सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कप्तान रोहित पौडेलको अर्धशतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई २ सय ४९ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २ सय ४८ रनमा अल आउट भयो । नेपालका कप्तान रोहित पौडेलले १ सय १२ बलमा ९ चौकासहित सर्वाधिक ७७ रनको योगदान दिए । रोहितले ८३ बलमा ७ चौकासहित ओडिआई करिअरको आठौं अर्धशतक पूरा गरेका थिए । योसँगै रोहित नेपालबाट ओडिआई सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । रोहितले ज्ञानेन्द्र मल्ल र आसिफ शेखलाई पछि पारेका हुन् । ज्ञानेन्द्र मल्ल र आसिफ शेखले ओडिआईमा ७–७ अर्धशतक प्रहार गरेका छन् । कुशल भुर्तेल, कुशल मल्ल र आरिफ शेखले ओडिआईमा ४–४ अर्धशतक प्रहार गरेका छन् । पावर प्लेमा नेपालले तीन विकेट गुमाएपछि ब्याटिङमा निकै दबाबमा परेको थियो । चोभार एण्डबाट आएका स्पिनर आर्यन लाक्राले दोस्रो ओभरको पाँचौं बलमा आसिफ शेखलाई शून्यमा बोल्ड गरे । अघिल्लो खेलमा पिएनजीविरुद्ध १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका आसिफ युएईविरुद्ध भने पाँच बल खेल्दा खाता खोल्न सकेनन् । पाँचौं ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल ८ रनमा एलबीडब्लू आउट भए । स्पिनर आयन अफ्जल खानको बलमा स्विप खेल्ने धुनमा मिस हुँदा कुशल एलबीडब्लू आउट भएका थिए । तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा ठूलो सट खेलेका कुशल मल्ल टप एज लागेर मिडअनमा मोहम्मद वासिमबाट ९ रनमा क्याच आउट भए । १५ बल खेलेका उनले २ चौका प्रहार गरे । एक समय २२–३ को अवस्थामा पुगेको नेपाललाई नेपाललाई चौथो विकेटका लागि भीम र रोहितले ५४ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । भीम सार्की ३७ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भए । मुस्तफाको २२ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका भीम लङअनमा कार्तिक मपाप्पनबाट क्याच आउट भएपछि साझेदारी तोडिएको थियो । भीमले त्यसअघिको दुई बलमा लगातार दुई चौका हानेका थिए । तेस्रो बाउन्ड्री धुनमा विकेट गुमाउन पुगे । एक समय ७६–४ को अवस्थामा पुगेको नेपाललाई आरिफ शेख र रोहित पौडेलले ८६ रनको साझेदारी गरेका थिए । आरिफ शेख ५२ बलमा ५ चौकासहित ४३ रनमा क्याच आउट भए । रोहन मुस्तफाको बलमा ठूलो सट खेल्नेधुनमा आसिफ खानबाट लङअनमा क्याच आउट भएका थिए । गुलशन झा ३२ बलमा १ चौका र ३ छक्कासहित ३७ रनमा आउट भए । गुलशन जहुर खानको योर्कर बलमा बोल्ड भएका थिए । दीपेन्द्रसिंह ऐरी १९ बलमा ३ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । युएईका आयन खानले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । रोहन मुस्तफाले ९ ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । जवार फरिदले ३ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । जहुर खानले ८।२ ओभरमा १ मेडनसहित ३५ रन खर्चेर २ विकेट लिए । आर्यन लाक्रा र जुनैद सिद्दिकले एक एक विकेट लिए । नेपालले ४७ औं ओभरमा रोहन मुस्तफालाई तीन छक्कासहित २१ रन जोडेको थियो । ४६ औं ओभरमा जुनैद सिद्दिकलाई तीन चौकासहित १५ रन जोड्दै बलियो योगफलमा पुगेको थियो ।