सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा वर्ल्ड जायन्ट्समाथि ३५ रनको सानदार जित हात पारेको छ । लगातार दोस्रो जितपछि शीर्ष स्थान कायमै गरेको छ । जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको जायन्ट्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ६४ रन बनायो । उसका लागि क्रिस गेलले १६ बलमा ३ छक्कासहित सर्वाधिक २३ रन बनाए । कप्तान आरोन फिन्च २, लेन्डन सिमन्स १४, शेन वाटसन ३ र रस टेलरले ७ रन बनाए । एसियाका लागि कप्तान शाहिद अफ्रिदीले २ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । अब्दुर रजाकले २ ओभरमा १ मेडनसहित २ रन खर्चेर २ विकेट लिए । सोहेल तनविरले एक विकेट लिए । त्यसअघि दोहामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एसियाले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ९९ रन बनायो । लायन्सका मिस्बाह उल हक १९ बलमा ४ चौका र ३ छक्कासहित ४४ रनमा अविजित रहेका थिए । मिस्बाह खेलको प्लेयर अफ द म्याच चुनिए । तिलकरत्ने दिलशान २४ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहे । चौथो विकेटका लागि मिस्बाह र दिलशानले ६० रनको साझेदारी गरेका थिए । नेपालका पूर्व कप्तान पारस खड्का टोलीको प्लेइङ ११ मा परेपनि ब्याटिङ र बलिङ गर्ने अवसर भने पाएनन् । ओपनर उपुल थरंगा एक रनमा रिकार्डो पावेलको बलमा बोल्ड भए । थिसेरा परेरा १० र शाहिद अफ्रिदी २ रनमा आउट भए । अफ्रिदी क्रिस गेलको बलमा ठूलो सट खेल्ने धुनमा केभिन ओ ब्रायनबाट क्याच आउट भए । भिजेको आउट फिल्डको कारण निर्धारित समय भन्दा झण्डै तीन घण्टापछि खेल सुरु भएपछि १०।१० ओभरमा खेल झारिएको थियो । एसिया लायन्सले पहिलो खेलमा इन्डिया महाराजसलाई ९ रनले हराएको थियो । अव एसियाले आज राती भारतसँग खेल्नेछ ।