीहरुको मनोबल बढाउन सरकारले लाग्नुपर्छ ।’ राष्ट्रपति पौडेलले खेलाडीहरुको मनोबल बढाउन सरकार लाग्नुपर्ने पनि बताएका छन् ।