यूएईविरुद्ध नेपालको कीर्तिमानी जितसँगै नेपाल विश्वकप क्वालिफायरमा

आईसीसी विश्वकप लीग–२ 
बिहीबार, चैत २, २०७९
Global Ime Bank

काठमाडौं । अहिलेसम्मकै सर्वाधिक उच्च योगफल पछ्याउँदै नेपालले यूएईविरुद्ध कीर्तिमानी जित हात पारेको छ । यो जितसँगै आईसीसी विश्वकप लीग–२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ । बिहीवार यूएईलाई एक रोमाञ्चक खेलमा पराजित गरेपछि नेपालले सो उपलब्धि हात पारेको हो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर पछ्याएको हो । यसअघि कीर्तिपुर मैदानमा एक महिनाअगाडि नेपालले नामिबियाविरुद्ध २८६ रन पछ्याएको थियो ।
जितसँगै नेपालको अङ्क ४० पुगेको छ । ३९ अङ्कका साथ तेस्रो स्थानमा बसिरहेको नामिबिया भने चौथो स्थानमा रहँदै प्ले अफ क्वालिफायरमा झरेको छ ।
टस जितेर पहिलो ब्याटिङ रोजेको यूएईले पूरा ओभर खेलेर ६ विकेटको क्षतिमा ३१० रन जोडेको थियो । जवाफी ब्याटिङमा आएको नेपालले ४३ ओभरमा ६ खेलाडी गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।
विशाल रन पछ्याउन आएको नेपालले खराब सुरुआत गरेको थियो । इनिङको तेस्रो बलमा नै ओपनर आशिफ शेख खाता नखोली आउट हुन पुगे ।
दोस्रो बलको सामना गर्ने क्रममा अगाडि बढेर खेल्न खोज्दा उनी स्टम्पिङ हुन पुगेका थिए । उनको स्थानमा आएका कुशल मल्ल पनि दोस्रो ओभरको तेस्रो बलमा आउट भए ।
पाँच बलको सामना गरेका उनले एक चौकाको मद्दतमा ५ रन मात्र बनाउन सके। त्यसपछि गहन जिम्मेवारीका साथ कप्तान रोहित पौडेल इनिङ सम्हाल्न आएका थिए । तर उनी पनि लामो समय टिक्न सकेनन्। सातौँ ओभरमा उनी १६ रन बनाएर पवेलियन फर्किए। यति बेला नेपालले ३७ रनमा तीन खेलाडी गुमाइसकेको थियो ।
त्यसपछि भीम सार्कीले महत्त्वपूर्ण रूपमा ६७ रन जोडेर नेपाली पारी उकासेका थिए । जुनेद सिद्दीकीको बलमा एलबीडब्लू आउट हुनुअगाडि उनले नौ चौका प्रहार गरे।
सार्कीले आरिफ शेखसँग मिलेर पाँचौँ विकेटका लागि ८३ रनको साझेदारी गरे । धैर्यपूर्ण रूपमा क्रिजमा टिकेका आरिफले अर्ध शतक पूरा गरे ।
वर्षाका कारण डक वर्थ लुइसको लक्ष्य पूरा गर्ने क्रममा ठूलो शट् खेल्दा उनी ५२ रनमा आउट भएका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार