सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । स्पिनर सन्दीप लामिछानेको पाँच विकेटमा पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी ३२ ओभरमा ९५ रनमा अल आउट भयो । नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए । सन्दीपको यो ओडिआई करिअरको तेस्रो पटक पाँच विकेट हो । सन्दीपले यसअघि २०२० मा अमेरिका र २०२१ मा पपुवा न्युगिनीविरुद्ध ६–६ विकेट लिएका थिए । सन्दीप करण केसीपछि तीन पटक पाँच विकेट लिने नेपाली दोस्रो बलर हुन् । नेपाललाई बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले चौथो ओभरको चौथो बलमा ओपनर किप्लिङ डोरिगालाई दुई रनमा बोल्ड गरे । लगातार डट बलको दबाबमा ठूलो सट खेल्दा आउट भएका थिए । त्यस्तै हिरि हिरि सोमपाल कामीको बलमा १४ रनमा क्याच आउट भए । उनले २२ बलमा २ चौका प्रहार गरे । हिरि थर्डम्यानमा करण केसीबाट क्याच आउट भएका थिए । नेपाललाई तेस्रो सफलता सन्दीपले दिलाएका थिए । सन्दीपले १४ औं ओभरको अन्तिम बलमा सेसे बाउलाई १८ रनमा बोल्ड आउट गरे । २८ बल खेलेका बाउले ३ चौका प्रहार गरे । सन्दीपले आफ्नो स्पेलको पहिलो ओभरमै विकेट लिएका थिए । सन्दीपको २० औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका कप्तान असद भाला डिप स्क्वायर लेगमा ललितनारायण राजवंशीबाट २० रनमा क्याच आउट भए । उनले ३१ बलमा २ चौका प्रहार गरे । नेपाललाई पाँचौं सफलता ललितनारायण राजवंशीले दिलाए । राइली हेकुरे ललितको बलमा चार रनमा कट एण्ड बोल्ड आउट भए । कुशल मल्लले २७ औं ओभरमा आक्रामक ब्याटर नर्मन भानुवालाई शून्यमा क्याच गराएपछि मध्यम योगफलको सम्भावना सकिएको थियो । चाल्स अमिनी २८ बलमा १ चौकासहित १७ रनमा सन्दीप लामिछानेले क्याच आउट गराए । सन्दीपले हिला भारेलाई ७ रनमा बोल्ड गरे । ललित नारायण राजवंशीले ७ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले एक विकट लिए ।