नेपाललाई यूएईविरुद्ध जित दिलाउँदै विश्वकप छनोटसम्म डोर्‍याएको डीएल प्रणाली के हो ?

बिहीबार, चैत २, २०७९

काठमाडौं । एउटा रोमाञ्चक खेलमा यूएईलाई छोटकरीमा डीएल भनिने प्रणालीबाट ९ रनले पराजित गर्दै नेपालले जिम्बाब्वेमा हुने विश्वकप छनौटका लागि आफ्नो स्थान सुनिश्चित गरेको छ । सामान्यतया खेल खराब प्रकाश वा वर्षा वा अन्य कुनै कारणले अवरुद्ध भएमा डीएल प्रणालीको प्रयोग गरेर नतिजा निकाल्ने वा लक्ष्य पुनर्निर्धारण गर्ने अभ्यास छ । “त्यस्तो बेला खेलिएको ओभर, बनाएको रन अनि झरेका विकेटहरूको हिसाब उक्त प्रणालीबाट निकालेर नतिजा घोषणा गरिन्छ,” बीबीसीका खेल संवादददाता निरञ्जन राजवंशी भन्छन् ।

Wicket_Nepal_Vs_UAE1678968661.jpgबिहीवारको खेलमा अम्प्यारहरूले खराब प्रकाशका कारण खेल अघि बढ्न नसक्ने घोषणा गर्दा नेपाललाई ३६ बलमा ४२ रन चाहिएको थियो । त्यतिबेला नेपाल यूएईभन्दा डीएलका आधारमा ९ रनले अघि थियो । जितसँगै नेपालले २ अङ्क प्राप्त गर्‍यो र आईसीसी विश्वकप लीग २ मा ३९ अङ्कसहित तेस्रो स्थानमा रहेको नामिबियालाई पछि पार्दै विश्वकप छनोटका लागि यात्रा तय गर्न सफल भयो । उक्त लीग खेलिरहेका सात टोलीमध्ये अङ्क तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका स्कटल्यान्ड र ‌ओमान यसअघि नै विश्वकप छनौट प्रतिस्पर्धाका लागि चयन भइसकेका छन् ।

नेपाललाई जित दिलाएको डीएल के हो ?

यो क्रिकेट खेल कुनै कारणले बीचमा नै अवरुद्ध हुने वा प्रभावित भएको अवस्थामा लक्ष्य पुनर्निर्णाधरण गर्ने एउटा विधि हो । सन् १९९७ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले वर्षाबाट प्रभावित खेलहरूमा प्रतिस्पर्धी टोलीलाई दिइएको लक्ष्य पुनः निर्धारण गर्न यो विधि सफलतापूर्वक परीक्षण गरेको थियो । सन् १९९८ मा इङ्गल्यान्डको क्रिकेट काउन्सिल, जिम्बाब्वेको क्रिकेट युनिअन र न्यूजिल्यान्डले यसको प्रयोग गर्ने निर्णय लिएको क्रिकेटसम्बन्धी वेबसाइट क्रिकइन्फो डट कमले जनाएको छ । फ्रयाङ्क डकवर्थ र टोनी लेविसले यो प्रणालीको आविष्कार गरेका हुन् । फ्र्याङ्क ब्रिटेनको रोयल स्ट्याटिस्टिकल सोसाइटीको मासिक खबर पत्रिकाका सम्पादक थिए भने टोनी गणितका प्राध्यापक थिए । आईसीसीले सबै खालका म्याचहरूमा डीएल विधिको प्रयोग गरिने जनाएको छ ।

cir1678968869.jpgडीएल क्यालकुलेटरको प्रयोग आईसीसीका अनुसार यदि कुनै म्याच सुरु भएपछि रोकिएको अवस्थामा म्याच सुरु हुँदा निर्धारण गरिएको ओभरबाट कुनै पनि टोलीले खेल्न बाँकी रहेको ओभर घटाइनेछ । त्यसपछि ‘आईसीसी डकवर्थ लेविस स्टर्न क्यालकुलेटरको’ पछिल्लो संस्करणको प्रयोग गरी लक्ष्य फेरि निर्धारण गरिनेछ । आईसीसीका अनुसार खेल्न बाँकी ओभर र औसत रन रेटलाई मात्रै ध्यान दिएर कुनै पनि खेलको लक्ष्यलाई पुनर्निर्धारण गरिँदैन । उसको वेबसाइटमा राखिएको जानकारी पुस्तिकामा दुवै पक्षका सापेक्षित रन स्कोर गर्ने सामर्थ्यलाई ध्यान दिइने उल्लेख छ । आईसीसीका अनुसार खेल अवरुद्ध वा त्यसपछि शुरू भएको समयमा कति ओभर बाँकी थियो र कति विकेट खसेका थिए भन्ने कुरालाई पनि ध्यान दिइन्छ । सबै स्रोतको सम्भावित मूल्याङ्कन शुरूमा नै गरिएको हुन्छ र एउटा टेबल बनाइएको छ । गणना प्राविधिक र जटिल हुने गर्छ । यसबारे आईसीसीले आफ्नो वेबसाइटमा जानकारीहरू पनि राखेको छ । उसले बताए अनुसार खेल्ने अवस्था परिवर्तन भइरहेको छ भने यो विधिले पनि त्यसलाई ध्यान दिने कुरा सुनिश्चित गर्नुपर्छ ।

kushal-bhurtel1678968953.jpgआईसीसीको वेबसाइटमा राखिएको जानकारीअनुसार प्रत्येक वर्ष सूत्रका आधारहरूलाई पुनरवलोकन गर्ने गरिएको छ र स्कोरसम्बन्धी महत्त्वपूर्ण प्रवृत्तिहरूलाई ध्यान दिएर परिमार्जनहरू पनि गर्ने गरिएका छन् । औसतमा त्यस्तो परिवर्तन प्रत्येक दुईदेखि तीन वर्षमा हुने गरेको उसको भनाइ छ । नेपालले यूएईसँग बिहीबार खेलेको लीग-२ अन्तर्गतको खेलमा ३११ रनको विशाल लक्ष्य पाएको थियो । जिम्बाब्वेसम्मको विश्वकप छनौटको यात्रा तय गर्न नेपाललाई उक्त खेल जितेर सो लीगको अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिनु आवश्यक थियो । उक्त विशाल लक्ष्य पछ्याइरहेको नेपाली टोलीका मध्यक्रमका ब्याटरहरूले टिकेर खेलिरहँदा कतिपय अवस्थामा यूएईको टोलीका बलरहरूले खेललाई केही ढिलो पार्ने प्रयास गरेको समेत ठानिएको थियो ।

Gulsan1678967377.jpgसाँझ हुन लागिसकेको थियो र खेलका उद्घोषकहरूले उक्त म्याच ४० मिनेट ढिलासम्म चलिसकेको टिप्पणी प्रत्यक्ष प्रसारणमा गरिरहेका थिए । यस्तोमा मैदानमा खराब प्रकाश देखाउँदै अम्पायरहरूले ४४ ओभरमा नै खेल समाप्त गरिदिए । त्यो बेला नेपालले ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । डकवर्थ लेविस प्रणालीमा यूएईले ५० ओभर खेलेर ६ विकेट गुमाउँदै बनाएको ३१० रनलाई नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर जोडेको रनको अवस्थासँग तुलना गरिएको थियो । उक्त प्रणालीअन्तर्गत नेपालले ४४ ओभरमा पाएको पुनर्निर्धारित लक्ष्य २६० रन थियो । त्यही भएर नेपालले उक्त प्रतिस्पर्धात्मक खेल ९ रनले जितेको भनिएको हो । खेल सम्पन्न भएपछि प्रतिक्रिया दिँदै नेपालका कप्तान रोहित पौडेलले आफूहरूले डीएल प्रणालीबाट फेरि निर्धारण हुन सक्ने लक्ष्यतर्फ पनि ध्यान दिन क्रिजमा रहेका ब्याटरहरूलाई सन्देश पठाएको जानकारी दिएका थिए । यूएईका कप्तान मोहम्मद वसीमले ४२ औँ ओभरमा बलिङ गर्दा नेपालले २० रन लिएपछि नेपाल डीएल लक्ष्य भेट्टाउने अवस्थामा पुगेको थियो ।बीबीसी

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  २१:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार