नेपालको सानदार सुरुवात, ५ ओभरको खेल सकिँदा ४ विकेटकाे सफलता

आइतबार, फागुन २८, २०७९
Global Ime Bank

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध बलिङमा सानदार सुरुवात गरेको छ। जितको लागि २ सय ४९ रनको बलियो विजयी लक्ष्य पछ्याएको युएईले ५.१ ओभरमा ४ विकेट गुमाउँदै ८ रन मात्रै बनाएको छ ।
स्पिनर ललित नारायण राजवंशीले पहिलो ओभरको पाँचौं बलमा वृत्य अरविन्दलाई बोल्ड गर्दै पेभेलिएन फर्काएका थिए । यसअघि मध्यक्रममा खेल्ने वृत्यलाई युएईले आज ओपनिङ गराएको थियो ।
वृत्य सुरुवातमै आउट भए । तेस्रो ओभरको चौथो बलमा आर्यन लाक्रालाई शून्यमा दीपेन्द्रसिंह ऐरीले बोल्ड आउट गरे । पछिल्ला दुई खेलमा अर्धशतक प्रहार गरेका आर्यन पनि शून्यमै पेभेलिएन फर्के ।
मोहम्मद वासिम ललितको पाँचौं ओभरको चौथो बलमा कुशल भुर्तेलबाट एक रनमा क्याच आउट भए । सोमपाल कामीले आसिफ खानलाई ६ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराएपछि युएई ८९४ को दयनीय अवस्थामा पुगेको छ ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २ सय ४८ रनमा अल आउट भएको थियो । नेपालका कप्तान रोहित पौडेलले १ सय १२ बलमा ९ चौकासहित सर्वाधिक ७७ रनको योगदान दिए ।
नेपालले पछिल्लो खेलमा पपुवा न्युगिनीलाई ५२ रनले हराएको थियो । युएई पपुवा न्युगिनीसँग ५६ रनले पराजित भएको थियो । घरेलु टोली नेपाल आफ्नो उच्च लयलाई निरन्तरता दिँदै युएईलाई हराउँदै आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गर्न चाहन्छ ।
नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । नेपालले यदि युएईलाई हराउँदा ३६ अंकका साथ चौथो स्थानमा उक्लिनेछ ।
बाँकी दुवै खेलमा पराजित भएपनि नेपाल शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता बचाउनेछ । त्यसैले नेपालको लक्ष्य युएईलाई हराउँदै दुई खेल अगावै ओडिआई मान्यता पक्का गर्ने हुनेछ ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १४:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार