कुशलको आक्रामक अर्धशतक

बिहीबार, चैत २, २०७९
Global Ime Bank

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईविरुद्ध विशाल लक्ष्य पछ्याउनेक्रममा अर्धशतक प्रहार गरेका छन् ।
कुशलले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा अविजित छन् । कुशलको यो ओडिआई करिअरको पाँचौं अर्धशतक हो । भीम सार्की ३० बलमा ३ चौकासहित २४ रनमा क्रिजमा छन् ।
जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती १६ ओभरमा ३ विकेट गुमाउँदै ९८ रन बनाएको छ । कुशल भुर्तेलले ११ औं ओभरको पाँचौं बलमा ब्यक्तिगत २२ रनमा जीवनदान पाएका थिए । आयन खानले उक्त क्याच छाड्न पुगेका थिए । भीम सार्कीले १८ रनमा जीवनदान पाएका थिए ।
विकेटकिपर वृत्य अरविन्दले जहुर खानको बल एज लागेर छाड्न पुगेका थिए । ओपनर आसिफ शेख तेस्रो बलमै वृत्य अरविन्दबाट स्टम्पिङ आउट भए । कुशल मल्ल जुनैद सिद्दिकको बलमा आर्यन लाक्राबाट ५ रनमा क्याच आउट भए । चोभार एण्डतर्फ आयनको बलमा सट खेलेका कप्तान रोहित पौडेल मोहम्मद वासिमबाट १६ रनमा क्याच आउट भए ।
वासिमले मिडअनमा उत्कृष्ट क्याच लिएका थिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो ।
युएईका आसिफ खान ४२ बलमा ४ चौका र ११ छक्कासहित १ सय १ रनको विष्फोटक शतकीय इनिङ खेले । वृत्य अरविन्द १ सय ३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रनमा आउट भए । छैटौं विकेटका लागि वृत्य र आसिफले १ सय ३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार